एसएलसीमा अनियमितता रोक्न गोलाप्रथाद्वारा शिक्षक गार्ड छनौट
रुद्र खड्का, नेपालगन्ज - एसएलसीमा हुने अनियमितता रोक्न जिल्ला शिक्षा कार्यालय बाँकेले गोलाप्रथाद्वारा परीक्षा केन्द्रमा शिक्षक गार्ड छनौट गर्ने भएको छ।
विगतका वर्ष परीक्षा केन्द्रमा खटिएका शिक्षक गार्डहरूले नै विद्यार्थीलाई चिट चोराउने गरेको भेटिएपछि यसपाली गार्ड छनौटमा गोलाप्रथालाई अनिवार्य गरिएको शिक्षा कार्यालयले जनाएको छ। 'परीक्षा सुरु हुनु भन्दा आधा घण्टा अघिसम्म कुन शिक्षक गार्ड कुन कक्षामा खटिने भन्ने बारेमा कसैलाई जानकारी हुदैन शिक्षा अधिकारी भक्तबहादुर ढकालले भने, 'शिक्षक गार्डहरूबाटै चिट चोराउन रोक्न सकिए धेरै हदसम्म परीक्षालाई शुद्धता राख्न सकिने आशा छ।'
चिनेजानेका विद्यार्थी तथा अन्य प्रभावका कारण शिक्षक गार्डले परीक्षार्थीलाई चिट चोराउने गरेको अभिभावकले गुनासो गर्दै आएका छन्। परीक्षा सन्चालन अघि नै शिक्षक गार्डले परीक्षा केन्द्र तथा केन्द्रको कोठा किटान गरी जिम्मेवारी माग्ने गरेका कारण गोलाप्रथाद्वारा शिक्षकलाई खटाउने निर्णय गरिएको ढकालले बताए। परीक्षामा खटिएका शिक्षकलाई कुन कोठाको जिम्मेवारी पाइन्छ भन्ने बारेमा अग्रिम जानकारी नहुने भएपछि परीक्षामा चलखेल नहुने अनुमान गरिएको छ।
परीक्षामा खटिने शिक्षकले कुनै एक केन्द्र र कोठामा बस्न खोज्नु परीक्षाको शुद्धताको लागि होइन एक कर्मचारीले भने। शिक्षा कार्यालयका कर्मचारी र सम्वन्धित केन्द्रका सुपरीटेण्डेण्टले गोलाप्रथाद्वारा परीक्षा केन्द्रमा खटिने शिक्षक गार्डको निर्णय गर्नेछन्। खटाउने शिक्षा कार्यालयले जानकारी दियो। शिक्षा अधिकारीका अनुसार परीक्षा सन्चालनका लागि खटिएका कर्मचारी बाहेक केन्द्रमा कसैलाई पनि प्रवेश दिइने छैन। परीक्षा केन्द्रमा खटाइएका शिक्षक, कर्मचारीले निर्देशन वमोजिम काम गरे/नगरेको अनुगमनको लागि प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र शिक्षा अधिकारी सम्मिलित टोली सक्रिय रहने ढकालले बताए। ८ हजार ५ सय ८८ विद्यार्थीका लागि बाँकेमा ३० परीक्षा केन्द्र निर्धारण गरिएका छन्। शिक्षा कार्यालयले २५ जना विद्यार्थी बराबर एक शिक्षक गार्ड रहने व्यवस्था मिलाएको छ।
योग्यता नपुगेकाहरुलाई केन्द्राध्यक्ष
मधुसुधन गुरागाईं, बनेपा- जिल्ला शिक्षा कार्यालय काभ्रेले योग्यता नै नपुगेका शिक्षकहरुलाई एसएलसी परिक्षाको केन्द्राध्यक्षमा नियुक्ति गरेको खुलासा भएको छ।
काभ्रेमा यस वर्ष ३९ वटा एसएलसी केन्द्रहरु तोकिएकोमा ८ वटा केन्द्रका केन्द्राध्यक्षहरुको योग्यता नै पुग्दैन।
परिक्षा नियन्त्रण कार्यालयले केन्द्राध्यक्ष निर्देशन पुस्तिका २०६८ मा माध्यमिक विद्यालयका प्रधानाध्यापक वा कम्तीमा माध्यमिकस्तरका शिक्षक हुनु पर्ने नियम बनाएको छ।
