फेरि पनि तपाईं मुख्य भूमिकामै भएको फिल्मको ट्रेलरमा तपाईंलाई देखाइएनछ। पहिले पनि केही फिल्ममा यस्तै भा'थ्यो। किन यस्तो हुन्छ?
किन यसो गरिन्छ? मलाई थाहा हुँदैन। मैले पनि फिल्म 'भैरव'का निर्देशकलाई सोध्या'थेँ। 'अर्कै ट्रेलर रिलिज भएछ, रिलिज हुुनुपर्ने अर्कै थियो' भने। मलाई सबैले सोझी त भन्छन्, तर लाटी नै त होइन नि। युट्युब र टेलिभिजन दुइटैमा गल्ती कसरी हुन्छ? 'यो हाम्रो स्टाइल हो वा तिम्रो सिन जरुरी ठानेनौँ' भन्दा मलाई आपत्ति हुने नै थिएन। यसै पनि म यस्ता कुरामा लफडा गर्न सक्ने मान्छे नै होइन।
यस्तै सहने बानीले तपाईंको चर्चा कम भएको होला है?
म कसैमाथि रिसराग राख्दिनँ, अन्याय गर्दिनँ। कसैले ममाथि त्यस्तो तरिकाले सोच्छ भने त्यसले मलाई घाटा पुर्यााउँदैन। आफूलाई चर्चामा ल्याउन सक्ने मान्छे नै होइन म। बरु यस्ता कुरा हुनु मेरो अहोभाग्य भइदिन्छ! ट्रेलरमा मलाई समेट्थे भने मेरो चर्चा नै हुन्नथ्यो। पहिले 'आधी बाटो'मा पनि मलाई ट्रेलरमै राखिएन। त्यही कारण म झन् हाइलाइट भएँ।
कामका हिसाबले पाँचजना व्यस्त हिरोइनका नाम लिँदा एकजना तपाईं पनि पर्नुहुन्छ। तर, नामकै लागि लागेको क्षेत्रमा त्यही नाम गुमनाम हुँदा पीर त लाग्दो हो?
मलाई काम गर्न आउँछ। काम गरिरहेकै छु। अरूले भूकम्पको बेला फुर्सद पाए। म त भूकम्प आएको केही दिनमै सुटिङमा दौडिनुपर्यो । कामबाट त विगत केही वर्षदेखि फुर्सद मिलेकै छैन। आफूले गर्न जानेको कुरा गरिरहेकी छु। चर्चामा आउनु मेरा लागि अप्ठ्यारो काम हो। म त्यो गर्न सक्दिनँ। त्यसको लोभ गरेर के गर्नु?
एक दिन १ नम्बर हिरोइन हुने रहर त होला नि?
एक नम्बरको चक्करमा पनि छैन म। बरु डर पो लाग्छ। एकैचोटि माथि पुग्यो भने त्यति नै चाँडो तल झर्ने सम्भावना पनि हुन्छ। खासमा म तारा हुन चाहन्छु, उल्का होइन। जुन चम्किरहन्छ तर कहिल्यै 'सिंगल आउट' भएर 'नोटिस्ड' हुँदैन। अहिले म ठीकै छु, काम पाइरहेकी छु। जीवनभरि यही लिकमा हिँडिरहनुपरे पुग्छ पनि। यो क्षेत्र छाडेर जान सक्ने अवस्थामा छैन। एक नम्बर भइयो भने त चाँडै रिटायर्ड पनि हुनुपर्छ होला।
सबै फिल्मकर्मीले मिलनसार भन्छन्। तर, बसउठ र हाँसखेल हुन सक्ने हदसम्म मिलेको कसैसँग देखिँदैन। लुकाउन सकेको हो कि नभएकै हो?
