डिसेम्बरको अन्तिम दिन विश्वमा पहिलोपटक सिनेमा देखाइएको थियो, आजभन्दा ११८ वर्षअगाडि। फ्रान्सबाट बनेको विश्वको पहिलो मूक सिनेमा ‘अ ट्रेन अरायभल टु स्टेसन'मार्फत यसले नयाँ कलाको जन्म दिएको थियो।फ्रान्सको प्यारिसस्थित होटल ग्रान्ड क्याफेको बेसमेन्टमा सन् १८९५ मा देखाइएको त्यो अवाक् सिनेमाले विश्वजगतलाई ठूलो सन्देश दिएको थियो, गुडिरहेको रेल र झरिरहेका यात्रुमार्फत।
दुई फ्रान्सेली बन्धु अगस्त्य लुमिएर र लुई लुमिएरले उक्त सिनेमा बनाएका थिए। अन्य मुलुकका निर्माण भइरहेका थिए तर सिनेमाजस्तो नयाँ कलाको जन्म फ्रान्समै भयो।
फ्रान्सेली ती दाजुभाइले सिनेमा बनाउन इटालीको यात्रा गरे। इटालीको कोक्ट्यो नामक पहाडमा उनीहरूले ५६ सेकेन्ड लामो दृश्यको सिनेमाको छायांकन गरे। चिप्लो र सर्लक्क परेको ढुंगा रहेकै कारण उनीहरूले त्यो पहाड छानेका थिए। ढुंगामा रेल सहजै गुड्न सक्ने र सामान्य परिस्थितिमा रोकिन सम्भव थियो।
कोक्ट्यो पहाडको त्यो ढुंगो यति लोकप्रिय थियो कि महान् मूर्तिकार माइलएन्जेलो डी लोडकोभिको ब्युनारोपट्टी सिमोनी पनि त्यही ढुंगाबाट आफ्ना अप्रतिम मूर्ति बनाउँथे। उनैको मूर्तिकलाको ज्ञानबाट प्रभावित भएर ढुंगाबारे जानकारी पाएपछि लुमिएर दाजुभाइ त्यहाँ पुगे र छायांकन सफल बनाए।
रेल गुड्दैगुड्दै क्यामेरासम्म आइपुग्नुपर्ने र क्यामेराअगाडि रेल यन्त्रवत् रोकिनुपर्ने सिनेमाको दृश्य थियो।
छायांकन सफलतापूर्वक सकिएपछि त्यो सुटिङगको एउटा कार्टुन फ्रान्सेली अखबारमा छापियो जुन कार्टुनले सारा संसारलाई हँसायो। ठूलो यन्त्र (रेल) लाई सानो यन्त्र (क्यामेरा) ले ताक्दै गरेको दृश्यको क्याप्सनमा लेखिएको थियो– सानो बिरालोले ठूलो बाघलाई ताक्दै!
क्याप्सन पढ्दा मान्छे खूब हाँसे। तर भविष्यवाणी सही साबित भयो, साँच्चै नै सानो बिरालोले बाघलाई खायो नै।
एउटा रेलले जति मान्छेलाई एक ठाउँबाट अर्को ठाउँ पुर्याबउन सक्थ्यो त्योभन्दा अपार क्षमतामा सिनेमाले लाखौंलाख दर्शकलाई एकै समय एकैपटक नपुगेको ठाउँमा पुर्यानउन सक्थ्यो। परिचित गराउँथ्यो। यसले विश्वका धेरै अन्य चुनौतीलाई पराजित गर्दै संसार जित्यो।
त्यो कार्टुन छापिएको ११८ वर्षपछि फेरि एउटा कार्टुन छापियो, चाली हेब्डोमा। जुन कार्टुनका कारण फ्रान्समा आतंककारीले दुराशयपूर्वक हमला गरे। संसारलाई रुवाउने गरी त्यो कार्टुनसँग सम्बद्ध कलाकर्मी र प्रकाशक सम्पादकको हत्या गरे। फ्रान्सलाई शोक र संशयमा डुबाइदियो।
आजको समाजले र सारा संसारले अत्यन्त निकृष्ट र नृशंस मानेको यो आक्रमणका कारण फ्रान्सप्रति धेरै मुलुकको, धेरै धर्म–सम्प्रदायका मान्छेको अचानक स्नेह र सद्भाव पलायो।
फ्रान्ससँग विश्वका धेरै मुलुकको आ–आफ्नै किसिमको सम्बन्ध र स्नेहको सेतु छ तर मिरर मिजरमेन्ट (सग्लो नजर) मा हेर्ने हो भने फ्रान्सले विश्वलाई धेरै नयाँ चिज दिएको छ– नयाँ कला, नयाँ विचार, नयाँ दर्शन अनि नयाँ धारको चिन्तन।
