टङ! टङ! टङ!
बाघभैरवमा घन्ट बजिरहन्छ। कान पवित्र बनिरहन्छ। त्यसमाथि हिमालबाट आएको चिसो हावा। शरीर र मन शीतल बन्छ। घन्टको आवाज र चिसो बताससँगै हरेक बिहान कीर्तिपुर ब्युँझन्छ।
काठमाडौंको सुन्दर दृश्य देखिन्छ बाघभैरव (१,४०५ मिटर) बाट। उत्तरतिर हिमालहरूका लस्कर, तल–तल स्वयम्भूनाथ र काठमाडौं सहरको पूरा दृश्य। दक्षिणमा पहरेदार महाभारत शृंखला र पूर्वमा ललितपुरको दृश्य। बाघभैरवबाट दिउँसोभन्दा बेलुकी काठमाडौंको सहर अति सुन्दर देखिन्छ। झलमल्ल। मन्दिर नजिकैको रूखमुनि परेवाले फटाफट चामल टिपेको दृश्य हेरिरहूँ लाग्छ। एक जना बाजे सधैं तिनलाई खुवाउँछन्। २५ वर्ष भएछ उनले चामल छर्न थालेको।
‘बिहान बाघभैरव दर्शन नगरी र परेवालाई नखुवाई मनै मान्दैन,' ती बाजेले भने। पन्छीप्रति कति निःस्वार्थ प्रेम! उनले जस्तै आपसमा प्रेम गर्न सके समाज स्वर्ग बन्छ।
प्रेम र वीरताको गाथाले भरिपूर्ण छ कीर्तिपुरको इतिहास। काठमाडौंको दक्षिण–पश्चिम डाँडामा अवस्थित कीर्तिपुर नेवार बस्ती हो। जसको उचाइ १,३२५ मिटरदेखि १,५४५ मिटरसम्म छ। पूर्वमा बागमती नदीले ललितपुर र कीर्तिपुरलाई छुट्याएको छ। दक्षिणमा चाल्नाखेल गाविस र पश्चिममा मच्छेगाउँ गाविस पर्छन्। कीर्तिपुर नगरपालिकामा १९ वडा छन्।
प्राचीन नेवारी बस्ती कीर्तिपुर, नेवारी कला, संस्कृति, परम्परा र जीवनशैलीको खुला संग्रहालय हो। काठमाडौंबाट मात्र सात किमि दुरीको सहर घुम्न लायक छ। मन्दिर, चैत्य, ढुंगेधारा, कलात्मक झ्याल–ढोका भएका घर र ढुंगा ओछ्याइएका सफा बाटो। उहिल्यै कीर्तिपुर प्रवेश गर्ने एक दर्जन द्वार बनाइएको थियो सुरक्षाका लागि, जुन अहिले पनि छन्।
कीर्तिपुर एउटै ठूलो ढुंगामाथि बसेको सहर हो। त्यसैलेे भुइँचालो जाँदा पनि त्यति असर गर्दैन भनिन्छ। कीर्तिपुरेहरू कलात्मक घर बनाउन सिपालु छन् भने महिला तान बुन्न। घरबुना चोलो, धोती र मजेत्रोहरू।
त्रिभुवन विश्वविद्यालय बन्नुअघि कीर्तिपुरेको मुख्य पेसा कृषि थियो। विश्वविद्यालय बनेपछि कीर्तिपुरका बासिन्दा मारमा परेका छन्। खेतीयोग्य जमिन विश्वविद्यालयले ओगटेपछि नोकरी र घर बनाउने काममा सीमित छन्।
कीर्तिपुरको पुरानो नाम पद्मकाष्ठपुरी। पछि कीर्ति लक्ष्मीको वीरता र योगदानले गर्दा उनकै नाममा कीर्तिपुर भनियो। उनले राजा पृथ्वीनारायण शाहसँग पुरुषको भेषमा लडाइँ गरेर दुईचोटि कीर्तिपुरलार्ई बचाएकी थिइन्।
