विचार

ज्येष्ठ नागरिक सम्मान

संस्कार

नेपाली समाज संस्कारी छ र संस्कारको सम्मान र त्यसको पालनामा प्रतिबद्ध पनि छ। हाम्रा सामाजिक मूल्य र मान्यतालाई पनि हाम्रो संस्कारी परम्पराले नै बचाउँदै आएको छ। संस्कार भनेको सभ्यता पनि हो। शिक्षित हुँदैमा सभ्य भइन्न। बरु अशिक्षित मान्छे पनि असल संस्कारकै कारण सभ्य बन्न सक्छ। त्यसैले सामाजिकीकरण र सामाजिक विकास क्रममा संस्कारको अत्यन्तै महत्त्वपूर्ण भूमिका रहँदै आएको पाइन्छ

आधुनिकताको प्रभाव र संस्कारमा स्खलन

पछिल्लो समय आधुनिक शिक्षा, पश्चिमी सभ्यता र आधुनिकताको प्रभावले संस्कारमा केही मात्रामा स्खलन आएको पाइन्छ। मान्छेले सामाजिक मूल्य र मान्यतालाई बिस्तारै भुल्दै र छोड्दै गएको महसुस हुन्छ। हाम्रो संस्कार र हाम्रो सामाजिक मूल्य र मान्यतामा आएको स्खलनको असर हाम्रो सामाजिक व्यवहार र आचरणमा पर्न थालेको छ। हामीले हाम्रो संस्कार र सामाजिक मूल्य र मान्यतालाई भुल्दै र छोड्दै जाँदा हामीमा अनुशासनको कमी देखिन थालेको छ र हामी केही हदसम्म असहिष्णु, निर्दयी र संवेदनहीन पनि बन्न थालेका छौं। हाम्रो असहिष्णुता, निर्दयता र संवेदहीनता हाम्रो दैनिक व्यवहार र आचरणमा प्रकट भइरहेका छन्।

ज्येष्ठ नागरिकलाई सम्मान गर्नु हाम्रो संस्कार हो। हाम्रो सामाजिक मूल्य र मान्यताले पनि हामीलाई ज्येष्ठ नागरिकलाई सम्मान गर्न र आदर गर्न सिकाएको छ। हाम्रो सामाजिक मूल्य र मान्यताले हामीलाई ज्येष्ठ नागरिकप्रतिको दायित्व निर्वाह गर्न पनि सिकाएको छ। तर पछिल्लो समय आधुनिक शिक्षा, पश्चिमी सभ्यता र आधुनिकताको प्रभावले हाम्रो संस्कार र हाम्रो सामाजिक मूल्य तथा मान्यतामाथि अदृश्य प्रहार हुँदै गर्दा हामी केही हदसम्म अनुशासनहीन, अमर्यादित र सामाजिक मूल्यमान्यताविहीन बन्न थालेका छौं। परिणामतः हामी असहिष्णु, निर्दयी र संवेदनहीन तथा ज्येष्ठ नागरिकप्रतिको सामाजिक उत्तरदायित्वबाट विमुख हुन थालेका छौं। यसको असर ज्येष्ठ नागरिकको दैनिकी र उनीहरूको जीवनयापनमा पर्न थालेको छ। उनीहरूको मर्यादित जीवनयापन गर्ने नैसर्गिक हक कुण्ठित हुन थालेको छ। यति मात्रै होइन, ज्येष्ठ नागरिकहरूको जीवन नै असुरक्षित र अमर्यादित हुन थालेको छ। यो निकै चिन्ताको विषय हो।

