'रम'को सिसी। एउटा पुरानो हार्मोनियम एक कुनामा। किलाहरूमा छन् - टाइ, कोट, प्यान्ट झुन्ड्याइएका। भूपी शेरचन चाहिँ खै?
भूपी तिनैका माझ कोठैमा छन्। भूपीकै शब्दमा-
केही लेख्छन्
यसो हेर्छन्
चित्त बुझ्दैन
अनि केर्छन्
पुनः लेख्छन्
पुनः हेर्छन्
लामो सास फेर्छन्
कठैबरा, बिचरा
'भूपी' शेरचन ।
भूपीको कविताले छक्क पार्ने पहिलो कुरा हो उनको समय। साहित्यका लागि उमेर नपुगेको एउटा जवान
देश। एउटा विश्वविद्यालय हेर्नुपर्यो भने आफ्नो त्यो प्यारो देशै छोडेर दगुर्दै बनारस पुग्नुपर्ने। कविताका श्रोता सीमित। र, ती पनि छन्दोबद्ध कविताको गाँजामा एकोहोरो झुलिरहने। शासकहरू खतरनाक र कविता नबुझ्ने। जनता असल तर कविता नबुझ्ने। इतिहासको धूमिल बाटामा हजारौँ वर्ष हिँडेको र कहीँ नपुगेको यौटा लठेब्रो
समय। नयाँ र महान् कविताको जन्मको निम्ति तयारीमा केही पनि नभएको।
२०१० सालमा पहिलो पुस्तक दिने भूपीको समयको 'रफ स्केच' यस्तै यस्तै हो। न विकसित भाषा छ न परम्परा। यिनै माझ भूपीका ओजस्वी कविताहरू जन्मिए। त्यो समयको सौन्दर्य यही नै हो।
भूपीका कविताले जत्तिको आलोचनालाई निस्तेज पारेको कसैको कविताले छैन। उनीभित्र कति राम्रो कवि थियो भने दोष देखाउन उठेका औँला प्रायशः शून्यलाई देखाइरहेका हुने। उनका महान् कविताहरू त महान् भै गए। ठट्टामा लेखेका हरफहरू पनि कम्ती राम्रा छैनन्। सधैँको बेरोजगार कवि एक पटक चितवन जान्छन्। काम - आफ्नै परिवारको घर बनाउने ठेक्का! ठेकेदारको नाम - भूपी शेरचन! आफैँलाई गिज्याएर उनी लेख्छन् -
काठमाडौँ छँदा तारा गन्थेँ
तरूनीको लालीमा हेर्थेँ
अब यहाँ इँट गन्छु
सुर्खीको लालीमा हेर्छु
यसलाई साहित्यकार क.दी. 'श्लेष' भनिदिन्छन्। उनका अनुसार भूपी 'श्लेष' वा 'पन'मा बोल्ने कवि भएकाले चमत्कार र सौन्दर्य देखिएको हो त्यसरी। एक पटक थिए कवि टेकु अस्पतालमा। विरामी उनलाई मायापूर्वक मालिस गरिरहेकी थिइन् उनकी श्रीमती। मायाले मालिसलाई हल्का बनायो कि कसो। डाक्टर आउँदा भूपीले सोधे - 'मलाई तपाईँले मालिस गरिदिनू भनेको कि पालिस गरिदिनू भनेको?' अरू त्यसलाई पि.यु.एन 'पन' भन्थे। उनीचाहिँ भन्थे - 'पन' भनेको मेरो आफ्नोपन हो।
भूपीको आलोचना पढ्नुपर्छ अघ्घोरै मजा आउँछ। भूपीका कविताले निस्तेज भएपछि आजसम्म पनि केही साहित्याचार्यहरूले एउटा अभ्यास गरिरहेको पाइन्छ। भूपी रक्सी पिउँछन् त्यसैले नाक थुनेर लेख्ने।
तर रक्सीले उनको जीवनमा धेरै कुरा निर्माण गर्यो। धेरै कुरा सखाप पनि पार्यो। रक्सीले नै तानेर ल्याइदियो घरसम्म साथी, त्यो पनि शङ्कर लामिछानेजस्तो। अमर गुरुङजस्तो। रक्सी र कविता मिलेर जोडे - कवि भीमदर्शन रोकासितको जीवनमा नसकिने नाता। आज पनि भीमदर्शन देवकोटा र भूपीको कुरा गर्दा आधा मात्रै वाक्य बोल्छन्। आधा बाँकी चाहिँ रोएर पूरा गर्छन्। भूपीले लेखेको 'मैले पिएकोमा रिसाएका साथीहरू...' हाम्रा जँड्याहाहरूको आजसम्मकै प्रथम र अन्तिम उत्कृष्ट कविता हो। उनले पिएर लेखेका कैयन् कविता मानिसले छातीमा बोकेर हिँडिरहेछन् विस्मित भएर पचासौँ वर्षदेखि। नपिएका भए के हुन्थ्यो होला? सायद सपना टुट्थ्यो उनको, र निश्चय नै मर्थे कैयन अमर सिर्जनाहरू जन्मिनु अगावै।