पछि हार्नु परे पनि उनको योगदान स्तुत्य छ। कीर्तिपुरेहरू कीर्ति लक्ष्मीलाई भगवानको रूप मान्छन्। कीर्तिपुरमा कीर्ति लक्ष्मीको मन्दिर छ। कीर्तिपुर नाम रहनुमा विभिन्न भनाइ छन्। अर्को भनाइअनुसार कीर्तिपूर्ण काम भएकाले कीर्तिपुर भनियो। त्यस्तै नेपाल भाषामा यसलाई केपु भनिन्थ्यो। अपभ्रंस हुँदै जाँदा कीर्तिपुर भन्न थालियो।
जे जस्तो भए पनि कीर्तिपुरको इतिहास कीर्तियोग्य छ। राजा पृथ्वीनारायण शाहले कीर्तिपुर जित्न निकै कसरत गर्नुपरेको थियो। पहिलोपटकको युद्ध सन् १७५७ मा उनले आफ्ना दाहिने हात कालु पाण्डेलाई गुमाउनुपरेको थियो भने दोस्रोपटकको युद्धमा भाई सुरप्रताप शाहको आँखा गुमाउनुपर्योत। तेस्रोपटक कीर्तिपुरका सबै नाका बन्द गरेर, पानी जाने नाकासमेत बन्द गरेर कपटपूर्ण ढंगले सन् १७६७ मा कीर्तिपुर जितेका थिए। जितेलगत्तै उनले कीर्तिपुरे युवाको नाक काटेका थिए।
त्यसपछि उनले सन् १७६८ मा काठमाडौं र ललितपुर र सन् १७६९ मा भक्तपुरलाई जितेर शाहकाल सुरु गरेका थिए।
कीर्तिपुरवासीहरू बाघभैरवलाई अभिभावक मान्छन्। त्यसैले आजु घय् अर्थात् हजुरबुबा भन्छन्। मन्दिरभित्र मूर्तिमा बाघको मुख खुलै छ। मुख खुला भएको विषयमा किंवदन्ती छ। अहिलेको बाघभैरव मन्दिर स्थापना भएको ठाउँ पहिला गुँदे अर्थात् जंगल क्षेत्र थियो। बच्चाहरू त्यहाँ भेडा चराउँथे। एक दिन बच्चाहरूले खेल्ने क्रममा माटोको बाघ बनाए। त्यसमा जिब्रो हाल्न बच्चाहरू केराको पात खोज्न गएछन्।
त्यही बेला महादेव भोकले झोक्राएर घुम्दै थिए। उनले खेलौना बाघ देखे र त्यसभित्र पसेर सबै भेडा खाइदिए।
बच्चा फर्केर आउँदा भेडा देखेनन्। बाघको मुखमा रगत देखेपछि डराए। आमा–बुबालाई गुहारे। तिनीहरूले बाघलाई तिमीले भेडा खाएको हो? भनेर सोध्दा हो भनेर मुख आँ गरेर देखायो। उनीहरूले ‘तिम्रो मुख खुल्लाको खुल्लै रहोस्' भनेर श्राप दिए।
पछि पुजारीले बाघमा शिव भगवान्को बास रहेको थाहा पाएर मन्दिर स्थापना गरे। त्यही बेलादेखि कीर्तिपुर बाघको सहरका रूपमा चिनियो। २००६ सालको आन्दोलनताका कीर्तिपुरेलाई समस्या पर्दा बाघभैरवले मुखबाट आगोको ज्वाला निकालेर रक्षा गरेको बूढापाका बताउँछन्। त्यति बेलादेखि भैरवलाई रक्षक मानेर झन् विश्वासका साथ पूजा गर्न थालियो।
