विचार

स्वास्थ्य समस्या समाधानमा सूक्ष्माणु

मानव र ब्याक्टेरिया, भाइरस, ढुसीजस्ता सूक्ष्माणुबिचको अन्तरसम्बन्ध जीवविकासको प्रारम्भसँगै सुरु भएको देखिन्छ। एउटा स्वस्थ मानिसको शरीरमा मानवीय कोषभन्दा अधिक संख्यामा ब्याक्टेरिया हुन्छन्। पाचन प्रणालीमा रहेका झन्डै एक किलो सूक्ष्माणु अनि छालालाई छपक्क ढाकेर बसेका अर्बौं जीवाणुले हामीलाई स्वस्थ जीवनयापनमा मद्दत गर्छन्।

लाखौं प्रजातिका ब्याक्टेरिया, भाइरस अनि फंगसहरू अस्तित्वमा रहे पनि सीमित जातका सूक्ष्माणुहरू मात्र मानवका लागि घातक छन्। समाजमा केही व्यक्ति खराब भए भन्दैमा सबै मानिसलाई अनैतिकको बिल्ला लगाउनु जस्तै हो, ब्याक्टेरियाको नामबाटै तर्सनु। असंख्य सूक्ष्माणुमध्ये कुनै लाभप्रद, धेरै तटस्थ अनि केही घातक छन्। च्याउ, दही, गुन्द्रुक, जाँड–रक्सी अनि बालीनालीको गुणात्मक अभिवृद्धिदेखि उद्योगधन्दामा समेत सूक्ष्माणुले भूमिका खेलेका छन्।

रोगव्याधिका कारण धेरैको ज्यान लिने भए तापनि समष्टिगत मूल्यांकनले सूक्ष्माणुलाई मानिसको मित्र मान्न बाध्य बनाएको छ। प्रयोगशालामा प्रतिनिधि जीवका रूपमा सूक्ष्माणुको प्रयोग गरी आयुर्विज्ञानका जटिल समस्या समाधान गरिएका हजारौं उदाहरण छन्। बायोलोजिकल साइन्सका प्रयोगशाला सूक्ष्माणुको प्रयोगबिना चल्दैन भन्दा फरक पर्दैन। यसरी प्रत्यक्ष र अप्रत्यक्ष रूपमा मानवलाई हजारौं हिसाबले फाइदा दिने सूक्ष्माणुहरूले खराब प्रकृतिका ब्याक्टेरिया नियन्त्रणका लागि के–कस्तो योगदान गरे भन्ने पाटो पस्कनु यो आलेखको लक्ष्य रह्यो।

उन्नाइसौं शताब्दीको उत्तरार्धसम्मको इतिहास हेर्ने हो भने लडाइँमा तत्कालै मारिने जनसंख्याभन्दा युद्धमा लागेका चोटपटकको संक्रमणलाई बिसेक पार्न नसकेर थलिई मर्नेको संख्या अधिक हुन्थ्यो। चोट लागेका सिपाहीहरू सूक्ष्माणुको संक्रमणबाट उन्मुक्ति पाउन नसकी मर्थे। घाउ लागेको ठाउँमा वातावरणमा यत्रतत्र रहेका ब्याक्टेरियाले संक्रमण गर्नु अस्वाभाविक भएन। शरीरमा अन्तर्निहित भगवान्ले बनाएको औषधि कारखानारूपी प्रतिरक्षा प्रणालीले संक्रमणकारी सूक्ष्माणुलाई निस्तेज गर्न नसके जीवाणुको संख्या अनियन्त्रित बन्छ, अन्ततः रोगी मर्छ।

ब्याक्टेरियाको नियन्त्रण अहिलेको क्यान्सरको औषधि बनाउन वैज्ञानिकहरूले गरेको संघर्षजस्तै थियो त्यस बेला। धेरै प्रयासपछि औषधि बनाउने क्रममा वैज्ञानिकले एक अनर्थ देखे। काम गर्दा गर्दै डा. अलेक्जेन्डर फ्लेमिङले ल्याबका ब्याक्टेरियालाई ‘पेनिसिलियम नोटाटम’ नामको ढुसीले मारेको देखे। बृहत् उत्खननपछि उक्त ढुसीमा पाइने तत्वले ब्याक्टेरियालाई मारेको पाइयो। उक्त रासायनिक तत्वको नाम ‘पेनिसिलिन’ राखियो। ढुसीको खेती गरी संसारलाई चाहिएको मात्रामा प्रभावकारी एन्टिबायोटिक पेनिसिलिन उत्पादन गर्न सकिने भयो। संक्रमणबाट मर्नेको संख्या ह्वात्तै घट्यो। पछि भिन्न जातका ब्याक्टेरिया मार्न विभिन्न प्रजातिका एन्टिबायोटिक्स बने।

