विचार

विगत र आगत

बाइरोडको बाटोमा

२०४३ सालमा काठमाडौं नगर पञ्चायतको प्रधानपञ्चको उम्मेदवारी दिएका तत्कालीन प्रतिबन्धित नेपाली कांग्रेसका नेता हरिबोल भट्टराई निर्वाचित भएको क्षण हामीलाई जीवनमै सबैभन्दा धेरै खुसी लागेको थियो। उनी मुलुकमा २०४६ सालको जनआन्दोलन सम्पन्न हुने बेलासम्म त्यसमा बहाल थिए।

‘जनपक्षीय उम्मेदवार’ले त्यो बेला पञ्चायती शासन व्यवस्थामा हस्तक्षेप गर्ने नीति लिइरहेका थिए। राष्ट्रिय पञ्चायत सदस्य (अहिले प्रतिनिधिसभासरह) मा काठमाडौंबाट पद्मरत्न तुलाधर, झापाबाट द्रोणाचार्य क्षत्री, चितवनबाट जागृतप्रसाद भेटवाल निर्वाचित हुँदा हामीलाई लागेको खुसीको पनि कुनै सीमा छैन। अझ पद्मरत्नले गरेका भाषण हामी गोप्य रूपमा सुन्दै त्यतिबेला भित्रभित्रै विद्रोही भइरहेको समय थियो।

प्रत्येक युगले विद्रोहको उद्घोष गर्छ। २०४६ सालको जनआन्दोलन सफल भएपछि हाम्रा दु:खका दिन सकिएको अनुभूति भएको थियो। घरका छतछतबाट मानिसहरू ‘आयो आयो’ भनी कराइरहेको आवाज अहिले पनि बिर्सन सकेको छैन। त्यो आवाजसँगै मुलुकमा प्रजातन्त्र आयो। त्यो प्रजातन्त्र पनि हाम्रा निम्ति पर्याप्त भएन। २०५२ फागुन १ गतेदेखि फेरि मुलुकमा नयाँ विद्रोहको थालनी भयो– ‘दीर्घकालीन जनयुद्ध’। तत्कालीन नेकपा (माओवादी)को नेतृत्वमा गोरखा, रामेछाप, रोल्पा, सल्यानलगायतका जिल्लाबाट एकैसाथ सुरु भयो अर्को यो अभियान। तिनले प्रहरी चौकीमा आक्रमण गरे, बैंक लुटे र लुटे प्रहरीका हतियार।

त्यसले एक दशकसम्म मुलुकलाई प्रभावित गरिरह्यो। हरेक दिन रेडियोमा बम विस्फोट, प्रहरी चौकीमाथि आक्रमण, प्रत्याक्रमण, मृत्यु आदिका खबर हामीले सुनिरह्यौं। हामीलाई हाम्रै देशमा सहजै घुमफिर गर्ने रहर थियो। हरेक दिनको समाचारमा मृत्युको खबर सुन्न मन थिएन। शान्ति नै त्यो बेलाको अपेक्षा थियो।

२०६२/६३ को जनआन्दोलन हुँदा पनि त्यस्तै गह्रौं स्थिति थियो। माओवादी शान्ति प्रक्रियामा आयो। मुलुकबाट राजतन्त्र बिदा भयो। सन् २००७ मा संसारबाट बिदा भएका विभिन्न संस्थामध्येमा नेपाली राजतन्त्र पनि थियो। २०६४ पुस १३ शुक्रबारको दिनबाट राजतन्त्र मुलुकको राजनीतिबाट हरायो। हामी सबैलाई अब राजतन्त्रको अन्त्यपछि मुलुकको प्रगति हुन्छ भन्ने लागेको थियो। देशको प्रगतिको बाधक यही हो भन्ने थियो।

समय त्यतिमै अडिएन। नयाँ संविधान जारी भयो। संविधानसभाका दुई–दुईवटा निर्वाचन मुलुकले बेहोर्‍यो। २०७२ असोज ३ मा संविधान जारी भएपछि झनै अवस्था गम्भीर बन्यो। तत्कालै मुलुकमा नाकाबन्दी लाग्यो। हामी फेरि ढुंगेयुगमा फर्कियौं। खाना पकाउने ग्यासको अभाव थियो। दाउराको प्रयोग सुरु भयो। पेट्रोलियम पदार्थ सहजै पाउन सक्ने अवस्था थिएन।