कीर्तिपुरका प्रमुख पर्यटकीय सम्पदाहरूमा बाघभैरव, उमामहेश्वर, चिलञ्चो बिहार, चोभार, आदिनाथ र टौदह पर्छन्। त्यतिमात्रै होइन, कीर्तिपुर सहरमा अरू थुप्रै मन्दिर, लाय्कु क्षेत्र, बिहार र चैत्य छन्। ल्हो देग, मजा देग, चुन दे, चिठू बिहार, इन्द्रायणी, नगर मण्डप, कीर्ति बिहार आदि। पुराना पोखरी देव पुखु भरया पुखुजस्ता सम्पदा छन्।
जात्रैजात्राको सहर पनि हो कीर्तिपुर। वर्षैभरि जात्रा भइरहन्छ। बाघभैरव जात्रा, कृष्ण अष्टमी जात्रा, इन्द्रायणी जात्रा आदि।
दुःखको कुरा, सुन्दर सांस्कृतिक नगरी हुँदाहुँदै पनि पनि कीर्तिपुरले पर्यटनमा फड्को मारेको छैन। प्रचारको कमी, स्थानीयमा पर्यटन जागरण पर्याप्त नहुनु र नगरपालिकाले पर्यटनलाई प्राथमिकतामा नराख्नुले यस्तो भएको हो। सरकार र पर्यटन बोर्डले पनि कीर्तिपुरलाई पर्यटन गन्तव्य सम्झेको छैन।
पर्यटनका लागि पहिले हामी कीर्तिपुरवासी नै जागरुक बन्नुपर्छ। पुराना घर संरक्षण गरी पर्यटक आकर्षण बनाउनुपर्छ। त्यस्तै देवालय, पोखरी, धारा र ऐतिहासिक सम्पदा संरक्षण गरी चुस्त राख्नुपर्छ। विडम्बना! पुराना घर भत्काएर कंक्रिट भवन बनाउने होडबाजी चलेको छ। युवा जाँगरको कमी छ।
राम्रो गुरुयोजना बनाएर कीर्तिपुरको पर्यटन विकास गर्न जरुरी छ। कीर्तिपुरलाई केन्द्रमा राखेर सेरोफेरोका गाउँसमेत समेटी एकीकृत पर्यटन गुरुयोजना बनाउन सके हाम्रो सबैलाई फाइदा पुग्छ।
स्थानीय टिभी च्यानल र एफएमहरूले सकेको प्रचार गरेकै छन्। स्वदेश र विदेशमा अझै प्रचार जरुरी छ।
कीर्तिपुरमा पर्यटकीय सुविधाका होटल र रेस्टुराँ खुलेका छन्। होमस्टे सुविधा पनि छ। होटल हिलसाइड, लहना र ससः रेस्टुरेन्टले ख्याति कमाएका छन्। लहना र ससःमा नेवार परिकार पाइन्छ। लनगोलमा बाबुराजा महर्जनले होमस्टे चलाएका छन्।
कीर्तिपुरलाई केन्द्र मानेर पदयात्रा प्याकेज बनाउन सकिन्छ। थानकोटबाट मातातीर्थ, मच्छेगाउँ हुँदै कीर्तिपुर र कीर्तिपुरमा एक रात बसेर अर्को दिन सहर घुमी चम्पादेवी हाइकिङ गराएर टौदहसम्म पदयात्रा। त्यसैगरी कीर्तिपुरबाट पदयात्रा गर्न मिल्ने अरू रुटमा कीर्तिपुरदेखि दक्षिणकाली सम्म हाईकिङ। हाइकिङ दुरी १५ किमि। कीर्तिपुर चम्पादेवी हाइकिङ १४ किमि। त्यसैगरी थानकोट, मच्छेगाउँ, चम्पादेवी हुँदै कीर्तिपुर हाइकिङ १७ किमि।