विभिन्न किसिमका ब्याक्टेरियालाई पेनिसिलिनले नास गर्न सक्ने भए पनि त्यसबेला महामारीको रूपमा रहेको क्षयरोग (टिबी) को कारक सूक्ष्माणुलाई भने उक्त तत्वले छुन सकेन। अविरल प्रयासपछि सन् १९४५ मा क्षयरोगको औषधि ‘स्ट्रेप्टोमाइसिन’को आविष्कार भयो। प्रारम्भिक दिनको अचुक औषधि केही वर्षपछि नै क्षयरोगका लागि निकम्मा साबित भयो। औषधिले नछुने सूक्ष्माणुको परिवर्तित अवस्थालाई वैज्ञानिक भाषामा ‘एन्टिबायोटिक रेसिस्टेन्ट’ भनिन्छ।

एउटा एन्टिबायोटिक्सले रोगलाई नियन्त्रण गर्न नसक्ने भएपछि अर्को औषधि बनाउनु अनुसन्धानकर्ताको दायित्व बन्छ। औषधि विकासका धेरै चरण पार गर्दै सन् १९७० को मध्यतिर ‘रिफ्याम्पिन’ भन्ने अर्को औषधि बजारमा आयो। उक्त औषधिले धेरै वर्षसम्म क्षयरोगीलाई निको पार्‍यो तर प्रभावकारिता भने घट्दै गयो। लामो समय अनि उच्च मात्राको दबाइ सेवन अनिवार्य बन्यो। हुँदाहुँदै पछिल्लो समयमा उक्त औषधि पनि विगतका मेडिसिनझैं टिबी नियन्त्रणमा प्रभावकारी हुन सकेन। औषधिको क्षमता ह्रास भयो। विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०१६ मा मात्र १६ लाख मानिस क्षयरोगका कारण मरे।

क्षयरोग लगाउने ब्याक्टेरिया हिजो पनि ‘माइकोब्याक्टेरियम ट्युबरकुलोसिस’ थियो र आज पनि त्यही नै। तर, हिजो ठिक हुने औषधिले आज टिबीका बिरामीलाई निको पार्न नसक्नुमा सूक्ष्माणुले आफूलाई परिमार्जन गरी औषधिसँगको प्रतिरोधात्मक क्षमता विकास गर्नु हो। भाइरसले आफूलाई परिमार्जन गर्दा धेरै किसिमका एन्टिबायोटिक बने, औषधिको परिमार्जन भयो। विगतको प्रभावकारी औषधिलाई छक्याएर निरोधक क्षमता विकास गर्ने अनि प्रचलित दबाइले विनाश गर्न नसक्ने जीवाणुलाई ‘सुपर बग’ भनिन्छ।

दबाइले लगानीअनुरूपको प्रतिफल दिन नसक्ने अवस्थामा फर्मास्युटिकल कम्पनीहरू एन्टिबायोटिक्स बनाउन शिथिल देखिए। नाफा कमाउन नसक्ने भएपछि औषधि कम्पनीहरू नवीन एन्टिबायोटिक्स विकासप्रति आशावादी देखिएका छैनन्। औषधि कम्पनीहरू नवीन औषधि बनाउन अनिच्छुक भएको अवस्थामा विगतझैं क्षयरोगले पुनः महामारीको रूप लिने सम्भाव्यता देख्छ, विश्वव्यापी स्वास्थ्य अनुगमन निकाय विश्व स्वास्थ्य संघ।

सूक्ष्माणुमा आएको परिमार्जनका कारण विगतका अचुक एन्टिबायोटिक पछिल्ला दिनमा कमजोर साबित भए। सन् २०२२ मा जर्नल ‘ल्यान्सेट’मा प्रकाशित एक अध्ययनले एन्टिबायोटिक्सको निकम्मापनका कारण सन् २०१९ मा मात्र पनि ४५ लाख मानिस मरेको देखायो। ब्याक्टेरिया नियन्त्रणका लागि तत्कालै केही गर्न नसके अबको २५ वर्षपछि बर्सेनि एक करोड मानिस ‘एन्टिबायोटिक्स’ प्रतिरोधका कारण मर्ने पक्का देखिन्छ भन्ने एक प्रतिवेदनको निष्कर्ष छ। सूक्ष्माणुहरू एक व्यक्तिबाट अर्कोमा सजिलै सर्ने भएपछि रोगीको संख्या बर्सेनि बढ्छ नै।

