अन्य

म्युनिखमा रोमाञ्च र पीडा

अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष ललितकृष्ण श्रेष्ठ नेपाली फुटबलमा परिचित नाम हो। देशकै प्रतिष्ठित र सफलमध्येको थ्री स्टार क्लबका अध्यक्ष श्रेष्ठ ए डिभिजन लिगका पूर्वखेलाडी पनि हुन्। तर, खेलाडीका रूपमा उनको करिअर खासै उपलब्धिमूलक छैन।
Lalit-Krishna-Shrestha01ललितपुर पाटनका स्थानीयवासी श्रेष्ठ किशोरावस्थादेखि नै थ्री स्टारबाट अभ्यास गर्थे। त्यही क्लबबाट २०४२ देखि २०४६ सालसम्म पाँच वर्ष शीर्ष डिभिजनको फुटबल पनि खेले। २०४८ सालमा शहीद तेजबहादुर गोल्डकपमा पटनाविरुद्धको खेलमा वीरगञ्जमा घुँडामा चोट लागेपछि भने उनले फुटबलमा पुनरागमन गर्न सकेनन्। चोटले उनलाई फेरि मैदान उत्रने अनुमति दिएन।
फुटबलको निकै क्रेज रहेको पाटनका बासिन्दा श्रेष्ठ खेल्न नसके पनि यो खेलबाट टाढिन भने सकेनन्। राष्ट्रिय खेलाडी भएर अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिनिधित्व गर्ने आफ्नो सपना टुटेको पीडा बोक्दै उनले करिअरलाई नयाँ मोड दिए। अठोट गरे, 'मैले नसके पनि अरू धेरै युवाको राष्ट्रिय खेलाडी बन्ने सपना पूरा गराउँछु। नेपाली फुटबललाई अन्तर्राष्ट्रिय जगतमा माथि उचाल्छु।'
खेल्न छोडेलगत्तै फुटबल व्यवस्थापनमा लागेका उनी २०४८ सालदेखि नै एन्फामा सक्रिय भए। अध्यक्षका रूपमा थ्री स्टारमा उनको यो दोस्रो कार्यकाल हो। हाल एन्फाबाट राष्ट्रिय टोली व्यवस्थापनको पूरा जिम्मा पाएका उनी एन्फा एकेडेमीका पनि संयोजक हुन्। एन्फा एकेडेमी व्यवस्थापनले देशका लागि उत्कृष्ट प्रतिभा उत्पादनको काममा योगदान गर्ने मौका दिएको उनी बताउँछन्। भन्छन्, 'म राष्ट्रिय खेलाडी बन्न नसके पनि एकेडेमीले धेरै प्रतिभावान् युवालाई गन्तव्यमा पुर्‍याउन सहयोग गरेको छ। यसमा योगदान गर्न पाउँदा मलाई बेग्लै आनन्द मिल्छ।'
आफूले नेपाली टोलीबाट देशलाई दक्षिण एसिया वा एसियाली स्तरसम्म प्रतिनिधित्व गर्ने सपना पूरा गर्न नसकेका श्रेष्ठले अहिले अरूबाट त्योभन्दा ठूलो सपना पालेका छन्। 'नयाँ पुस्ताका नेपालीले देशलाई विश्वकपको मञ्चसम्म प्रतिनिधित्व गरून्' भन्ने उनको चाहना छ। भन्छन्, 'आफ्नै जीवनकालमा नेपालले फुटबलको विश्वकप खेलेको हेर्न पाए जीवन सफल हुन्थ्यो। हाम्रो पुस्ताका लागि त विश्वकप हेर्न पाउनु नै ठूलो कुरा हो।'
टेलिभिजनको पर्दाको माध्यमबाट मात्र विश्वकपसम्म पहुँच भएका श्रेष्ठले जर्मनीमा सम्पन्न सन् २००६ को विश्वकप प्रत्यक्ष रूपमा म्युनिख रंगशालामा बसेर हेर्ने मौका पाएका थिए। हरेक विश्वकपका क्रममा हुने फिफाको कंग्रेसमा भाग लिन सबै सदस्य राष्ट्रका संघबाट निश्चित प्रतिनिधि जाने चलन छ। कंग्रेसमा आउने प्रतिनिधिसँगै सबै सदस्य देशलाई फिफाले विश्वकप हेर्न निश्चित कोटा दिने चलन छ। त्यही सुविधाका आधारमा श्रेष्ठले सन् २००६ को विश्वकप हेर्ने मौका पाएका थिए।
