अन्य

ओलीको पोस्टमा बालेनको ‘धमाका’

निर्वाचन नजिकिँदै गर्दा सामाजिक सञ्जालमा स्ट्याटसको ओइरो लाग्न थालेका छन्। यस्तोमा धरानका मेयर हर्क साम्पाङ, नेकपा एमालेका सचिव महेश बस्नेतदेखि अन्य नेता कार्यकर्ता अग्रपङ्क्तिमा आउँछन्। जसमा 'लाइक' 'डिसलाइक' थुप्रै आउने गरेका छन्।

तर आइतबार बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेसबुक पोस्टमा रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहले गरेको कमेन्टले धेरै चर्चा पायो। ओलीले पब्लिक डिबेटको लागि तयार रहेको जनाउँदै आफ्नो धारणा राखेका थिए। देश जलाउने र देश बनाउने पक्षबिच हुने यो प्रतिस्पर्धामा हाम्रो पार्टी नेकपा (एमाले) देश बनाउने तर्फबाट मैदानमा छ भन्ने भावको पोस्ट सेयर गरेका थिए।

‘देश लजाउने र देश बनाउने पक्षबिच हुने यो प्रतिस्पर्धामा हाम्रो पार्टी देश बनाउने तर्फबाट मैदानमा छ,’ ओलीले सामाजिक सञ्जालमा लेखे, ‘देशको नेतृत्व गर्न खोज्ने दलहरूका एजेन्डा के छन्, देश निर्माणमा यसअघि के काम गरे, अब गर्ने कामको रोडम्याप, योजना र खाका के छ ? सार्वजनिक रूपमा उठेका यस्ता प्रश्नहरूमा आमने सामने बहसको माग अत्यन्त सकारात्मक छ।’

उनको यो पोस्ट आएको केही समयमै झापा निर्वाचन क्षेत्र नम्बर ५ का उनका प्रतिस्पर्धी तथा रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहले जनआन्दोलनको क्रममा मारिएका विद्यार्थीहरूको मतियारसँगै मञ्चमा नउभिने भन्दै प्रतिक्रिया जनाएका थिए। ‘तपाइहरूले आफैँ २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गते जलाएको हो!,’ बालेन साहले लेखेका छन्, ‘७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ।’

सोमबार बिहानसम्म ओलीको पोस्टमा लाइक गर्नेको संख्या ६६ हजार रहेको छ भने त्यो अवधिमा उनकै पोस्टमा कमेन्ट गरिएको बालेनको कमेन्टमा लाइक गर्नेको संख्या एक लाख ७५ हजार पुगेको छ।

ओली, बालेन र गगनको डिबेट गराउन चाहेका पत्रकार र हेर्न चाहेका दर्शकको चाहना बालेनको प्रतिक्रिया सँगै करिब करिब सकिएको छ। ‘डिबेट हेर्न खोजेका थियौ,’ सामाजिक सञ्जालमा निमेष थापाले लेखेका छन्, ‘डिबेट त सोसल मिडियाको एक कमेन्टमै सकिएछ।’

प्रकाशित: १२ माघ २०८२ ०९:३० सोमबार