ज्येष्ठ नागरिकमाथि बढ्दो दुर्व्यवहार र हिंसा

हालै काठमाडौं सहरका सार्वजनिक स्थलहरूमा आदरणीय ज्येष्ठ नागरिकमाथि भएका दुव्र्यवहार र कुटपटिका घटनाले हामी कति अमर्यादित, अराजक, अनुशासनहीन, असहिष्णु र संवेदनहीन बन्दै गएका छौं भन्ने यथार्थलाई पुष्टि गरेको छ। वसन्तपुर दरबार क्षेत्रमा एक युवाले वृद्ध व्यक्तिमाथि गरेको अमर्यादित व्यवहार र कुटपिट अनि एउटा खुला सडकमा वृद्धले सामान्य अपशब्द प्रयोग गरेकै निहुँमा ती वृद्धमाथि भएको अभद्र व्यवहार र निर्घात कुटपिटले हाम्रो संस्कार र सभ्यतामाथि नै प्रश्नचिह्न खडा गरेको छ। यी दुई घटनाले सहरी सभ्यता र संवेदनामाथि पनि प्रश्नचिह्न खडा गरेको छ।

सहनशीलता अथवा सहिष्णुता र संवेदना भन्ने मानवीय गुणलाई नै चटक्क बिर्सेर शारीरिक रूपमा अत्यन्तै कमजोर वृद्धमाथि हिंसात्मक आक्रमणमा उत्रनु मान्छे उग्र, अराजक, असहिष्णु र संवेदनहीन हुँदै गएको प्रमाण हो। यति मात्रै होइन, आफ्नो सामाजिक दायित्वबाट पूर्ण रूपमा विमुख भएको प्रमाण पनि हो। सभ्यता भन्ने मानवीय उच्च गुणलाई नै धज्जी उडाएर मान्छेले गर्ने यस्तो व्यवहारले मानवीय संवेदना मात्रै होइन, मान्छेको मनबाट मानवता नै हराएको महसुस हुन्छ। मानवीय अस्तित्वका लागि यस्तो आचरण र व्यवहार एउटा चुनौतीका रूपमा खडा भएको महसुस हुन्छ।

परिवार र समाजभित्र लुकेको पीडा

सडकमा मात्रै होइन, स्वयं आफ्नै घरभित्र पनि ज्येष्ठ नागरिकहरू दुव्र्यवहार र हिंसाको सिकार भएका धेरै घटनाहरू सार्वजनिक भएका छन् भने अरू धेरै यस्ता घटनाहरू घर र समाजभित्रै लुकेर बसेका छन् अथवा लुकाइएका छन्। आफ्नै छोराबुहारीबाट दुव्र्यवहारमा परेका, शारीरिक तथा मानसिक हिंसामा परेका र सामाजिक तथा आर्थिक उपेक्षामा परेका ज्येष्ठ नागरिकहरूका अनेकौं दर्दनाक कथाहरू अलिखित रूपमा परिवार र समाजको चौघेराभित्र सीमित भएर रहेका छन्। परिवारको सामाजिक प्रतिष्ठामा आँच आउने भयले कतिपय पीडित स्वयंले यस्ता दुव्र्यवहार, हिंसा र उपेक्षाका घटनाहरूलाई घरपरिवारभित्रै सीमित राखेका छन् भने कुनैकुनै घटनाहरू मद्दामामिलासम्म पुगेर सार्वजनिक पनि भएका छन्। ज्येष्ठ नागरिकमाथि हुने जुनसुकै प्रकारका दुव्र्यवहार, हिंसा र उपेक्षा सामाजिक अपराध नै हो र त्यो दण्डनीय छ।