भूपी नै भन्थे, 'म नढल्मलाई हिँड्नै सक्तिनँ नपिएको बेला।' हुन पनि प्रायः साथीहरूकहाँबाट निस्कँदा उनी होसमै नहुने। मोटरमा पनि होसमा नहुने। भर्याङमा पनि होसमा नहुने। बिछ्यौनामा पुगेर 'रम'को बोतल देखेपछि मात्रै होसमा आउने। त्यसको घाटा त हिसाबै छैन। रक्सी हो, सधैँ 'कन्स्ट्रक्टिभ' हुने कुरा पनि भएन। त्यसले मध्यरातमा भूपीलाई विष्णुमतिको पुल हजारौँ पटक वारपार गरायो। अरूले नदेखेको समयमा केही खोज्ने बनायो। तर ५४औँ वर्ष उता कविलाई जिन्दगी टेकेर हिँड्न पनि दिएन। रक्सी त्यस्तै हो।
पहिले भूपीको नाम थियो - भूपेन्द्रमान शेरचन 'सर्वहारा'। प्रस्ट छ - उनको 'अल्मा म्याटर' थियो - कम्युनिस्ट नारावाद। ७८ जना मान्छे भेट्यो कि सहिदको नाममा नेतृत्व लिने, र जुलुस निकाली हाल्ने। लाजले शंकर लामिछानेचाहिँ लुक्ने।
पछि मोह भङ्ग भयो नारावादबाट। कम्युनिज्मको 'ग्रामर'भित्र चेपिएको पुतलीझैँ लाग्यो उनलाई आफ्नो प्यारो आत्मा। उनी रसवादमा गए। गए - रहस्यवादमा। प्रगतिशीलवाद सुन्दर कुरा थियो। तर, भूपीकै शब्दमा त्यो बाटामा धेरै 'जनतामारा'हरू भेटिए। रहस्यवाद पनि कम्ता सुन्दर थिएन। तर त्यो बाटामा पनि बतासको पुल नै ज्यादा। उनी व्यक्तिवादमा गए। त्यो बेला उनले थाहा पाए - व्यक्तिको महानतालाई टाढैबाट, नानीहरूले इन्द्रेणी हेरेझैँ हेरेकै राम्रो। नजिक पुग्यो, केही छैन।
उनलाई लाग्यो - ज्ञानको अन्तमा निराशा छ। तब उनी गए - 'रबिसइजम'मा। भौँतारियो। रक्सी पियो। आत्मालाई ज्ञानशून्य र स्वतन्त्र गरायो। जब आत्माको स्वतन्त्रता स्वयम् गाउन थाल्छ - हरफहरू टिप्यो। त्यसरी उनी पूर्णतः अब मानवतावादमा गए।
उनका कवितामा ती सबै अनुभूति एउटै भङ्गालो भएर आउँछन्। र, नै कविता भैदिए - सबै लक्षण र सौन्दर्यले युक्त। त्यसै शङ्कर लामिछानेले भनेका होइनन् - भूपीका कविताहरू भविष्यमा निश्चय पनि उसको निम्ति एक नसुल्झिने समस्या बन्न जानेछन्।
उनको त्यस्तो 'विचलन'मा सबभन्दा बढी आगो भए - अफिसियल कम्युनिस्टहरू। पारिजातको 'शिरीषको फूल'जस्तो सुन्दर पुस्तकलाई 'कागजको फूल' भन्ने मार्काका जड मानिसले दुःख दिए। तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा राखिएको जम्मा एउटा चुइँकिने कुर्सीका निम्ति भूपीले बिन्तीपत्र नै चढायो भनिदिए। भएकै चाहिँ यत्ति थियो - एउटा नबिक्ने समाचारपत्र प्रकाशित हुन्थ्यो राजविराजबाट। नाम थियो - 'सगरमाथा सन्देश'। त्यसमा भूपीको एउटा कविता छापिएको थियो 'शुभकामना' शीर्षकमा। समय थियो राजाको जन्मोत्सवको। ०३४ सालमा राजा हेटौँडा आउँदा त्यो पत्रिका राजाको हातमा हालिदिए भूपीले। बस्, त्यो खबर बोकेर बतास युगभरिलाई उड्यो।