मेरा धेरै साथी छन् तर एउटा पनि साथी छैन भन्या जस्तो हो। समय, परिस्थिति र अवस्थाअनुसार सबैसँग मिल्छु। कसैले एकजना सम्भि्कँदा मलाई सम्भि्कने गरी नजिक पनि कसैको छैन र मेरो पनि मनैदेखिका कुरा सेयर गर्ने स्पेसल एकजना कोही हुन सकेको छैन।
भइदेओस् भन्ने त लाग्दो हो?
कहिलेकाहीँ लाग्छ। तर, मेरो ममी मेरो बेस्ट फ्रेन्ड हो। सबै कुरा उहाँसँगै सेयर गर्छु। कुनैबेला बेस्ट फ्रेन्ड बनाएर धोका खाइसकेकाले पनि मिल्ने साथीसँग पनि सबै कुरा सेयर गर्न डर लाग्छ। केटी साथी बेस्ट फ्रेन्ड बनाऊँ, ब्वाइफ्रेन्डले नबोलाउन्जेल मसँग हुने हो। केटा बनाउन लायक भेटेकै छैन भन्दा हुन्छ।
जताततैबाट ह्यान्डसम मान्छे ठोक्किने क्षेत्रमा हुनुहुन्छ। कसैसँग त आँखा जुध्यो होला? कोही त मन पर्योर होला?
मनले भन्छ– गुड लुकिङ होस्। म अग्ली छु, त्यसैले अग्लो पनि हुनुपर्योब। स्वभाव यस्तो छ कि जति ह्यान्डसम भए पनि एकपल्ट हेर्नेबित्तिकै मनै पर्दैन। बरु देख्नेबित्तिकै राम्रो नलागेको मान्छे उसको व्यवहारबाट पछि मन पर्दै जानसक्छ। यसको अर्थ ऊसँग म फिदा हुने गरी होइन। प्रभाव बोली–व्यवहारले पार्छ, मनमा गुड लुकिङ हुनैपर्छ भन्ने छ। यी दुइटै राम्रो भएको फेला परेन कि जस्तो लाग्छ। कहिलेकाहीँ त म कस्तो छु, आफँै कन्फ्युज्ड हुन्छु। अर्काे दोधार पनि छ– एक्लै बस्न सक्दिनँ, हुलुमुल पनि रुचाउँदिनँ। अलि छुट्टै पो छु कि?
तपाईंलाई याद छ, उहिलेदेखिकै सुन्दरता मापदण्ड अनुसार जे तपाईंको राम्रो छैन, त्यही दुनियाँले मन पराइरहेका छन्?
किन याद नहुनु नि? मेरो बिग्रेको दाँत हो त्यो। मलाई अरूको मिलेको दाँत राम्रो लाग्छ। अनारको दानाजस्तो दाँत राम्रो भनिन्छ नि हैन। तर, म यहाँसम्म आइपुगेको यही बिग्रेकै दाँतले हो। हरेक मान्छेले यही दाँतको प्रशंसा गर्छन्।
आफूलाई चाहिँ त्यो दाँत कस्तो लाग्छ?
सबैले राम्रो भनेपछि अहिले मन पर्न थालेको छ। तर, पहिला त दाँतका कारण असाध्यै पीर पर्थ्याे। तपाईंले याद गर्नुभएको छ, म अझै खुलेर हाँस्न सक्दिनँ। त्यो लाउड हाँसो क्या! यही बिग्रेको दाँत नदेखाउने प्रयासले त्यस्तो बानी परेको हो। हाँस्नुको सट्टा मुस्कुराउँछु। मेरो यही मुस्कुराहट साह्रै मन पर्छ भन्छन् मान्छेहरू।
आफूलाई नराम्रो लागेर बनाउने प्रयास पनि गरियो कि?