औषधिले नछुने सूक्ष्माणुको सर्वनाशका लागि विशिष्टीकृत दबाइ बनाउने काममा चुनौती देखिएकै बेला माटोमा पाइने एक ब्याक्टेरियामा आन्तरिक प्रक्रियाबाट स्वतः उत्पादन हुने एन्टिबायोटिक्सले अन्यथा अजरामर देखिएको ‘सुपरबग’लाई विनाश गरेको पाइयो। खेतबारीमा पाइने ‘स्ट्रेप्टोमाइसिज’ प्रजातिको ब्याक्टेरियामा पाइने चार भिन्न जिनहरूले चार किसिमका एन्टिबायोटिक्स अनि एक विशिष्ट किसिमको प्रोटिन उत्पादन गर्ने गरेको देखियो। उक्त ब्याक्टेरियामा उत्पादित रासायनिक तत्वहरूको मिश्रणले जस्तोसुकै चरित्रको ‘सुपरबग’लाई निस्तेज पार्ने ब्यहोरा गत हप्ता मात्र जर्नल ‘नेचर’मा प्रकाशित गरे वैज्ञानिकहरूले। माटोको ब्याक्टेरियाले उत्पादन गर्ने एन्टिबायोटिक्स र प्रोटिनको मिश्रणले जटिल प्रकृतिका सुपरबगको आन्तरिक बायोलोजिकल प्रक्रियालाई भिन्नभिन्न स्थानमा आक्रमण गर्ने भएकाले सबै किसिमका अजरामर सूक्ष्माणुलाई सत्यनाश गरी मेडिकल साइन्सको समस्यालाई सदाका लागि समाधान गर्ने ठान्छन् ‘लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रोपिकल मेडिसिन’का डा. ब्रेन्डन रेन। जटिल देखिएको सूक्ष्माणुको जैविक मार्गका धेरै स्थानमा प्रहार गर्ने भएकाले सुपरबगबाट मुक्ति हुन सक्ने ठान्ने विज्ञहरू धेरै देखिए।

माटोमा बस्ने ब्याक्टेरियाले उत्पादन गर्ने रासायनिक तत्वले जटिल चरित्रका विषाक्त सूक्ष्माणुलाई विनाश गर्न सक्ने ब्यहोराको उजागरसँगै हाम्रो समीपमा भएका जीवाणुको उपादेयतालाई पहिल्याउन सक्ने हो भने धेरै किसिमका रोगहरू निको पार्न सकिने देखियो। एन्टिबायोटिक्सको अनुसन्धानमा औषधि उत्पादकहरूले उत्साह देखाउन छोडेको अवस्थामा यो आविष्कारले आयुर्विज्ञानको क्षेत्रमा अहम् भूमिका खेल्ने देखियो।

केही वर्षअघि भाइरसले क्यान्सरका कोषलाई नाश गरी अर्बुदरोगीको जीवन लम्ब्याएको ब्यहोरा वैज्ञानिकहरूले प्रकाशित गरे। सबै किसिमका क्यान्सरका रोगीका लागि समान प्रभावकारिता नदेखिए पनि भविष्यमा महारोगको सम्भाव्य इलाज हुन सक्ने ठान्दै छन् वैज्ञानिकहरू भाइरसलाई। विज्ञले सोचेअनुसारको सफलता हासिल भएको खण्डमा भाइरसलाई औषधिको रूपमा प्रयोग गरी क्यान्सरबाट मुक्ति पाउने आशमा वैज्ञानिकहरू कार्यरत छन्।

उल्लिखित तथ्य अनि तथ्यांकलाई विश्लेषण गर्दा पृथ्वीमा खराब र असल दुवै चरित्रका भाइरस, ब्याक्टेरिया अनि ढुसीहरू छन्। खराब जीवाणुलाई नियन्त्रण गर्ने असल जीवाणुसमेत प्रकृतिले दिएको पाइयो। डा. फ्लेमिङले ढुसीको खेती गरेर ब्याक्टेरिया मार्ने औषधि बनाए भने हालै प्रकाशित अनुसन्धानले माटोमा पाइने सूक्ष्माणुको प्रयोगमार्फत अन्यथा दीर्घजीवी देखिएका ‘सुपरबग’को समेत नियन्त्रण सम्भव देखियो। क्यान्सरजन्य कोषलाई खान सक्ने भाइरसलाई त बाघखाने बोक्सीको संज्ञा दिँदा पनि फरक पर्दैन।

प्रकृतिले दिएका जडीबुटी मात्र होइनन्, खराब ठानिएका सूक्ष्माणुहरूको चरित्रसमेत ठम्याउन सके आयुर्विज्ञानका जटिल समस्याबाट समेत छुटकारा पाउन सकिने देखियो। आधुनिक विज्ञानको रूपमा रहेको कृत्रिम बुद्धिमत्ताको समेत सहयोगमा वातावरणमा रहेका विविध चरित्रका सूक्ष्माणुको उचित पहिचान र प्रयोग गर्न पाए नसोचेका स्वास्थ्य समस्याहरू पनि समाधान गर्न सकिन्थ्यो कि?

प्रकाशित: २३ असार २०८३ १०:०४ मंगलबार