भूपीको लागि त्यसपछिको मौसम एकदम खराब बन्यो। पहिले व्यापक हुटिङ हुन्थ्यो भूपीलाई कवितासहित मात्र उपस्थित गराऊ भनेर। पछि भूपीको निम्ति वातावरणमा विष फिँजाइएपछि हुटिङ हुन थाल्यो - भूपीलाई उपस्थित नगराऊ भनेर। त्यत्रो योगदान गरेका कविको विचलन सही थिएन। तर ती कुनै राजामहाराजाको चाँदीको चम्चा मुखमा राखेर जन्मेका छोरा थिएनन्। सानो गल्ती भयो। मुस्ताङको टुकुचेमा जन्मेका, जनताका कवि थिए। चोर खेदेझैँ कवि खेद्ने सभ्यता हाम्रै हो भन्न भविष्यलाई सरम लाग्छ भनेर हामीले सोचेनौँ। दुःखका साथ स्विकार्नै पर्छ देवकोटा, रिमाल, भूपीजस्ता कविले हदैको दुःखद नियति भोगे। त्यसको निर्माता चाहिँ हामी थियौँ।
भूपीको झोँक पोख्ने तरिका बेग्लै थियो। पियक्कड छँदैथिए उनी। साथीहरू झन् उग्र पियक्कड। हरेकजसो साँझ महफिलमा कैयन् सिसी 'साफ' पार्थे दौँतरीहरू। खल्तीचाहिँ भूपीकै मात्र 'साफ' हुन्थ्यो। रेस्टुरेन्टमा आउँदा मोटो खल्ती हुन्थ्यो, फर्किँदा त्यसमा हावा भरेर फर्किन्थे भूपी। तर चिन्ता पटक्कै थिएन। अरू आफ्ना खल्ती जोगाउँथे। भूपी जोगाउँथे - आत्माभरिको आनन्द। राती सल्लाघारीमा बतास चल्थ्यो। उराठिलो वातावरण बन्थ्यो काठमाडौँ वटुको चौथो तल्लाको डेरा वरिपरि। मात, एकान्त र हृदयको आनन्द शब्दमा पोखिन्थे। कविता त्यसरी बन्थ्यो।
खर्चबर्चको निम्ति अतिशय उदार कवि शब्दको चाहिँ हदैको कन्जुस। एउटा अनुभव छ साहित्यकार क.दी.सित। उनी थिए साझा प्रकाशनमा। उनमा 'हामी', 'देश' 'गलत लाग्छ मलाई मेरो देशको इतिहास', 'सधैँ सधैँ मेरो सपनामा', 'सहिदहरूको सम्झनामा' जस्ता कविता लेख्ने कविको छानिएका कविताहरूको सङ्कलन निकालिदिने मन भयो। ०२३ सालतिरै अनुरोध गरे कविलाई। जबाफ दिने होइन। ०२५ सालमा उही अनुरोध दोहोर्याउँदा 'खोजेर छाप्नू' भनिदिए। क.दी.ले खोजखाज पारे। सम्पादन गरे। भूमिका लेखे। र निक्लियो - घुम्ने मेचमाथि अन्धो मान्छे।
क.दी.लाई लाग्थ्यो, कैलेकाहीँ भूपीको भाषाले बाटो बिगार्थ्यो, तर त्यसपछि उनका हरफहरू यसैयसै चम्कन्थे। उनलाई लाग्यो एक ठाउँमा चाहिँ हिन्दी भाषाको गन्ध अलि ज्यादै नै भयो। भूपीले 'हामी' कवितामा लेखेका थिए 'हामी वीर छौँ र त बुद्धु छौँ'...आदि। क.दी.ले यो हरफसहित तीन हरफमा 'बुद्धु' शब्द झिकेर 'बुद्ध' बनाइदिए। भूपीले झन्डै मारेनन्। पछि सम्पादकले आफैँ सच्चिनु पर्यो। नसच्चिएको भए जीवनमा कति वित्यास पर्ने रहेछ।