काभ्रे जिशिअले भने यस मापदण्ड विपरित प्रावि र निमाविस्तरका शिक्षकहरुलाई केन्द्राध्यक्षमा नियुक्ति दिएको हो। ८ वटा केन्द्राध्यक्षको योग्यता प्रावि र निमाविस्तरमात्रै रहेको भेटिएको छ।
योग्यता नै नपुगेका शिक्षकहरुलाई केन्द्राध्यक्षमा नियुक्ति गरेर जिशिअ दीनानाथ गौतमले परिक्षाको मर्यादा उल्लंघन गरेको आरोप शिक्षाकै वरिष्ठ अधिकृतहरुले लगाएका छन्।
'मेरो काम सुरक्षालगायतमा समन्वय गर्ने हो। केन्द्राध्यक्ष नियुक्तिबारे जिशिअले ल्याएको सूची नै स्वीकृत गर्ने भएकाले उहाँलाई नै सोध्नुस', जिल्ला परिक्षा समन्वय समितिका अध्यक्ष एवं काभ्रेका प्रजिअ रुद्रनाथ बस्यालले भने।
जिशिअ गौतमले केन्द्राध्यक्ष निर्देशन पुस्तिका २०६८ अनुसार नै केन्द्राध्यक्ष नियुक्त गरेको दाबी गरेका छन्। 'निर्देशिका एक पटक पढ्नुस्। सोही अनुसार केन्द्राध्यक्ष नियुक्त गरेको छु।' उनले भने।
एसएलसी २०६८ मा यसै पटकदेखि निजी विद्यालयहरुमा केन्द्र रहने व्यवस्था हटाइएको छ। ३९ वटै केन्द्रहरु सरकारी स्कूलमा मात्रै कायम गरिएको छ। एसएसलसी परिक्षामा सरकारी १३२ र निजी ६३ गरि १९५ स्कूलका ९३२१ विद्यार्थीहरु सहभागी हुँदैछन्। जसमा ८२७७ नियमिततर्फ र १०४४ एक्जम्टेडतर्फ रहेका छन्।
सातसय बढी लडाकुले एसएलसी दिँदै
चाँदनी हमाल, चितवन, चैत ७- चितवन र नवलपरासीका गरि सातसय बढी लडाकुले मंगलबारदेखि शुरुहुने एसएलसी परिक्षा दिदैछन्। समायोजन रोजेर शक्तिखोर शिविरमा रहेका तथा केहीसमयअघि स्वेच्छिक अवकास रोजेर बाहिरिएका गरि पाँचसय चार लडाकुले एसएलसी परिक्षा दिन लागेका हुन्। नवलपरासीका दुईसय लडाकुले एसएलसीमा सहभागिता जनाउदैछन। लडाकुहरुले खुलातर्फबाट परिक्षामा सहभागिता जनाउन लागेका हुन्।
चितवनका लडाकुले जुटपानीको पृथ्वी उच्च मावि, शक्तिखोरको चतुर्मुखी उच्च मावि र जनजागृती उच्च माविबाट परिक्षा दिनेछन्। नवलपरासीका लडाकुले भने अरुणखोला र चोरमारामा रहेको उच्च माविबाट परिक्षा दिनेछन।
'बन्दुक चलाउन जानेर मात्रै नपुग्ने रहेछ सेनामा शिक्षा पनि आवश्यक रहेछ ,समायोजन रोजेका लडाकु विनय मगरले भने त्यसैले परिक्षा दिन लागेको। '
उनीजस्तै समायोजनमा जान तयार कम्पनी कमाण्डर यमबहादुर घर्ती मगर पनि शिक्षा जतासुकै अपरिहार्य भएको बताउछन। 'पहिले लडाई मात्र हो जस्तो लाग्थ्यो त्यही सिकीयो उनले भने अब सेनामा जानेले पनि पढ्नु पर्दोरहेछ।' यि दुई लडाकुले जुटपानीको पृथ्वी उच्च माविबाट परिक्षा दिदैछन।
पदकै बारेमा पनि पढ्नेले स्थान पाउने भएकाले पनि आफुहरुले एसएलसीसँगै पढाईलाई अगाडी बढाएको लडाकु बताउछन। 'पहिले बुर्जुवा भनिन्थ्यो अहिले यसकै बढी महत्व लागेको छ ,लडाकु दिपक कार्की भन्छन् बन्दुक र कलमको शक्ति उस्तै लाग्यो।' उनले जनजागृती उच्च माविबाट परिक्षा दिदैछन्।
