बलिउडका सुरसम्राट उदित नारायणलाई भारतकी स्वरसम्राज्ञी लता मंगेशकरले ‘प्रिन्स अफ प्लेब्याक सिङ्गिङ’ को उपाधि दिएकी थिइन्। तर के तपाईंलाई थाहा छ उनले ४५ वर्षको करियरमा कति गीत गाइसकेका छन्? यदि थाहा छैन भने यहाँ उदित नारायणका गीत, करियर र पुरस्कारबारे सम्पूर्ण जानकारी दिइएको छ।
बुबा किसान, आमा लोकगायिका
उदित नारायणको जीवन कथा संघर्ष, कडा मेहनत र सङ्कल्पको कथा हो। उनी १ डिसेम्बर १९५५ मा नेपालको सप्तरी जिल्लामा मैथिल ब्राह्मण परिवारमा जन्मिएका हुन्। उनका बुबा हरेकृष्ण झा किसान थिए भने आमा भुवनेश्वरी झा लोकगायिका थिइन्। यही परिवारिक वातावरणले उदितमा संगीतप्रतिको रुचि जगाएको थियो। बाल्यकालदेखि नै गाउँ र विद्यालयका साना कार्यक्रमहरूमा उनले गीत गाउन थाले।
१९७१ मा काठमाडौँ रेडियोमा पहिलो पटक ‘सुन–सुन–सुन पनभरनी गे तनी घुरिये के तक’ नामक मैथिली गीत गाउने मौका पाए, जसले उनलाई पहिचान दिलायो।
१९८० मा पहिलो बलिउड गीत
संगीतमा करियर बनाउने लक्ष्यसहित १९७८ मा उनी मुम्बई पुगे। सुरुवाती दिनहरू निकै कठिन थिए। उनले १०० रुपैयाँ तलबमा होटलमा काम गरे र भारतीय विद्या भवनबाट औपचारिक संगीत शिक्षा लिए। १९८० मा फिल्म ‘उन्नीस बीस’ का लागि उनले पहिलो बलिउड गीत गाए—त्यो पनि महान गायक मोहम्मद रफीसँग।
८ वर्षपछि आएको ठूलो ब्रेक
साँचो पहिचान १९८८ मा आयो, जब उनले आमिर खानको फिल्म ‘कयामत से कयामत तक’ को गीत ‘पापा कहते हैं बड़ा नाम करेगा’ गाए। यो गीत सुपरहिट भयो, र यिनै गीतका कारण उदित नारायणले पहिलोपटक फिल्मफेयर अवार्ड जिते। त्यसपछि उनले ‘कुछ कुछ होता है’, ‘हम साथ साथ हैं’, ‘धड़कन’, ‘तेरे नाम’, ‘स्वदेस’, ‘वीर–जÞारा’ जस्ता सुपरहिट फिल्महरूमा गीत गाए।
उदित नारायणले कति गीत गाइसकेका छन्?
उदित नारायणको मीठो स्वरले लता मंगेशकर पनि प्रभावित भइन्। उनीसँगका अनेकौं युगल गीतहरूले उदितको करियरलाई अझ सबल बनायो। उनले ३० भन्दा बढी भाषामा १५,००० भन्दा बढी गीत गाइसकेका छन्।
पुरस्कार र सम्मान
२००९ मा पद्मश्री, ४ पटक राष्ट्रिय फिल्म पुरस्कार, धेरै पटक फिल्मफेयर अवाड्र्स
४५ वर्षको लामो संगीत यात्रामा उदित नारायणले आफ्नै जादुई आवाजले बलिउड मात्र होइन, पूरा विश्वभरका लाखौं श्रोताको मन जितेका छन्। एजेन्सी
प्रकाशित: १५ मंसिर २०८२ ०९:१६ सोमबार