विजय महर्जनहरू पर्यटन विकास समाज खोलेर कीर्तिपुर र छिमेकी गाविस चाल्नाखेल, मच्छेनारायण, मातातीर्थ, सतुंगल, तीनथाना र बाड भञ्ज्याङको एकीकृत पर्यटन विकास गर्ने योजना बनाउँदै छन्।
टौदह र चोभारमा नेपालीको भीड लाग्छ। चम्पादेवीमा पनि हाइकर्स भेटिन्छन्। कीर्तिपुर डाँडाले भने पर्यटनबाट खासै आम्दानी लिन सकेको देखिँदैन। शैक्षिक भ्रमण गराउनेहरूले टौदह र चोभारसँगै बाघभैरव, चिलञ्चो बिहार, उमामहेश्वर, आदिनाथ र लाय्कु क्षेत्र घुमाउनुपर्छ। साथै नगरमा कीर्तिपुरको गौरव र जीवनशैली झल्काउने संग्रहालय आवश्यक छ। त्यहाँ नेपाल भाषा एकेडेमीले अरनिको संग्रहालय चलाएको छ। साथै इतिहास झल्काउने लोकनाटक देखाउने व्यवस्था मिलाउन सके पर्यटक रमाउन सक्थे।
विदेशीमात्रै होइन स्वदेशी पनि रमाउन सक्छन्, कीर्तिपुरमा। काठमाडौं उपत्यकामा बस्नेहरूलाई बिदा मनाउने राम्रो गन्तव्य बन्न सक्छ। पारिवारिक भ्रमणका लागि उपयुक्त छ बाघको सहर। त्यसैले रमणीय कीर्तिपुरमा तपाईंलाई स्वागत छ। ज्वज्वलपा (नमस्ते) कीर्तिपुर।
कसरी पुग्ने : काठमाडौंको पुरानो बसपार्कबाट छुट्ने गाडी बल्खु हुँदै कीर्तिपुर पुग्छन्। गाडीमा ४५ मिनेट। नयाँबजारमा बसबाट ओर्लेर कीर्तिपुर डाँडा चढ्ने। हाइकिङ, बाइकिङ र साइक्लिङ सबैका लागि उपयुक्त छ यो रुट।
पर्यटकीय सम्पदा
बाघभैरव
सबैभन्दा महत्वपूर्ण धार्मिकस्थल बाघभैरव मन्दिर कीर्तिपुरको वडा नं १ मा पर्छ। हिन्दु र बौद्धमार्गीको साझा तीर्थ। महादेवको रिसाहा रूप बाघभैरव।
मन्दिरमा तीन ढोका छन्– पश्चिम, पूर्व र दक्षिणमा। मूलढोका दक्षिणको। मन्दिर क्षेत्र फराकिलो छ। त्यहाँ देवदेवी छन्। मुल मन्दिरमा मुख खुला भएको बाघको सुनौलो मूर्ति छ। मन्दिरको तेस्रो तलामा युद्धकालमा खोसिएका हातहतियार झुन्ड्याइएका छन्। टुँडालहरूमा देवदेवीका आकृति।
विवाह, व्रतबन्ध जस्ता शुभ काम गर्दा होस् वा नयाँ काम गर्दा सुरुमा बाघभैरव पुजिन्छ। बर्सेनि भदौ १ गते बाघभैरव जात्रा मनाइन्छ।
उमा महेश्वर
उमामहेश्वर मन्दिर सबैभन्दा उचाइ (१,४५० मिटर) मा छ। त्यहाँ उमा र महेश्वरका मूर्ति छन्। मन्दिरअगाडि खुला चौर छ। मौसम सफा हुँदा त्यहाँबाट काठमाडौंको राम्रो दृश्य देखिन्छ।
प्यागोडा शैलीको तीनतले मन्दिर कलात्मक छ। टुँडालहरू पनि सुन्दर छन्। त्यहाँ सधैं घुमन्तेहरू आइपुग्छन्।
चिलञ्चो बिहार