हामीले त्यो समय पनि पार गर्‍यौं। स्थिति सहज भयो। यसबिचमा फेरि पनि असन्तुष्टि चुलिन थाले। मुलुकमा लोकतन्त्र ल्याउने दलहरूको अधोगति सुरु भयो। मुलुक चरम दलीयकरणतर्फ उन्मुख भयो। बिस्तारै दल मात्र होइन, गुटप्रधान हुँदै गए। मानिस दिनानुदिन विरोधी बन्दै गए।

दलहरूलाई कहिल्यै स्थिति खराब हुन्छ भन्ने लाग्दैनथ्यो। नेताहरू भाषण गरेर थाक्दैनथे। घण्टौं तिनले बोलिरहेका हुन्थे। मानिस तिनका भाषण सुन्नै छाडेका थिए। अब आयो २०८२ को समय। एक दशकमा मुलुक भिन्न भइसकेको रहेछ। २०८२ भदौ २३ मा मुलुकमा आएको जेनजी अभियान र त्यसको भोलिपल्ट २४ गतेको लुटपाट, आगजनी, तोडफोडपछिको स्थिति हाम्रो अगाडि छँदै छ।

त्यसपछिका ६ महिनामा बनेको अन्तरिम सरकारले निर्वाचन गराई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेको पनि दुई साता पुगिसकेको छ। समय त्यसरी नै अगाडि बढिरहेको छ, जसरी हामीले चार दशकअघि देखेका थियौं। मानिस असाध्यै खुसी छन्। प्रधानमन्त्री हिँडेको, लाएको, खाएको अनेकन् रिल्स, टिकटक, सर्टस् लोकप्रिय छन्। कुनै बेला पुष्पकमल दाहाल र डा. बाबुराम भट्टराईको एक झल्को पाउन मरिमेट्नेहरू नयाँ प्रधानमन्त्रीका लागि मरिमेटिरहेका छन्। 

प्रत्येक समय मानिस असन्तुष्ट छन्। २०४३ साल ताकाको असन्तुष्टि आफ्ना ठाउँमा थियो। त्यो असन्तुष्टिले जनपक्षीय उम्मेदवारलाई निर्वाचित गरिएको थियो। २०८३ साल लाग्न दुई दिन बाँकी रहेको यो समयमा यी पंक्ति लेखिरहँदा मेरो मानसपटलमा बितेका चार दशक सिनेमाको रिलझैं घुमिरहेका छन्। मानिस फेरि पनि असन्तुष्ट छन्।

हामी त्यतिबेला हरिबोल भट्टराई काठमाडौं नगर पञ्चायतको प्रधानपञ्च हुँदा जति खुसी भएका थियौं, त्यस्तै खुसी यतिबेला मानिसहरू नवनिर्वाचितहरूलाई देखेर भइरहेका छन्। हामी पद्मरत्न, द्रोणाचार्य र जागृतहरू राष्ट्रिय पञ्चायतमा पुग्दा परिवर्तनका पदचापलाई निहालिरहेका थियौं। अहिले पनि मानिसहरू आशावादी नजरले हेरिरहेका छन्।

उत्कट चाहना प्रत्येक युगका हुन्छन्। हामी प्रत्येक परिवर्तनपछि असन्तुष्ट रह्यौं। हामीले केही खोजिरहेका थियौं, त्यो पायौं पनि। तर, हामी त्यसमा सन्तुष्ट रहन सकेनौं। नागरिक त कहिल्यै सन्तुष्ट हुँदैन। विकासले मात्र पनि तिनलाई पुग्दैन। बाआमा पुस्ताका आफ्नै चाहना हुन्छन्। नयाँ पुस्तालाई त्यतिले पनि पुग्दैन।

म २०६६ सालमा सिंगापुरमा केही महिना अध्ययनका निम्ति पुग्दा त्यहाँको विकासले अत्यन्तै आह्लादित भएको थिएँ। मेरोजस्तै अवस्था भारत, बंगलादेश, पाकिस्तान आदिबाट आएकाहरूको पनि थियो।  चिल्ला सडक, चिटिक्क परेका रेल, आलिसान भवन र व्यवस्थित प्रणालीले हाम्रोजस्तो अव्यवस्थाबाट गएको व्यक्तिलाई प्रभाव पार्ने नै भयो। तर, सिंगापुरेहरू भने गुनासो मात्र गरेको सुन्थेँ। कहिलेकाहीं त ती यतिसम्म भन्थे, ‘विदेशीहरू धेरै भएर रेलमा पनि हामीलाई साँघुरो भइरहेको छ।’