पाँचवर्ष शिविरमा रहदाको फुर्सदको समयलाई अत्यधिक लडाकृले शिक्षा लिनमै खर्चेका छन। जसका कारण उनीहरुमा शैक्षिक चेतना बढेको लडाकु बताउछन। यसअघि गतवर्ष पनि ४७ लडाकुले परिक्षा दिएका थिए। सो को अघिल्लो वर्ष २०६६ सालमा ५ सय ४३ लडाकुले एसएलसी दिएका थिए। लडाकुले परिक्षा दिने विद्यालयमा कडा सुरक्षा व्यवस्था मिलाइएको जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले बताए।
शिविमा रहेका लडाकुले भित्रै रहेर परिक्षाको तयारी गरिरहेको प्रवक्ता जनक विष्टले बताए। 'बाहिरिएका साथीहरु भने स्कुलको सम्पर्कमा आएर परिक्षा दिने तयारीमा छन ',उनले भने।
यसवर्ष चितवनमा एसएलसीका लागि ४० केन्द्र तोकिएको छ। जसमा तीनकेन्द्र लडाकुको छ। लडाकु विद्यालयका शिक्षक रोहित दाहालले पनि परिक्षाको सबै तयारी पुरा भएको बताए। 'केही सुत्केरी र अशक्त लडाकुले पनि परिक्षा दिनेछन् उनले भने जसको तथ्यांक साँझसम्ममा आउछ। '
'हाम्रा पनि पढ्नमा व्यस्तछन् लडाकु चौथो डिभिजनका कमाण्डार तेजबहादुर वलीले भने तोकिएको केन्द्रमा गएर दिन्छन् परिक्षा। '
चितवनमा कुल १३ हजार २ सय ९१ विद्यार्थीले एसएलसी दिदैछन्। जसमा नियमिततर्फ १२ हजार पाँच विद्यार्थी छन्। एक्जाम्टेडतर्फ भने एकहजार २ सय ८६ विद्यार्थी छन्। परिक्षा दिनेमा पाँचहजार ८ सय ७२ छात्र र ६ हजार १ सय ३२ लडाकुले परिक्षा दिने जिल्ला शिक्षा कार्यालय चितवनले जनाएको छ। परिक्षाको अन्तिम तयारी चलिरहेको कार्यालयले जनायो।
होम सेन्टर खारेज
झापा- जिल्लाको एसएलसी परीक्षा समन्वय समितिले यसपटकको परीक्षामा झापामा 'होम सेन्टर' को व्यवस्था खारेज गरेको छ।
समितिका अनुसार आफ्नै विद्यालयमा परीक्षा केन्द्र हुँदा त्यही विद्यालयका केन्द्राध्यक्ष र निरीक्षकले परीक्षार्थीलाई चिट चोर्न सघाउने सम्भावनाका कारण 'होम सेन्टर' खारेज गरिएको हो। यसअघि परीक्षा केन्द्र तोकिएका विद्यालयका परीक्षार्थीले आफ्नै स्कुलमा परीक्षा दिन्थे। यसपटकदेखि अन्य स्कुलमा जानुपर्ने भएको छ। समन्वय समितिले 'होम सेन्टर' खारेजीको निर्णय झापामा मात्रै भएको बताएको छ।
'होम सेन्टरकै कारण अवाञ्छित गतिविधि हुने सम्भावना कम गर्न यस्तो निर्णय गरिएको हो' जिल्ला शिक्षा अधिकारी लक्ष्मीप्रसाद भट्टराईले भने। होम सेन्टर भएका स्कुलको नतिजा राम्रो आउने तर अरुको सधैं बिग्रने गरेको गुनासो पनि जिल्लामा व्यापक छ। कमजोर नतिजावाला स्कुलहरुले बारम्बार यस्तो गुनासो गरेकाले होम सेन्टर खारेज गरिएको समन्वय समितिले जनाएको छ।
४८ वटा परीक्षा केन्द्र भएको झापामा कुनै पनि केन्द्रमा त्यही स्कुलका परीक्षार्थी बस्न पाउने छैनन्। यसपटक झापामा नियमिततर्फ १३ हजार ९ सय ६५ र एक्जामटेडतर्फ २ हजार २ सय ७५ गरी १६ हजार २ सय ४० परीक्षार्थी सामेल हुँदैछन्। त्यसमा ५ जना सुस्त श्रवण, १ जना नेत्रहिन, १ जना न्यूनदृष्टिका परीक्षार्थी छन्। झापा कारागारका दुई जना बन्दी पनि परीक्षामा सामेल हुँदैछन्। यसपटक ८ सय ७५ जना भूटानी शरणार्थी र खुला विद्यालयका २ सय ६२ विद्यार्थी पनि सहभागी हुँदैछन्।