चिलञ्चो बिहार जगतपाल बिहारका नामले पनि चिनिन्छ। यकिन इतिहास फेला नपरे पनि पाटनका राजा रत्न मल्लले जगतपाललाई कीर्तिपुरको रेखदेख गर्न पठाउँदा उनले यहाँ चैत्य बनाएको भनिन्छ। कीर्तिपुर वडा नं ३ मा पर्ने बिहार क्षेत्र १,४०६ मिटर उचाइमा छ। चैत्यको उचाइ १० मिटर छ।
चैत्य छिर्ने चार ढोका छन्। बुद्धका आँखामुनि बसेर ध्यान गर्दा आनन्द मिल्छ। चैत्य वरपर मन्दिर छन्। नजिकै नागपोखरी। यहाँबाट दक्षिणतिर नगाउँ, पाँगालगायात महाभारत पर्वत शृंखला देखिन्छ भने उत्तरमा हिमाल।
चोभार
उहिल्यै काठमाडौं खाल्डो ठूलो पोखरी थियो। त्यति बेला चीनबाट आएका भगवान् मञ्जुश्रीले खड््गले चोभार गल्छी काटेर पानी बाहिर पठाएपछि काठमाडौंमा बस्ती बसेको भनाइ छ। चोभार (१,५२० मिटर) कीर्तिपुरको वडा नं १३ र १४ मा पर्छ।
बागमती किनारमा जलविनायक मन्दिर छ। चोभार क्षेत्रमा दिनहुँ सयौं मान्छे घुम्छन्। त्यहाँको मञ्जुश्री पार्कमा गुफैगुफा छन्। जलविनायक सामुदायिक वनले पर्यटकलाई गुफा घुमाएर राम्रो आम्दानी गर्छ। गुफामा गाइडको सहाराले घुम्नुपर्छ। मञ्जुश्री गुफा दक्षिण एसियाकै तेस्रो ठूलो गुफा मानिन्छ। सामुदायिक वनले आधा दर्जन गुफा खुला गरेको छ। वनले पार्कमा ३३ फिट अग्लो मञ्जुश्रीको प्रतिमा राख्दै छ।
टौदह
मञ्जुश्रीले चोभार डाँडो काटेर पानी बाहिर पठाएपछि पोखरीका नागहरूलाई बस्ने ठाउँ भएन। त्यसैले मञ्जुश्रीले नाग बस्न भनेर टौदह बनाइदिएका हुन्। नागपञ्चमीका दिन त्यहाँ मेला लाग्छ। दह ८० रोपनीमा फैलेको छ। त्यहाँ डुंगा चढ्ने सुविधा छैन। दहमा माछा छन्। मार्न पाइँदैन। जाडो याममा साइबेरियादेखिका चरा आइपुग्छन्। टौदह वरपर खाजा पसल छन्।
जन। बोली
ऐतिहासिक सहर कीर्तिपुरको पर्यटन फस्टाउन नसकेकामा नेपाल भाषाका उपप्राध्यापक बज्रमुनि बज्राचार्य चिन्तित छन्। कीर्तिपुरवासी नै जागरुक हुनुपर्छ, बज्रमुनि भन्छन्, ‘हामी पर्यटकलाई हृदयदेखि नै स्वागत गर्छौं।'
पर्यटक बढे बेरोजगारी कम हुने देखेका छन्, स्थानीय गुजे मालाकारले। ‘पर्यटक बढाउन आफू बस्ने ठाउँ सफा राख्न जरुरी छ,' गुजे भन्छन्, ‘हामी सरसफाइ अभियान चलाउँदै छौं। पर्यटकको प्रतीक्षामा छौं।'
हिलसाइड होटल सञ्चालक विजयकुमार महर्जन बर्सेनि पर्यटक बढ्दै गएको बताउँछन्। ‘हामीले नेपालीका लागि ३५ सय रुपैयाँको प्याकेज बनाएका छौं,' उनले भने, ‘हामी नेपाली र विदेशी दुवैको स्वागत गर्छौं।'
प्रकाशित: १२ मंसिर २०७१ २३:४४ शुक्रबार