अन्तरपुस्तागत सम्बन्ध र ज्येष्ठ नागरिकको महत्त्व

अन्तरपुस्तागत सम्बन्धको महत्त्वलाई बुझ्न नसक्दा ज्येष्ठ नागरिकहरू दुव्र्यवहार, हिंसा र उपेक्षाका सिकार हुने गरेका छन्। मानव समाजको विकास निरन्तर पुस्तान्तरणको प्रक्रियाबाट अघि बढेको हुन्छ भन्ने यथार्थलाई मनन गर्ने र त्यसलाई व्यवहारमा उतार्ने सोच र मानसिकताको अभावले गर्दा अन्तरपुस्तागत दुरी बढ्दै गएको छ। शिक्षित अथवा अशिक्षित जेजस्तो भए पनि र आधुनिक पुस्ताले सभ्यताको मापदण्डभन्दा बाहिर राखेर हेरे पनि अन्ततः ज्येष्ठ नागरिकहरू घर, परिवार र समाजका आदर्श नै हुन्। समाज विकासको क्रममा ज्येष्ठ नागरिकहरू अनुभव, ज्ञान, सिप, सङ्घर्ष र सफलताका जीवन्त इतिहासका रूपमा रहेका हुन्छन्। ज्येष्ठ नागरिकहरू उमेरले मात्रै पाका होइनन्, ती हाम्रो समाजका मार्गदर्शक, संस्कार र सभ्यताका संवाहक र सामाजिक मूल्य र मान्यताका संरक्षक र संवर्धक पनि हुन्। ज्येष्ठ नागरिकको सम्मान गर्नु मानवताको आधारभूत मूल्य हो। त्यसैले ज्येष्ठ नागरिकको सम्मान गर्नुपर्छ। सम्मानले उनीहरूको आत्मसम्मानको संवर्धन हुन्छ, जीवनप्रति सकारात्मक भावना जागृत हुन्छ र मनोवैज्ञानिक रूपमा निराशा र कुण्ठाको निवारण हुन्छ।

ज्येष्ठ नागरिकको सम्मान र कदर

ज्येष्ठ नागरक ऐन २०६३ को दफा ३ मा ‘ज्येष्ठ नागरिकलाई सम्मान गर्नु सबैको कर्तव्य हुनेछ’ भनिएको छ। यसैगरी नेपालको संविधान २०७२ को धारा ४१ मा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हकको व्यवस्था गरिएको छ। सम्मान र सामाजिक सुरक्षाले ज्येष्ठ नागरिकको जीवनयापन सुरक्षित र मर्यादित बन्छ।

ज्येष्ठ नागरिकको सम्मानको आर्थिक र सामाजिक महत्त्व पनि छ। ज्येष्ठ नागरिकको सामाजिक र आर्थिक योगदान अमूल्य छ। आधुनिक पुस्ताको मूल्याङ्कनमा ज्येष्ठ नागरिकहरू शिक्षित र सभ्य नदेखिए पनि ती असल संस्कार र सामाजिक मूल्य र मान्यताका धरोहर हुन्। ज्येष्ठ नागरिकको आर्थिक र सामाजिक योगदानको सूक्ष्म मूल्याङ्कन गर्ने हो भने तीप्रति घर, परिवार, समाज र राज्यको पनि गहन आर्थिक र सामाजिक दायित्वबोध हुन्छ। घर, परिवार, समाज र राज्यले यो दायित्वबोध गर्नुपर्छ। सबै क्षेत्रबाट यस्तो दायित्वबोध गर्ने हो भने ज्येष्ठ नागरिकको जीवनयापन सहज, सुरक्षित र मर्यादित बनाउन मद्दत पुग्छ।

ज्येष्ठ नागरिकको सम्मानले घर, परिवार, समाज र राज्य आफैं सम्मानित हुन्छ र संस्कारयुक्त, सुसभ्य र सन्तुलित समाज निर्माणमा पनि मद्दत पुग्छ। आर्थिक रूपमा ज्येष्ठ नागरिकको योगदानलाई अवमूल्यन नगरी त्यसलाई प्रेरणाको रूपमा स्वीकार गर्दै सकारात्मक दृष्टिकोणले मूल्याङ्कन गर्ने हो भने घरको आर्थिक जग मजबुत बनाउन यथेष्ट मद्दत पुग्छ। त्यसैले ज्येष्ठ नागरिकको सम्मानलाई सामाजिक औपचारिकतामा मात्रै सीमित नराखी एउटा सभ्य, संस्कारयुक्त, सामाजिक मूल्य र मान्यतायुक्त एवं आर्थिक दृष्टिकोणले पनि सुदृढ समाज निर्माणको आधारको रूपमा ग्रहण गर्नु वाञ्छनीय हुन्छ।