शब्द चयनमा मात्रै होइन, वाचनका निम्ति समेत उस्तै चलाक थिए भूपी। साथी र प्रख्यात कवि वैरागी काईँलालाई भूपीले एकपल्ट नराम्ररी लडाएको सम्झना छ। भूपीले एउटा चम्किलो बिहान खबर ल्याए, 'लू काईँला, विश्वविद्यालयमा कविता वाचन गर्नु पर्ने भो'। दुई भाइ जाऔँ। तिमी तिम्रा गतिला गतिला कविता बोक। म मेरा बोक्छु। दुई भाइ मिलेपछि जात्रा गरिन्छ।'
सोझा कार्इँला मजैले हौसिए। उनले बोके - टनाटन मिथक, बिम्ब र सङ्गीतले भरिएका आफ्ना नदीझैँ लामा कविता। सोचे - विश्वविद्यालयको आकास ओराल्नु छ। चानचुने कविताले हुँदैन। दुवै तयार भएर विश्वविद्यालय पुगे। टन्न मान्छे। काईँलाले वाचन गरे लामा र कठिन कविता। जब भूपी उभिए - उनले त लगेका रहेछन् - छोटा छोटा, सरल र अत्यन्तै लोकप्रिय कविता π पालैपालो कविता पढ्नुपर्ने। एकपटक कार्इँला पढ्थे र सबै चुप लागेर बस्थे। भूपीले पढेपछि त 'वन्स मोर...' आइहाल्ने। भूपीले लामा र जटिल कविता त लाँदै पो लगेनछन्। त्यसपछि काईँलाले निष्कर्ष निकाले - चलाक मान्छे भनेको चलाक नै हुन्छ।
मस्कोमा पुगेर भूपीलाई एकदिन अचानक लाग्यो - उनी नेपाल आमाका झड्केला तन्नेरी छोरा हुन्। सन् १९५७ मा विश्व युवा महोत्वसमा भाग लिन ५५ सदस्यीय प्रतिनिधिमण्डलमा सामेल भए भूपी। र पुगे रसिया। यसो ध्यान दिएर हेरे - युवा महोत्सवमा भाग लिन जाने ९० प्रतिशत जति बूढै मात्र पो छन्! साहित्यकार र कलाकार मात्रै पुग्नुपर्ने। व्यापारी, नेता र 'प्रजामारा'हरू पो टनाटन् छन्! पुगेकै दिन वृद्ध 'युवाहरू' यसरी झगडा गरे कि आफूलाई नेपाली भनेर भीडले चिन्ला भनेरै भूपीले टोपी फुकाले र दबाए पहिचान गोजीभित्र। कतिसम्म भने एक साहित्यकार त गायक बनेरै पुगे - रुसी टेलिभिजनमा। ती हाम्रा गायकहरूसित उभिए, टिभीमा मुखमात्रै चलाए र मुस्कुराउँदै आए सित्तैँमा रूबल पारिश्रमिक बोकेर। बुल्गेरियामा पुगेर नेपाली प्रमण्डलका एक नेताले बेचे एक बाक्सा छालाको जुत्ता। दिल्लीदेखि ल्याएका रहेछन्। बेच्नै पर्यो!
त्यो सब भूपीकै संस्मरण लेखमा छँदैछ। उनीसितै थिए एकजना हब्सीजस्ता नेपाली मानिस। तिनलाई चिनुवा अचेवेजस्तो ठूलो साहित्यकार ठानेर युवतीहरू झुम्मिए। भूपीलाई लाग्यो - यो त अति भो। त्यसले नेपाली कलासाहित्यबारे के भनिदेला। भोलिपल्ट ती काला नेपालीलाई मात ख्वाउन भूपीले लगाए अनौठो सुरुवाल र लगाए सिङ। अब गोरा युवायुवतीहरू भूपी वरिपरि जम्मा भए। अघिल्ला दिनका 'नेपाली अचेवे' भोलिपल्टै एक्ला भए। भूपी परपीडक कहिल्यै थिएनन्। तर त्यो दिन हाम्रा हब्सीले मस्कोको गोरो हिँउमा नुहाइरहेको एउटा वृक्षलाई साथी बनाएर एक्लै उभिएको देख्दा किन किन भूपी औधी खुसी भए।
अल्माता भन्ने ठाउँमा चाहिँ तीन शुद्ध नेपाली लेखकलाई परिचय गराए त्यहाँका एक लेखकले -'नेपालस्की पिशाच सिद्धिचरण, पिशाच धुस्वाँ सायमी, पिशाच भूपी शेरचन।' त्यहाँ लेखकलाई पिशाचिल भनिँदो रहेछ। भूपीलाई लाग्यो - पिशाचिल भन्दा पिशाच नै ठीक थियो। ५५ जनामा धेरैजसो पिशाच नै त थिए!