संसारको सबैभन्दा पछिल्लो कला सिनेमाको जन्म फ्रान्समै भयो। पहिलो विश्वयुद्धपछि फ्रान्सबाटै लुइ डेलाकले नयाँ विचारधारा दिए, सिनेम्याटिक रुपवन्धमाथि। यसको जयजयकार आजसम्म पनि भइरहेको छ। सिनेमा जन्मेको तेस्रो वर्षमै जादुगर जर्ज मेलिसले फ्रान्सबाटै चामत्कारिक सिनेमाको कला देखाए।
चित्रकलामा डाडाइज्म, क्युविज्मको जन्म फ्रान्समै भयो। चित्रकलामा आएको नयाँ विचार अवाँ गार्द फ्रान्सबाटै जन्मियो भने सिनेमामा ध्वनिको आगमनपछि नयाँ धार फ्रान्सले नै भित्र्यायो।
सिनेमा कलाको एउटा युग अन्त्य हुनलाग्दा पहिलोपटक फ्रान्सबाट प्रकाशित हुने कहिअर्स दु सिनेमामार्फत केही फिल्म समीक्षकले सिनेमाको बचाउ गरेर सार्थक समीक्षामाथि बहस गर्न थाले। झँ ल्युक गोदार, फ्रान्सुआ त्रुफो, एरिक रोहमर, शेवरालजस्ता फिल्म समीक्षकले फिल्ममा परिवर्तन चाहिन्छ भनेर आन्दोलन चलाएपछि सन् १९४५ मा एक नारा गुन्जियो– ‘सिनेमाको कथाकार लेखक होइन, निर्देशक हो उसैलाई यो कथा भन्ने अधिकार दिइनुपर्छ।'
सिनेमाको बदलिँदो युगसँग फ्रान्सले त्यति बेला ठूलो परिवर्तन ल्यायो।
निर्देशकलाई सादरपूर्वक यो अधिकार नदिइएपछि यिनै समीक्षकले सिनेमाको बागडोर सम्हाले, क्याप्टेन अफ दी शीपका रूपमा। यिनैले राम्राराम्रा सिनेमा बनाए जसलाई नोभेला भेग अर्थात् अलग धारको नाम दिइयो। यही लहरमा फ्रान्सुआ त्रुफोको फोर हन्ड्रेड ब्लोज्, झँ लूक गोदारको ले पेटिट फाउले संसारभरिका सिनेकर्मीलाई प्रभाव पार्योक। अलग धारको यो लहर विश्वभरि करेन्टको रूपमा फैलियो, सिनेमाप्रति मान्छेको आकर्षण पुनः थपियो। हाम्रै छिमेकी मुलुक भारतमा त सन् सत्तरी र असीको दशकसम्म यसको छापमा परेर नवयथार्थवादी र समानान्तर सिनेमाको खेती नै चल्यो। गोविन्द निहलाणी, श्याम बेनेगल, कुमार शहानी, मणि कौल, कुन्दन शाह, केतन मेहता यसका अनुयायी भए। भारतको सानो राज्य असमका फिल्मकर्मी जानु बरुआदेखि चीनका झँग यिमाऊसम्म यो शैलीबाट प्रभावित भए।
सिनेमा निर्माणको क्रममा सुरुवातदेखि नै फ्रान्सलाई पछ्याउँदै आएका मुलुक अमेरिका, डेनमार्क, स्वीडेन, जर्मनी, स्पेन पनि यसका पथ अनुयायी भए। सिनेमालाई प्रोत्साहित गर्न पुरस्कार दिने, महोत्सव गर्नेजस्ता सत्कार्य फ्रान्सबाटै सुरु भयो।
सिनेमाको जन्म फ्रान्समा भए पनि यसमा प्राविधिक परिवर्तन र भाषाको दमन अमेरिकी मुलुकको रह्यो भने यसमा नयाँ वाद फ्रान्स, जर्मनी र इटालीले ल्याए। इटालीको नवयथार्थवाद र फ्रान्सको ‘नोभेला भेग'मा एउटै कुरा फरक थियो– बोधात्मक सौन्दर्यको। इटालीको नवयथार्थवादले कलापक्षलाई बहिष्कार गरेको थियो भने नोभेला भेगले कलामिश्रित यथार्थलाई अंगीकार गर्दै आएको थियो।