ज्येष्ठ नागरिकले आफ्नो जीवनको ऊर्जाशील समयमा घर, परिवार, समाज र देशका लागि गरेको योगदान अमूल्य छ र सधैं अमूल्य नै रहन्छ। जीवनको उत्तरार्ध अथवा अवकाशपछिको जीवनमा पनि तिनका ज्ञान, अनुभव, सिप, सङ्घर्ष र सफलताका कथालाई प्रेरणाको रूपमा ग्रहण गर्ने हो भने युवापुस्ताले आफ्नो क्षमता र दक्षतामा अझ निखार ल्याउन सक्छन्, अझै परिमार्जित र परिष्कृत गर्न सक्छन्। जुन रूपमा युवाको शिक्षा, ज्ञान, सिप, क्षमता र दक्षतामा परिमार्जन र परिष्कार हुन्छ, सोहीअनुरूप उनीहरूको उत्पादनशीलता र उत्पादकत्वमा वृद्धि हुन्छ, जुन व्यक्तिगत र राष्ट्रिय समृद्धिका लागि सहयोगी बन्छ।

हामी र हाम्रो समाजले ज्येष्ठ नागरिकलाई निष्क्रिय र अनुत्पादक माने पनि यथार्थमा तिनीहरू निष्क्रिय र अनुत्पादक होइनन्। शारीरिक रूपमा केही हदसम्म निष्क्रिय रहे पनि तिनका सोच र विचार सक्रिय नै हुन्छन् र ती क्रियाशील नै हुन्छन्। ज्येष्ठ नागरिकको क्रियाशीलतालाई समाज र देश निर्माणमा उपयोग गर्ने सोच र नीति अवलम्बन गर्ने हो भने त्यो क्रियाशीलताबाट समाज र देश उल्लेख्य रूपमा लाभान्वित हुनसक्छ। ज्येष्ठ नागरिकको अमूल्य ज्ञान, अनुभव र सिपको उचित उपयोगबाट राष्ट्रिय उत्पादकत्व र आर्थिक उत्पादनशीलता वृद्धि गर्न सकिन्छ र नीतिगत तहमा हुने निर्णय प्रक्रियालाई प्रभावकारी बनाउन सकिन्छ।

समाज र राज्यको भूमिका

ज्येष्ठ नागरिकको अमूल्य ज्ञान, अनुभव, सिप, सङ्घर्ष र सफलताका कथाबाट आर्थिक र सामाजिक लाभ हासिल गर्नका लागि राज्यले उचित नीति अवलम्बन गर्नु जरुरी छ। ज्येष्ठ नागरिकलाई अनुत्पादक र आर्थिक बोझको रूपमा हेर्ने नकारात्मक दृष्टिकोण र नकारात्मक भाष्यमा परिवर्तन ल्याउनु जरुरी छ। ज्येष्ठ नागरिकलाई दयादृष्टिको होइन सम्मानको खाँचो छ। अनि ज्येष्ठ नागरिकलाई गरिने सम्मानको आर्थिक र सामाजिक महत्त्व कति छ भनेर सोच्ने र बुझ्ने क्षमताको विकास गर्नु जरुरी छ।  

ज्येष्ठ नागरिकहरू समाजका अमूल्य धरोहर हुन्। उनीहरूको सम्मानले परिवारमा आर्थिक स्थायित्व, सामाजिक सद्भाव, सांस्कृतिक निरन्तरता र मानवीय तथा सामाजिक मूल्य र मान्यताहरूको संरक्षण र संवद्र्धनमा अत्यन्तै महत्त्वपूर्ण भूमिका खेल्छ। त्यसैले हरेक व्यक्ति, समाज तथा राज्यले ज्येष्ठ नागरिकलाई सम्मान गर्ने संस्कारलाई निरन्तरता दिनु आवश्यक छ। संस्कार, सभ्यता र नैतिकताको संरक्षण र संवर्धन गर्दै सभ्य र समृद्ध समाज निर्माण गर्नका लागि ज्येष्ठ नागरिकप्रति सम्मानको भावना विकास गराउन विद्यालय तहदेखि नै ज्येष्ठ नागरिकसम्बन्धी पाठ्यक्रम समावेश गर्न राज्यको पहल जरुरी छ।

ज्येष्ठ नागरिक बोझ होइनन्, घर, परिवार, समाज र राष्ट्रका वैभव हुन्। त्यो वैभवले गौरवान्वित हुन सिकौं।

प्रकाशित: १३ असार २०८३ ०६:०५ शनिबार