धेरैपल्ट बाआमालाई भनेँ– मलाई डेन्टिस्ट कहाँ लैजानुस्, दाँत मिलाउन तार बाँध्छु। उहाँहरूले कहिल्यै मान्नुभएन। भन्नुहुन्थ्यो, 'तेरो अरू त के राम्रो छ र? त्यही दाँत त हो।' मलाई बनाउन लैजानुपर्ने झन्झटले फकाएको जस्तो लाग्थ्यो। अहिले त यो मेरो पहिचान भएको छ। म कहीँ गएँ भने जबसम्म चुपचाप बस्छु, कसैले वास्तै गर्दैन। जब मुस्कुराउँछु, यो दाँत देखिन्छ। त्यसपछि मान्छेहरू 'चिन्या जस्तो लाग्यो, अनु शाह होइन?' आदि भन्छन्।
तपाईंका कमजोरी के–के हुन्?
आफूलाई मूल्यांकन गर्दा यस्तो लाग्छ, मेरा कमजोरी नै मेरा हतियार हुन्। किनभने, म कसैले चित्त दुखायो भने पनि बाझ्न सक्दिनँ। बरु एक्लै बसेर रुन्छु। यसैले मलाई मिलनसार भन्छन्। धेरै तडकभडक गर्न आउँदैन। यसकारण मसँग धेरैले काम गर्न रुचाउँछन्। दाँतको कुरा त भइहाल्यो।
फिल्ममा व्यस्त हुँदाहुँदै म्युजिक भिडियोलाई प्राथमिकता दिनुहुन्छ रे?
मलाई अहिले पनि धेरैले म्युजिक भिडियो मोडलकै रूपमा चिन्छन्। मलाई मज्जा पनि लाग्छ। तुरुन्तै रिजल्ट आउँछ, पैसा पनि। त्यसैले म्युजिक भिडियोमा मिलाएर काम गरिरहेकी हुन्छु।
सुरुवात त्यतैतिरबाट भएर पनि माया बसेको हो कि?
हो सायद। म आठ कक्षामा पढ्दै गर्दा म्युजिक भिडियोमा अभिनय गरेँ। त्यसपछि त्यतैतिर धेरै लगाव भयो।
त्यति सानै उमेरमा कसरी म्युजिक भिडियोमा अभिनय गर्ने अफर आयो?
स्कुलमा पढ्दा म डान्स खूब गर्थें। कक्षाका साथीहरू भन्दा अलि अग्ली पनि थिएँ। त्यसैले उनीहरू त्यतिबेला नै मलाई मोडल भन्थे। नजिकै एउटा डान्स सिकाउने ठाउँ थियो, डान्स सिक्न गइरहन्थेँ। डान्स गुरुले नै एकजना डाइरेक्टरलाई सिफारिस गरिदिनुभएछ । त्यसपछि घरबाट स्कुल जान्छु भनेर म्युजिक भिडियोमा अभिनय गर्न गएकी थिएँ।
घरमा कहिलेसम्म चाल पाएनन्?
अर्काे हप्ता त टीभीमा आइहाल्यो नि। त्यसपछि बाबा रिसाउनुभयो। बाबा अलि कडै पनि होइसिन्छ। उहाँका अघि अहिलेसम्म ठूलो स्वरले बोल्न सक्दिनँ। वानपिस लगाएर अघि पर्न सक्दिनँ। ममी र आफन्तले सम्झाएपछि मात्रै म यो क्षेत्रमा आएकी हुँ। अहिले पनि काममा बाहेक मलाई राती बाहिर बस्न छुट छैन। ढाँट्न सक्ने त म मान्छे नै होइन।
पहिलो फिल्ममै राजेश हमालको जोडी भएर अभिनय गर्नुपर्दा कत्तिको सजिलो/अप्ठ्यारो भयो?
पहिलो डायलग नै चिच्याउनुपर्ने थियो। तर, म त डरले थर्र काँपेर आवाजै निकाल्न नसक्ने भएँ। पछि निर्देशक दीपेन्द्र के खनालले उहाँलाई केही भनिदिनुभयो क्यारे। अनौपचारिक रूपमा पनि बोल्न थाल्नुभयो। त्यसपछि सहज भयो।
प्रकाशित: ९ श्रावण २०७२ २२:२३ शनिबार