ली क्वानयुले बालुवामा सिंगापुरको समृद्धि ल्याउने बेलाको संघर्ष अहिलेको पुस्ताका निम्ति ठुलो अर्थ राख्ने हुन सक्दैन। त्यो संघर्ष त्यही पुस्ताको निम्ति हो। बाँकी नयाँ पुस्ताले फेरि आफ्ना निम्ति गर्ने हो। त्यसो त, हाम्रै मुलुकमा पनि हामीमध्ये अझै केटाकेटीमा खाली खुट्टा स्कुल गएको सम्झना गरिरहेका छौं। तर, अहिले जुत्ता बनाउन आत्मनिर्भर भइसकेको नेपालका नागरिकका निम्ति हिजोको इतिहास ठुलो नहुन सक्छ। इतिहासको ब्याज खाएर वर्तमान पुस्ता बाँच्न पनि सक्दैन। त्यो ‘मेरा बाजेले घिउ खाएका थिए, मेरो हात सुँघ’ भनेजस्तै हुने रहेछ।

हामीमध्ये कैयन्ले तीन–चार दिन लगाएर हिँडेपछि बल्ल सडक देखेका छौं। कालोपत्र सडक देख्न हामीलाई कैयन् वर्षको संघर्ष गर्नुपरेको थियो। मकवानपुरको भीमफेदीबाट काठमाडौंमा गाडी मानिसले काँधमा बोकेर ल्याएको भन्ने इतिहासको जानकारी अहिले सडकमा कार लिएर दौडिरहेको पुस्ताका निम्ति सामान्य ज्ञानबाहेक केही होइन। त्यसैले त यसपटक कैयन्ले भनेको पनि सुनियो– ‘सडक निर्माण विकास हो र ?’

वास्तवमा हामी अब यस्तो समयमा आइपुगेका छौं, जहाँ विकास हाम्रा निम्ति प्राथमिकताको विषय होइन। बिजुलीको उज्यालो त्यसै पुस्ताका निम्ति मात्र महत्वको हुन्छ, जसले मट्टितेलको कालो धुवा आउने टुकीमा जीवन गुजारेको छ। बिजुलीको उज्यालोमा जन्मिएको व्यक्तिका निम्ति यो विकास कुनै ठुलो उपलब्धि होइन। बिजुलीको उज्यालोमा बस्न पाउनु उसको अधिकार हो। यसका निम्ति उसको अघिल्लो पुस्ताले कति संघर्ष गरेको छ भन्ने पक्षको के अर्थ हुन्छ र ?

नेपाली भाषी एकजना भारतीयले गत भदौको जेनजी अभियानपछि मलाई भने, ‘सिंहदरबार पनि जल्यो भन्दा हामीलाई साह्रै नरमाइलो लागेको छ।’ तर, ‘म नेपाल हाँसेको हेर्न चाहन्छु’ भन्दै सिंहदरबारमा आगो लगाउन जाने पुस्ताले पक्कै पनि आफ्नो भविष्यको रेखा कोरेको हुनुपर्छ। हामीले हिजोजस्तै परिवर्तनको आकांक्षा राखेको हुन सक्छ। ती भारतीय मित्रलाई मैले केही भन्न सकिनँ। यहाँ नेपालमा त यस्ता कति बनाइन्छ कति भन्ने सुनेकै भरमा हामी पुलकित छौं।

निर्वाचनपछि नयाँ सरकार बन्यो। संसद्को एउटा अधिवेशन पनि सकियो। प्रधानमन्त्री बालेन्द्र शाहले एक शब्द पनि संसद्मा बोलेनन्। प्रतिपक्षी नेकपा (एमाले) नेता शंकर पोखरेलले प्रश्न गरे, ‘संसद्मा प्रधानमन्त्री बोल्दै नबोल्ने हो त ?’

के गर्ने, जनताले यस्तै व्यक्तिलाई मन पराए। कुनै बेला बोलेको बोल्यै गर्ने नेतालाई तिनले मन पराए। अहिले टक्क चस्मा लगाउने, परैबाट हात हल्लाउने र बोल्दै नबोल्ने नेताबाट आफ्नो भविष्य सुनिश्चित भएको तिनले ठानेका छन्।

म यो बेला केही बोल्न चाहिनँ। हिजो हामी खुसी भएकै हौं। आज पनि त्यतिकै खुसी भएका छौं।  पक्कै पनि नेपालीले यो परिवर्तनबाट आशा राखेका छन्। त्यो आशा हिजो पनि राखिएको थियो। त्यसको परिपूर्ति भएन भने नेपाली रोकिएलान् र ? नेपालीको खोजी जारी रहनेछ प्रत्येक पुस्तामा।

प्रकाशित: २९ चैत्र २०८२ ०८:५४ आइतबार