शान्त र मनोरम भएकैले लाङटाङ स्वदेशी तथा विदेशीको रोजाइमा परिरहेको छ। बर्सेनि हजारौं पर्यटक त्यो भूस्वर्गमा पुग्छन्। केही दिन पहिला पत्रकार दाजु सुशील कोइरालासँग म पनि त्यहाँ पुगेँ। लाङटाङ पुग्ने दुई पदमार्गमध्ये तामाङ सम्पदा मार्ग अन्तर्गतको बृद्धिम हुँदै जाने निधो भयो। हाम्रो अन्तिम लक्ष्य क्यान्जिङ गुम्बासम्म।

रसुवाको बृद्धिमबाट यात्रा सुरु भयो। पहिलो रात बृद्धिमको लिङलिङमा बस्यौं। तिब्बती भाषामा ईवि अर्थात् हजुरआमाले पकाएको सिस्नु र ढिँडो खाएर बिहान लाङटाङ लम्कियांै। चिसोमा सिउसिउ गर्दै छ बजे हिँड्यौं– टोपी खस्ने उकालोमा। सूर्योदयले डाँडामा लाली लगाउन नपाउँदै बृद्धिमको उकालो चढ्यौं। पाखामा कराएको कस्तुरीको आवाज कानसम्म आइपुग्दा आनन्द मिल्थ्यो। भोटेकोसीको सुसाहट सुन्दै जति माथि उकालो चढ्दै जान्थ्यौं उति तलका हरियाली हेर्दै बढ्दा छुट्टै आनन्द।

खलखली पसिना काड्दै लुगा भिजाउँदै हिँड्नुको मज्जा बेग्लै। ठाडो उकालीमा तलको हरियाली हेरेर तर्तरी पसिना झार्दै पुस्दै हिँड्नुमा छ मज्जा। करिब तीन घन्टा हिँडेपछि बृद्धिमको खाम्जिङ गाउँ पुग्यौं। स्याफ्रुबेसी बजार र स्याफ्रुबाट उकालो सर्पझैं बेरिएको बाटो हेर्दा थकाइ घट्छ। खाम्जिङमा नास्तापछि हामी उकालियौं। आधा घन्टाको उकालो पार गरेपछि कहिले ओराली र कहिले उकाली चढ्दै प्रकृतिको हराभरासँग खेल्दै तीन घन्टामा शेर्पा गाउँ पुग्यौ।

शेर्पा गाउँ पुगेपछि लाङटाङ जान लागेका पर्यटक भेटिन थाले। त्यहाँबाट एक घन्टा हिँडेपछि स्याफ्रुबेसीका लागि तल जाने बाटो र लाङटाङ जाने दोबाटो भेटिन्छ। तल नगई सिधै तेर्सो हिँडेपछि रिमिचे पुगिन्छ। रिमिचेमा होटल छन्। रिमिचेबाट लामा होटलसम्म एक घन्टा । स्याफ्रुबेसीबाट आएका विदेशी धेरैजसो लामा होटलमा बास बस्दा रहेछन्। उकालोमा छ घन्टा हिँडेपछि आराम।
लामा होटलबाट घोडातबेलाको दुरी दुई घन्टा। लामा होटलदेखि घोडातबेला क्षेत्रलाई रेडपान्डा जोन भनिन्छ। लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्ने रेडपान्डाको कोर क्षेत्र मानिन्छ। भाग्यले साथ दिए रेडपान्डा देख्न सकिन्छ। बाटोमा कस्तुरी, वन्यजन्तु भेट्न सकिन्छ । त्यसैले एक्लै पदयात्रा गर्नु हुँदैन।