सिनेमाले यो सदाशयता साहित्यिक विरासतबाट पाएको थियो। फ्रान्सको साहित्यले विश्वका ठूल्ठुला ग्रन्थसित आफ्नो सामीप्य खोजिसकेको यथार्थता र अर्थवत्ता सही थियो।
सिनेमाबाहेक फ्रान्सबाट साहित्यमा मोलिएर, शर्ल बोद्ल्यर, ओन्रेडे बाल्जाक, गुस्ताभ फ्लेविएर, जुल्स वार्नेस, पल वेलेरी, राब्ब ग्रिये, ज्याँ पल् सार्त्र, आन्द्रे जीद्, अल्वेयर क्यामूका कृति पनि सर्वाधिक चर्चाका विषय बने।
गुस्ताभ फ्लेविएरको इस्लामिक मुलुक टर्कीको भ्रमणले ल्याएको परिवर्तनका बारेमा ओरहान पामुकले ससम्मान आफ्नो आत्मकथा इस्तानबुलमा लेखेका छन्, कसरी हामी बद्लियौं भनेर।
समाज र समयलाई बदल्न एउटा स्रष्टाले निभाउने भूमिका कति चुनौतीपूर्ण हुन्छ त्यो पामुकले आफ्नो नोबेल पुरस्कार पाएपछि दिएको मन्तव्यमा छ।
सार्त्रको अस्तित्ववादको दर्शन फ्रान्सकै एउटा पाँचतले घरबाट सुरु भएको थियो भने अल्वेयर क्यामूको विसंगतिवाद हामीसम्म आइपुग्दा उनी नोबेल पुरस्कारले सम्मानित भइसकेका थिए।
फ्रान्सबाटै गुन्जिएको हो यो संवाद– ‘आमा भन्नुहुन्थ्यो, तँ फौजमा गएको भए जर्नेल हुन्थिस्। चर्चमा गएको भए पादरी हुन्थिस्, तर म चित्रकलामा लागेँ पाब्लो पिकासो बन्न।'
फ्रान्सले साहित्य र सिनेमाबाहेक चित्रकलामा विश्वलाई दिएका नामचीन चित्रकार हुन्, पाब्लो पिकासो। उनैलाई पछ्याएर संसारका कैयन् कलाकारले आफ्नो जीवनको दुःखको बाटो बदलेका छन्। उनलाई हामी सदैव सम्झना गर्न सक्छौ।
सिनेमाको संसारमा त्रुफो र गोदारले ल्याएको परिवर्तनका एक अग्रज थिए, ज्याँ रेने। चित्रकलाका ज्याँ रेने थिए, पिकासो। उनले संसारमा चित्रकलालाई रङका माध्यमबाट भन्दा जीवनका माध्यबाट हेर्न र जीवनको कोण नै बदल्न उत्साहित बनाए।
पिकासोकै प्रेरणाले डाली, कान्डास्की, मोनेँले आफ्नो नयाँ शैली बनाए, जसलाई चित्रकलामा अवाँ गार्दको संज्ञा दिइयो। पिकासोबाहेक संसारले चिनेका धेरै नाम फ्रान्सेली नै थिए, त्यो चाहे पर्वतारोही मौरिस हर्जोग हुन् वा विश्वकी प्रसिद्ध अभिनेत्री ज्याँ मारिया।
हर्जोगले नेपालमा आएर पहिलोपटक अन्नपूर्ण हिमाल चढेपछि अनिर्वचनीय पंक्ति भने– ‘हे भगवान्। म र पर्वत अलग होइनौं। मलाई थाहा छैन, म अन्नपूर्ण हुँ कि अन्नपूर्ण म। मलाई थाहै भएन।'
हर्जोगले अन्नपूर्णा हिमशिखरलाई विश्वभरि चिनाए। भारतको बलिउडमा आएर एसियन सिनेमालाई विश्व बजार दिनुपर्छ भन्ने सर्वोत्कृष्ट अभिनेत्री ज्याँ मारियाले बलिउडकी यथार्थवादी अभिनेत्री स्मिता पाटिलका सारा फिल्मलाई प्यारिसमा लगेर रेस्ट्रोपेक्टिभ शो (पुनरावलोकन प्रदर्शनी) गरिन् र हिन्दी फिल्मलाई उच्चाकर्षण दिइन्। उनकै कारणले पछि बलिउड पश्चिम प्रिय भयो।
सन् १९५५ मा पाथेर पाञ्चाली बनाएर अन्तर्राष्ट्रिय ख्याति कमाएका सत्यजित रेलाई पनि फ्रान्सबाट कोलकत्ता आएर दी रिभर नामक सिनेमा खिच्न आएका ज्याँ रेनेले नै गाइड गरेका थिए र उनले बाटो पाए।