भूपीको कवितै बारेमा चाहिँ कहिलेकाहीँ नबोलेकै बेस। एउटा कुराचाहिँ टेबिल ठोकेरै भनिदिए हुन्छ - सबै व्याख्याभन्दा सुन्दर छन् उनका कविता। तर भूपीको जीवन बारे बोल्दा सबै वाचकलाई लाग्छ कि म कुनै अभागी मानिसको कथावाचन गरिरहेको छु। त्यसैले उनका निजी जीवनबारे पनि छोटो बोलेकै राम्रो।
वि.सं. १९९० को महाभूकम्पलाई छलेर दुई वर्ष पछि जन्मेका हुन् भूपी। उनका बुबाआमाले छोराहरूका मुख हेर्दा हेर्दा वाक्क लागेर छोरीको आस गरेको। झुक्याएर उनी पो जन्मे। त्यो पनि मूलमा जन्मे र परिवार भित्रै किनारीकृत भए महत्वका हिसाबले। दिदीबहिनी थिएनन्। उनको घरको ऐनाले युवतीको अनुहार देखेकै थिएन। दिदीबहिनी नभएपछि शरदका फूल आँगनमा फिस्स मुस्कुराउँथे र चुपचाप झर्थे।
पाँच वर्षका थिए भूपी जब आमा बितिन्। यौटा बालकका लागि यत्रो संसार आमाबिनाको रित्तो भैदियो। पढ्नु पनि थियो। भूपी गए बनारस १११२ वर्षको उमेरमा र त्यहाँका गल्लीहरूमा धूलो उडाउँदै खोजे आफ्ना गन्तव्य। पढाइमा धेरै मन गएन। विद्रोह, क्रान्ति र सपनाहरूतिर गयो मन र मिल्यो यौटा स्थायी विशेषण - अन्डरग्र्याजुएट। बेरोजगारका लागि बनारसमा, काठमाडौँमा सडकहरू छँदै थिए। उनकै कविता 'मध्यान्हको दिन र चिसो निद्रा'मा त्यही कथा त छ। उनी ठेकेदार कुन ढङ्गका भए माथि भनिहालियो। बाँकी के छ?
उही हाइपर एसिडिटी, सेरेब्रल प्रेसर, क्रोनिक बोङ्काइटिस, निराश मन - यिनैको घर भयो शरीर। कविता 'प्यासन' भयो र 'रम' चाहिँ साथी। मध्यरातको यौटै सडक हिँडेर प्रगतिवाददेखि मानवतावादसम्म पुग्नु सहज थिएन। आरोप नै आरोपको तरबार सडकभरी टेकेर जीवन सूर्यास्ततर्फ गयो। जीवनमा यौटा साझा पुरस्कार मिल्यो। त्यत्ति रकमले कति साँझ थेग्नु? मर्नुअघिको एकेडेमीको जागिर बन्यो - जाडोमा सिस्नुको कोटजस्तो। यौटा गो.द.वा. पनि मिल्यो। त्यसले मनैसहित भत्किसकेको जिन्दगी कहाँनेर सजाउनु?
कविता कवितैजस्ता नभइदिएका भए जीवन निहुरन्थ्यो र भूपीले हिमाल कहिल्यै देख्ने थिएनन्। यौटै सौभाग्य मिल्यो उनलाई - ओजस्वी कविता। उनको यही 'युयुत्सुको खेल'ले आरोपका सबै तीर नलाग्ने भए। लोकप्रियताको हिउँचुलीमा युगयुग यात्रा गरिरहने मिथकको एक नायक बने उनी। नेपाली इतिहासलाई छन्द बिसाउन लगाएर एक 'डिपार्चर' दिएका हुन् उनले। उनी यति सफल र लोकप्रिय पनि भए कि पचासौँ वर्षसम्म उनीपछिका कविहरूले आआफ्नो छायामा भूपीकै चित्र देख्न चाहे। उनीहरू दाँजिनै भूपीसितै दाँजिन चाहन्छन्। दाँज्नेहरू पनि एकाध कविता राम्रो देख्यो कि 'भूपी' भनिदिइहाल्छन्। सोच्नेले पनि 'भूपी', नसोच्नेले पनि 'भूपी'। उनीप्रति कृतघ्न भाव नलिए त्यो नराम्रो पनि छैन। तर भूपीकै जस्तो लेखेर, उनकै विषय र शैली टिपेर वा मास्क लगाएर चाहिँ भूपी कहिल्यै होइँदैन। अर्को भूपीजत्रो कविका निम्ति अर्को महान् 'डिपार्चर' युगले माग्छ।
इटहरी बस्ने युवाकवि मनु मन्जिलका 'आँधीको आवेग' र 'ल्याम्पपोस्टबाट खसेको जून' कविताकृति प्रकाशित छन्।
प्रकाशित: ९ पुस २०६९ ०१:०१ सोमबार