कतिपय पर्यटक हिमाली सौन्दर्य नजिकबाट नियाल्न पनि घोडातबेलामा बास बस्न पुग्छन्। सूर्योदयसँगै बेलाबाट छयाङ्ङ देखिने लाङटाङ हिमाललाई कैद गर्न भ्याउँछन्। हिमाली सौन्दर्यसँग मीत लगाउँछन्। घोडातबेलाबाट हिँडेपछि छङछङ झर्ने झरना र सलल बगेको लाङटाङ हिमनदीको सुसाहटले बाटो काट्न सजिलो बनाउँछ। चौंरीको काँधमा झुन्डिएको घन्टी टिङटिङ बज्दा हाम्रो स्वागत गरेझैं लाग्छ।
पदयात्रा क्रममा वनपाखामा चौंरी र घोडाको बथान, चराको चिरबिरले बाटो काटेको पत्तै हुँदैन। तबेलाबाट केही घन्टा दुरीमै थाङस्याप आइपुग्छ। त्यहाँबाट दुई घन्टामा लाङटाङ, तीन घन्टामा केन्जिङ गुम्बा।

असोजदेखि मंसिर र फागुनदेखि जेठसम्म सिजन मानिन्छ। त्यति बेला सबै होटल खुल्छन्। अन्य सिजनमा कमै खुल्छन्। पुस–माघमा बाक्लो हिउँ पर्छ, असार, साउन र भदौमा झरी। फागुनदेखि चैत–वैशाखमा गुराँसले वन राताम्मे हुन्छ। मंसिरमा बिहानीपख हिमचुचुरा प्रस्ट देखिन्छन्। दिन छिप्पिँदै गएपछि हिमाललाई बादलुको घुम्टोले छोप्छ।
बाटोभरि छोर्तेन र ढुंगामा बौद्ध मन्त्र भेटिन्छ। बौद्ध झन्डाले लाङटाङ पुग्दा बेग्लै परिवेशमा आइपुगेको अनुभूति हुन्छ। प्राकृतिक सौन्दर्यको दृश्यावलोकन गर्दै हिँड्दा भोक र थकानको अनुभव त्यति हुँुदैन। जति माथि गयो उति हिमाल नजिक देखिन्छ। तापक्रम घट्दै जान्छ र चिसो बढ्दै जान्छ। ज्यान चलायमान हुँदा चिसोको अनुभूति कम हुन्छ।
लाङटाङको केन्जिङ उपत्यका (३,९५०मिटर) पुग्दा मन प्रफुल्ल हुन्छ। चारैतिर हिमाल, बीचमा उपत्यका। लाग्छ पछ्यौरीले छोपेजस्तो। केन्जिङ धार्मिक हिसाबले पनि धनी छ। केन्जिङ गुम्बाको नामबाटै उपत्यकाको नामकरण भएको भनाइ छ। केन्जिङ पुगेपछि दोर्जे लाक्पा, लाङटाङ, लिरुङ, जुगल, चेर्को रि, गाङछेम्पो, र तिब्बती रेन्ज देख्न सकिन्छ। पर्यटक त्यही हिमाली सौन्दर्यमा लुटुपुटु गर्छन्।
नेपालकै पहिलो याक चीज उत्पादन केन्द्र छ त्यहीँ छ। चीज किन्न पाइन्छ। केन्द्रका प्रमुख ग्याल्बो तामाङका अनुसार पर्यटक चीज चाख्छन्। नेपालविद् तथा स्वीस नागरिक टोनी हेगनको टोलीले २००९ सालमा चीज उत्पादन केन्द्र स्थापना गरेको रहेछ।
लोपोन्मुख बिम्रो (पोथी याक) को चीज र नौनीको बजार युरोप, जापान र अमेरिकामा छ। हिमाली वन्यजन्तुको बासस्थान लाङटाङ। जहाँ लोपोन्मुख हिमचितुवा पाइन्छ। हिमाली सौन्दर्यमा लुकामारी खेल्दै वन्यजन्तु अवलोकन गर्न पाउनु भाग्यको कुरा हो। कुचीकारले रङ भरेजस्तो हिमाली सौन्दर्यको बेँसीमा अवस्थित केन्जिङ पुग्दा कसको मन नलोभिएला र!
प्रकाशित: २७ मंसिर २०७१ ००:११ शनिबार