'फुटबलमै जीवन समर्पित गरेका हामीजस्ता फुटबलकर्मीका लागि विश्वकप हेर्न पाउनु सबैभन्दा ठूलो उपलब्धि हो। मैले पनि विश्व फुटबलको त्यो महाकुम्भमा तीर्थ भर्ने मौका पाएँ,' आठ वर्षअगाडिको माहोल सम्झेर श्रेष्ठ रोमाञ्चित हुन्छन्, 'म्युनिखको पूरा सडक पनि फुटबलमय थियो। जताततै चोक, सडक र पबहरूमा जायन्ट स्त्रि्कनमा विश्वकपका खेल देखाइएका थिए। जर्मनी नै आयोजक भएकाले पूरा सडक जर्मनीको राष्ट्रिय झन्डा र जर्सीले रंगिएको थियो। यसबाहेक विश्वकप हेर्न विश्वभरबाट आउने समर्थक पनि आफ्नो टोलीको जर्सीमा यताउता डुलिरहेका भेटिन्थे। लाग्थ्यो पूरा जर्मनीमा लगाउनका लागि जर्सीबाहेकका अन्य कपडा छैनन्।'
'हामी त्यो बेला नेपालबाट सात जना विश्वकप हेर्न जर्मनी गएका थियौँ। एन्फा अध्यक्ष गणेश थापासँगै नरेन्द्र श्रेष्ठ, कर्मा छिरिङ शेर्पा, विराटजंग शाही, वसन्त अर्याल र दीपक खाती पनि हुनुहुन्थ्यो। हामी फिफा कंग्रेसका लागि त्यहाँ गएका थियौँ,' श्रेष्ठले सम्झिए, 'संयोगवश हामीलाई उदघाटन खेल हेर्ने अवसर जुर्‍यो। विश्व खेलकुदको सबभन्दा ठूलो मेलाको करिब आधा घण्टा चलेको उद्घाटन समारोह हाम्रा लागि कल्पनाबाहिरको थियो।'
अन्तर्राष्ट्रिय फुटबलमा जर्मनीका समर्थक भएकाले श्रेष्ठका लागि त्यो विश्वकप भ्रमण अझ स्मरणीय रह्यो। जर्मनीमै भएको विश्वकपको उद्घाटन खेलमा आफूलाई सबैभन्दा मन पर्ने टोली खेलेको हेर्न पाउनु उनका लागि विशेष थियो। उद्घाटन खेलमा जर्मनी र कोस्टारिका भिडेका थिए। टेलिभिजनमा कहिलेकाहीँ हेरेका खेलाडीलाई मैदानमा प्रत्यक्ष रूपमा हेर्न पाउनु श्रेष्ठका लागि महत्त्वपूर्ण थियो। संयोगले जर्मनीले त्यो खेल मिरोस्लाभ क्लोजको दुई तथा फिलिप लाहम र ट्रोस्टेन फ्रिंग्सको एक/एक गोलमा ४–२ ले जित्यो।
'विश्वकपमा जर्मनीकै खेल हेर्न पाउँदा मलाई धेरै उत्साह जागेको थियो। जर्मनीले नै जितेकाले त्यहाँको माहोल झन् रमाइलो भयो। मैले आफूलाई पनि जर्मनीको जीतमा खुशीमा झुमिरहेका ५० हजारभन्दा बढी घरेलु समर्थकको बीचमा पाएँ,' उनले भने, 'त्यो खेलमा मैले भुल्न नसक्ने अर्को घटना भयो। म्युनिखको विशाल रंगशालामा आँखा दौडाउँदा मैले प्यारापिटको एउटा कुनामा नेपालको झण्डा देखेँ। कोस्टारिकाको जर्सीको रङ पनि नेपालको जस्तै थियो। कोस्टारिकाका समर्थक बसेको ठाउँमा नेपालको झण्डा देख्दा झनै रमाइलो लाग्यो। पछि थाहा भयो, ती साथीहरू हाम्रै नेपालका साथीहरू रहेछन्।'
जर्मनीमा श्रेष्ठलाई त्यहाँको फुटबल संस्कार र भव्य भौतिक पूर्वाधारले पनि छोयो। संस्कारका हकमा नेपालको क्रेजबाट चित्त बुझाउने ठाउँ भेट्ने उनलाई नेपालमा पनि म्युनिखकै जस्तो रंगशाला बनेको हेर्ने चाहना छ। भन्छन्, 'विश्वकप हेर्न पाउँदा एउटा व्यक्तिका रूपमा खुशी हुनु स्वाभाविक थियो। तर, पूर्वखेलाडी र फुटबल व्यवस्थापनमै काम गरिरहेको मानिस भएकाले मलाई चाहिँ नेपालमा किन त्यस्तो सुविधा छैन भन्ने कुराले सताइरह्यो। विश्वकपमा आफूलाई मन पर्ने देशले खेलेको हेर्न पाउँदा खुशी लागे पनि आफ्नै देश भने यसको कल्पनासम्म गर्ने अवस्थामा नरहेको सत्यले पीडा दिइरह्यो। जर्मनीको रंगशालामा दर्शकको भूमिकामा बस्न पाउने विश्वकै थोरै भाग्यमानीमा परे पनि नेपालको कुनै ठाउँमा त्यस्तै भव्य रंगशालामा आयोजकको भूमिकामा व्यस्त हुन पाउँदिनँ भन्ने बुझेर दुःख लाग्यो। अनि मनमनै कामना गरेँ, म मरिसकेपछि भए पनि नेपाल र नेपाली फुटबलले यस्तो सफलता कुनै दिन पाओस्।'

प्रकाशित: १ असार २०७१ ०४:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App