धेरै पर जानुपर्दैन, मात्र एक दशकअघिको उपत्यका सम्झनुस् । अहिले उजाडिएका सडक किनारामा लहरै रूखहरू थिए । तिनमा मौसमअनुसार फूल फुल्थे । अनि, वरपर छरिन्थ्यो सुवास।
दशकअघि सडक किनारामा देखिने धेरै रूख अहिले काटिएका छन् । चैत–वैशाखको घाममा रूखको छहारी हुँदै सडकको पेटी काट्न पाइँदैन । यद्यपि अझै पनि सडक र उपत्यकाका खोला किनारमा कतैकतै हरियाली छ । रूखहरू छन्, बगैँचा र थकाइ मार्ने चौतारी । त्यस्तै, बाँकी रहेका रूखमध्ये केहीमा अहिले फूल लागेको छ, निख्खर बैजनी । कतैकतै सँगसँगै फूलेको देखिन्छ, रातो कागते फूल पनि।
साँच्चै राजधानीका केही स्थानको दृश्य अहिले हेर्न लायक छ, मनै लोभ्याउने । शरीरमा छुट्टै आनन्द सिञ्चित गर्ने । यसरी मनै आनन्दित पार्ने गरी फूलेको बैजनी फूल हो, ज्याकारान्डा । जसलाई पारिजातले आफ्नो उपन्यासमा शिरीषको फूलका रूपमा वर्णन गरेकी छिन्।
तर, वास्तवमा यो शिरीषजस्तै देखिने ज्याकारान्डा भएको वनस्पतिविद्ले पुष्टि गरिसकेका छन्।
अहिले सडक र खोला किनारमा फूल्ने ज्याकारान्डाको मौसम हो । त्यसैले त राजधानीका कतिपय स्थान अहिले हेर्न लायक बनेका छन् । ज्याकारान्डालाई शिरीषपाते भँगेरी फूल पनि भनिन्छ । उपत्यकाका मालीले यो नाम दिएको मानिन्छ । नेवार भाषामा ज्याकारान्डालाई चखुँचा स्वाँ भनिन्छ, जसको अर्थ हुन्छ, भँगेरी फूल । तपाईं पनि हेर्ने हैन त उपत्यकामा फूलेको ज्याकारान्डा अर्थात् भँगेरी फूल ?
प्रकाशित: १४ वैशाख २०७५ ०२:३८ शुक्रबार
-600x400.jpg)