यस्ता धेरै उदाहरणका लागि फ्रान्स र फ्रान्सेली सर्वथा अगाडि छन्। नेपालकै प्रसंगमा पनि फ्रान्सका कैयन् स्रष्टाले नेपालको काष्ठकला र यसका बुनोटका बारेमा उल्लेख र चर्चा गरेर विदेशमा चिनाइदिएका छन्। नोबेल पुरस्कार विजयी स्रष्टा आन्द्रे जीद्ले आफ्नो आत्मकथात्मक उपन्यास दी इम्मोरलिस्टमा नेपालको काष्ठकलाको प्रशंसा आत्मविभोर भएर गरेका छन्। त्यसलाई बचाउन वा संरक्षण गर्न सिनेमा कला नै एक उत्तम कला हो भन्ने पुष्टि गरेको छ, आजको विश्वले।
संसारलाई सबभन्दा नयाँ कला दिने फ्रान्समाथि गतहप्ता संसारको सबभन्दा घृणित कला आतंकको छाया परेको छ। एउटा कार्टुन प्रकाशित गरेका कारण पत्रिकाको कार्यालयमा गएर त्यसका सम्पादक, प्रकाशक र अक्षरजीवीमाथि गरिएको हत्या र हमलाको जति निम्नकोटिको शब्दमा आलोचना गरे पनि कम हुन्छ। तर संसारलाई हृदयहीन बनाउने त्यो दुष्कार्यले फ्रान्सलाई झन् संवेदनशील र सहृदयी बनाएको छ, दुई कारणले।
एक, कलाको सम्मान र दोस्रो वाक् स्वतन्त्रताको पक्षमा फ्रान्सको अभिभावकीय उपस्थिति। यो यति बेला फ्रान्सजस्तो एक सांस्कृतिक नम्रता भएको मुलुकबाहेक अरू यसको जवाफदेही बन्न सक्छन्।
फ्रान्सले आज आफ्नो परिवर्तनका बेला धेरै कुरा गुमाएको छ, तर बचाएको छ एउटा स्थिर चरित्र; जसका निम्ति सदियौं पुरानो पारम्पारिक कोमलताको ठूलो परीक्षा दिएको छ।
आज इतिहासको पाना पल्टाएर हेर्दा विश्वजनीन रूपमा फ्रान्सका दुई चिज सदासर्वदा लोकप्रिय छन्, फ्रेन्च किस र फ्रेन्च कमेडी।
सिनेमाका चर्चित हास्यकलाकार चार्ली च्याप्लिन आउनुअगाडि नै फ्रान्सेली स्रष्टा मोलिएरको हास्य पात्र स्काँपा लोकप्रसिद्ध भइसकेका थिए भने तारतुफ त्यस्तै पारिवारिक पात्र बनिसकेका थिए।
फ्रान्सको गौरवशाली परम्परासित जोडिएको दशात्मक स्थितिमा अरूलाई हँसाउन सक्ने स्काँपाको फ्रेन्च कमेडीमाथि यसपालि धर्मको नाममा अधर्म गर्नेले फ्रान्ससित अर्को मेटाफोर जोडिदिएको छ– फ्रेन्च ट्रेजेडी। यसले वर्षौंसम्म मान्छेलाई रुवाउँछ, झकझकाउँछ एउटै कारणले– स्वतन्त्रताको अर्थ अरूको अस्तित्व नै नस्विकार्नु हो त?
कालान्तरमा यो प्रश्न धर्ममाथिको कलंक त हुने नै छ तर यो वर्ष नै हृदयहीनहरूको सम्झनामा खेर गएको वर्ष पनि मानिने त्रास छ।
सन् २०१४ मा कैयन् विश्वप्रसिद्ध व्यक्ति, राजनीतिज्ञ, स्रष्टा, कलाकार हृदयाघातले बिते। के साँच्चै सांकेतिक भावमा हामी सबैसित हृदयस्थल नै नाश भएको हो? गतहप्ता फ्रान्समा भएको त्यो आक्रमणले यो सवाल बारम्बार उठाइरहेको छ।
कुनै कविमनले भनेका थिए– ‘मौन शब्दबाटै जन्मिने हो।' तर यो मौनताभित्र हजारौं शब्द निःशब्द भएका छन्, फ्रान्सका प्रति।
प्रकाशित: २ माघ २०७१ २३:१७ शुक्रबार

-600x400.jpg)