जिल्लाका हरेक परीक्षा केन्द्रमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गरिनेछ। जिल्ला प्रहरी कार्यालयका अनुसार हरेक केन्द्रमा न्यूनतम ७ देखि १० जना प्रहरी खटिने छन्। परीक्षा अवधिभर केन्द्रका केन्द्राध्यक्ष बाहेकका अरुलाई मोबाइल फोन प्रयोगमा रोक समेत लगाइएको छ।
पूर्वाञ्चलमा १ लाख २३ हजार विद्यार्थी
सिद्धराज राई, धनकुटा, चैत ७- आगामि चैत्र ७ गते देखि सञ्चालन हुने एसएलसी परीक्षामा पुर्वाञ्चलबाट नियमित र एक्जाम्टेट गरि १ लाख २३ हजार १ सय ६४ विद्यार्थी सहभागी हुने भएका छन्।
पूर्वाञ्चल क्षेत्रिय शिक्षा निर्देशनालय धनकुटाका अनुसार नियमति तर्फ ९९ हजार १ सय आठ र एक्जम्टेट तर्फवाट २४ हजार ५६ जना विद्यार्थी सहभागी हुने भएका छन। पुर्वाञ्चलका १६ जिल्लाका १ हजार ७ सय ६९ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुने पुर्वाञ्चल क्षेत्रिय शिक्षा निर्देशनालय धनकुटाका निर्देशक सुन्दरकुमार शाक्यले वताए। उनका अनुसार सवै भन्दा वढि विद्यार्थी मोरङ जिल्लामा १९ हजार ३२६ जना र सवै भन्दा कम विद्यार्थी सोलुखुम्वु जिल्लामा २ हजार १४९ जना छन्।
गत वर्षको तुलनामा यो वर्ष नियमित विद्यार्थीको सख्यामा भने वृद्धि भएको छ। गत बर्ष ९४ हजार ५७३ जना नियमित विद्यार्थी रहेको थियो भने यो बर्ष ९९ हजार १०८ जना पुगेको छ।
यो बर्ष देखि विद्यार्थीहरुले होम सेन्टरबाट एसएलसी परीक्षा दिन नपाउने भएका छन्। परीक्षालाई मर्यादित बनाउनको लागि होम सेन्टर हटाउने निर्णय गरेको निर्देशक सुन्दरकुमार शाक्यले वताए। होम सेन्टर हटाउने निर्णयले विद्यार्थीहरुले आफ्नै विद्यालयको परीक्षा केन्द्रबाट परीक्षा दिन नपाउने भएका छन्। त्यस्तै गरी एसएलसीको परीक्षाको लागि प्रश्नपत्र र उत्तरपुस्तिका समेत सम्बन्धित परीक्षा केन्द्रमा पुर्याई सकिएको बताईएको छ।
पूर्वाञ्चलमा ४ सय २० वटा परिक्षा केन्द्र निर्धारण गरिएको छ। यी परीक्षा केन्द्रमा ४२० जना केन्द्राध्यक्ष, ४५० सहायक केन्द्रध्यक्ष र ४ हजार ९२७ जना परीक्षा निरिक्षक र ४ हजार कर्मचारी खटाईएको छ। सम्बन्धित परीक्षा केन्द्रका प्रधानाध्यापक नै केन्द्रध्यक्ष हुने नियम रहेकाले यस पटक केन्द्राध्यक्ष छनौट गर्दा राजनैतिक भागबण्डा नभएको बताईएको छ।
परीक्षालाई मर्यादित र शान्तिपुर्ण बनाउनको लागि १६ वटै जिल्लामा जिल्ला परीक्षा समन्वय समिति समेत गठन गरेको छ। यसपटकको परीक्षामा चिट चोराउने अभिभावक, शिक्षक र अन्य कर्मचारीहरुलाई सार्वजानिक अपराध मुद्दा लगाउने भएको छ। अभिभावक र शिक्षकहरु नै चिट चोराउने कार्यमा संलग्नता हुने पाईएकाले यो नियम बनाएको निर्देशक शाक्यले वताए। यसका साथै केन्द्रको निर्देशन अनुसार विद्यार्थीहरुलाई मोवाईल फोन बोक्न नदिने र परीक्षा केन्द्रको आसपास भीड बस्न नदिने योजना रहेको उनले बताए।
