डेटिङ एपमार्फत चिनजान भएपछि प्रेममा परेकी एक क्यानेडियन महिला विवाह गर्ने सपना बोकेर आफ्नो देश छाडेर भारत पुगिन्।
तर, प्रेमीलाई प्रत्यक्ष भेटेपछि उनको उमेर विवाहका लागि बाधक बन्यो। ६१ वर्षीया महिलासँग विवाह गर्न युवकले अस्वीकार गरेपछि विवाद भएको हो। अन्ततः महिलाले क्यानेडियन दूतावासमा सम्पर्क गरिन्। दूतावासको जानकारीपछि प्रहरीले हस्तक्षेप गरेर महिलालाई सुरक्षित स्थानमा पुर्याएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार घटना भारतको राजस्थानस्थित बेहरोर जिल्लाको नीमरानामा भएको हो।
क्यानडाबाट राजस्थान पुगेकी महिलाले डेटिङ एपमार्फत चिनजान भएका युवकसँग विवाह गर्ने योजना बनाएकी थिइन्। तर, प्रत्यक्ष भेट भएपछि महिलाको उमेर थाहा पाएका युवकले विवाह गर्न अस्वीकार गरे। त्यसपछि दुवैबीच विवाद भयो।
महिलाले घटनाबारे क्यानेडियन दूतावासलाई जानकारी गराइन्। दूतावासका अधिकारीबाट सूचना पाएपछि नीमराना प्रहरी बिहान करिब ४ बजे घटनास्थल पुगेको थियो। प्रहरी बीबी बिल्डर्स सोसाइटीमा पुगेर युवक र महिलालाई प्रहरी चौकी लगेको थियो। प्रहरीले युवकसँग सोधपुछ गरिरहेको छ भने महिलालाई कोटपुतलीस्थित हेरचाह केन्द्रमा राखिएको छ।
नीमराना प्रहरी चौकीका अधिकारी सुरेन्द्र यादवका अनुसार करिब एक वर्षअघि हरियाणाको पानीपत निवासी सत्यनारायणका छोरा नितिनको डेटिङ एपमार्फत क्यानडाकी एक महिलासँग कुराकानी सुरु भएको थियो। बिस्तारै उनीहरू नजिकिए र दुवैले विवाह गर्ने सहमति जनाएका थिए।
त्यसपछि महिला पर्यटक भिसामा दिल्ली विमानस्थल आइपुगेकी थिइन्। युवक उनलाई लिन विमानस्थल पुगेका थिए। त्यहाँबाट उनले महिलालाई नीमरानास्थित बीबी बिल्डर्स सोसाइटीमा रहेको आफ्ना काकाको फ्ल्याटमा लगेका थिए।
महिला दुई दिनसम्म युवकसँगै उक्त सोसाइटीमा बसेको बताइएको छ।
यसैबिच, विवाहको कुरा अगाडि बढ्दा महिलाको उमेर करिब ६१ वर्ष भएको थाहा पाएपछि युवकले विवाह गर्न अस्वीकार गरे। यही विषयलाई लिएर दुवैबीच विवाद भएको थियो। त्यसपछि नोभेम्बर १३ (गत शुक्रबार) महिलाले क्यानेडियन दूतावासमा सम्पर्क गरेर घटनाबारे जानकारी गराएकी थिइन्। दूतावासबाट सूचना पाएपछि प्रहरी घटनास्थल पुगेर दुवैलाई प्रहरी चौकी लगेको थियो।
प्रहरीका अनुसार नितिन हरियाणाको पानीपत निवासी हुन्। उनी एक निजी विद्यालयमा शिक्षकका रूपमा काम गर्छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ भने युवकसँग सोधपुछ जारी राखेको छ।
प्रकाशित: ३० कार्तिक २०८३ १०:०२ सोमबार



-600x400.jpg)