सुदूरपश्चिमबाट ५८ हजार परिक्षार्थी एसएलसीमा समावेश हुने
पुष्पराज जोशी, डोटी- यस वर्षको प्रवेशिका परिक्षामा सुदूरपश्चिमबाट ५८ हजार परिक्षार्थी समावेश हुने भएका छन्। फागुन ७ गते देखि सुरु हुने प्रवेशिका परिक्षामा सुदूरपश्चिमका ९ वटै जिल्लाबाट ५८ हजार ४९ जना विद्यार्थीहरु सहभागी हुने भएका हुन्। गत वर्षको प्रवेशिका परिक्षामा सुदूरपश्चिमबाट ४८ हजार ३६ जना विद्यार्थी सहभागी भएका थिए। गत वर्षको तुलनामा यस वर्ष प्रवेशिका परिक्षामा सुदूरपश्चिममा १० हजार ३६ जना विद्यार्थी थप भएका हुन्।
प्रवेशिका परिक्षामा डोटीबाट ३ हजार ५८, कैलालीबाट १७ हजार ५ सय ५८ जना, दार्चुलाबाट ३ हजार ६ सय ७६ जना, डडेल्धुराबाट ३ हजार २ सय ८५ जना, कंचनपुरबाट ९ हजार ९ सय १८ जना, बैतडीबाट ५ हजार ६ सय ५५ जना, अछामबाट ६ हजार ६ सय ५५ जना, बझाङ बाट ४ हजार ९ जना र वाजुराबाट २ हजार ९ सय ८३ जना विद्यार्थीहरु समावेश हुने भएका छन्। जसमध्ये नियमित तर्फ ४७ हजार १ सय ७९ र एक्जामटेड तर्फ १० हजार ८ सय ७० जना परिक्षार्थी सहभागी हुने भएको क्षेत्रिय शिक्षा निर्देशनालय दिपायलले जनाएको छ।
एसएलसी परिक्षालाई मर्यादित र व्यवस्थीत पार्न यस वर्ष सुदूरपश्चिममा १७ परिक्षा केन्द्र थप गरि १ सय ७५ वटा परिक्षा केन्द्र तोकिएको छ। प्रवेशिका परिक्षामा सुदूरपश्चिमभरीका ८ सय ४६ माध्यामिक विद्यालयका ५८ हजार ४९ जना परिक्षार्थी सहभागी हुने भएका हुन्। 'गत वर्षको तुलनामा १० हजार १३ जना वढी विद्यार्थी परिक्षामा सहभागी हुने भएपछि थप परिक्षा केन्द्र निर्धारण गरेका हौ।' क्षेत्रिय शिक्षा निर्देशनालय दिपायलका निमित्त प्रमुख पूर्ण शाहले भने,'यस वर्ष परिक्षा केन्द्रमा शान्ति सुरक्षाको व्यवस्थापन पनि राम्रो छ।' शान्ति पूर्ण वातावरणमा परिक्षा हुनेमा दुईमत नभएको निमित्त प्रमुख शाहले बताए। उनले भने,'प्रति परिक्षा केन्द्रमा १० जना प्रहरी सहितको शुरक्षा टोली खटाईएको छ।'
सुदूरपश्चिमबाट सवै भन्दा वढी परिक्षार्थी कैलालीमा १७ हजार ५ सय ५८ र सवैभन्दा कम परिक्षार्थी बाजुरामा २ हजार ९ सय ८३ जना प्रवेशिका परिक्षामा सहभागी हुने भएका छन्।
सुदूरपश्चिमका सवै परिक्षाकेन्द्रमा कर्मचारी पुगिसकेको बताउँदै निमित्त प्रमुख शाहले भने,'परिक्षामा आवश्यक कागजात, कापी, पेपरहरु समेत सुरक्षीत पुगिसकेको छ।' उनले भने,'यसपालीको परिक्षा मर्यादित वनाउन समय समयमा अनुगमन समेत गरिने छ।'
सुदूरपश्चिममा क्रियापुत्री, वृद्धवृद्धा, अपांग, दृष्टिविहीन परिक्षामा समावेश भए नभएको तथ्यांक भने परिक्षा सुरु भएको एक/दुई दिनपछि मात्रै प्राप्त हुने क्षेत्रिय शिक्षा निर्देशनालयले जनाएको छ।
प्रकाशित: ६ चैत्र २०६८ १४:३० सोमबार



