विकास वा सुधारको आधार त्यहाँको व्यवस्था वा प्रणालीमा निर्भर हुन्छ। हाम्रो शिक्षा प्रणालीमा सुधारका खातिर बारम्बार नीति तथा कार्यक्रम परिवर्तन भइरहेको पाइन्छ। यी नीति र परिवर्तन अस्थिर निर्णय तथा स्पष्ट दृष्टिकोणको अभावमा आधारित हुँदा विद्यार्थी, अभिभावक, शिक्षक र शिक्षासेवी सबैमा असहजता उत्पन्न भएको प्रत्याभूति हुन्छ।
हुन त वर्तमान सरकार गठन भएपछि केही क्षेत्रमा सुधारका संकेतहरू देखा पर्न थालेका छन्। विद्यालय शिक्षामा लिइएका परीक्षा प्रणालीमा होस् वा विद्यार्थीका अतिरिक्त क्रियाकलापका पक्षमा होस् अथवा अन्य क्षेत्रमा सार्वजनिक खर्च कटौती गर्ने प्रयत्नका कुरा हुन्, सुधारका प्रयास भइरहेका छन्। सुकुम्बासीलाई सार्वजनिक, सांस्कृतिक तथा धार्मिक स्थलबाट हटाई अन्यत्र बस्ती बसाल्ने प्रयत्न पनि भइरहेको छ। सुशासनप्रतिको प्रतिबद्धता र नागरिक सेवामा सुधार गर्ने प्रयासले सर्वसाधारणमा आशाका किरण देखा पर्दै आएका छन्।
शिक्षा नीति र कार्यक्रममा व्यापक सुधारका सवालहरू उठिरहेकै छन्। पाठ्यक्रम र पाठ्यपुस्तक समयसापेक्ष निर्माण गर्ने विषयमा पनि बहस चलिरहेको छ। विद्यालयदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रम नेपाली समाज, सामाजिक मूल्य-मान्यताअनुरूप तथा विश्व मापदण्डअनुकूल हुने गरी ठोस नीतिगत व्यवस्था र रणनीतिक योजना निर्माणतर्फ पनि वर्तमान सरकार उन्मुख हुँदै गरेको पाइन्छ।
अहिलेसम्मको हाम्रो शिक्षा प्रणालीले नेपाली समाज, अभिभावक, विद्यार्थी र शिक्षकको जीवन, मूल्य, आकांक्षा र आवश्यकताप्रति खासै चासो राखेको देखिँदैन। शैक्षिक अनुसन्धान र शैक्षिक नीतिका विषयमा धेरै समयदेखि अलमलिँदै आएको पाइन्छ। मुलुकमा लोकतन्त्र र संघीयता आएपछि पनि स्थानीय समुदाय र स्थानीय संस्कृतिलाई विकासका स्रोतका रूपमा परिचालन गर्न नसकिएको संकेत मिल्छ। शिक्षा क्षेत्रमा भएका धेरैजसो बहस असफलतातर्फ उन्मुख बने र सुधारका पहल हुन सकेनन्। विगतका सरकारले विद्यार्थीको कमजोर नतिजाप्रति पनि झारा टार्ने काम गरे।
शिक्षाको असली जग निर्माण गर्ने संस्कृति र समाजको उत्थानतर्फ ध्यान पुर्याएको देखिएन। फलत: आज हामीले भोगिरहेको शिक्षाको सबैभन्दा ठुलो संकट यही हो। अत: वर्तमान सरकारले अविलम्ब सुधारतर्फ उन्मुख हुन विलम्ब गर्नुहुँदैन। समयको परिवर्तनसँगै शिक्षाले पनि निकै फड्को मार्दै आएको कुरा विश्वमानचित्रको शिक्षाले पुष्टि गरिरहेको छ। समय, समाज, संस्कृति र राजनीतिक परिवर्तनले शिक्षामा निकै प्रभाव पार्दै आएका छन्। प्राचीन गुरुकुल शिक्षा प्रणालीको प्रभावबाट विकसित हाम्रो पूर्वीय शिक्षा प्रणालीको स्वरूप पनि क्रमशः बदलिँदै आएको छ। त्यही शिक्षाको विकसित स्वरूप बदलिँदै आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डिजिटल प्रविधि, अनलाइन शिक्षण तथा विश्वव्यापी सूचना प्रवाहको युगसम्म आइपुगेका छौं। यसरी शिक्षा ज्ञानको मार्ग हुँदै प्रविधिको उच्चतम विकासका साथै राष्ट्र निर्माण, सामाजिक रूपान्तरण, आर्थिक विकास तथा आधुनिक सभ्यताको चरम बिन्दुतर्फ अघि बढिरहेको छ।
नेपालको सन्दर्भमा भन्नुपर्दा अझै प्रविधिमैत्री शिक्षा प्रणाली बन्न सकिरहेको छैन। शिक्षा नीतिमा व्यावहारिक, प्राविधिक तथा कृत्रिम बुद्धिमत्तामा (एआई) आधारित शिक्षाको अभाव छ। प्रविधिको तीव्र विकासका कारण विश्व धेरै अगाडि बढिसकेको छ। हामी अझै पुरानै शैली र सोचमा अलमलिरहेका छौं। यस्तो गतिशील अवस्थामा हाम्रो शिक्षालाई अद्यावधिक बनाइराख्ने उच्च सोचका साथ अगाडि बढ्न जरुरी छ। स्थानीय तहदेखि नै शिक्षाका मूलभूत विषयमा व्यावहारिक र सान्दर्भिक दिशाबोध गराई आफ्नो परिवेश र मान्यतासँगै विश्वमानचित्रसँग जोडिन पुग्नुपर्छ। शिक्षाका निष्प्रभावी र अप्रासंगिक विधिलाई छाडेर उपयुक्त मार्ग पहिल्याउनु नै आजको खाँचो हो। यसका लागि किताबी ज्ञान मात्र नभएर प्रविधिमैत्री हुँदै कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको अनुसरण गर्दै आधुनिक श्रमबजारको मागलाई समेत आकलन गर्न सक्ने शिक्षा चाहिएको छ।
आजको नवयुवा पुस्ताका लागि विश्वभर एआईले रोजगारीको प्रकृतिमै परिवर्तन ल्याइदिएको छ। परम्परागत श्रमप्रधान काम क्रमशः निष्प्रभावी बन्दै गएका छन्। डाटा प्रविष्टि, सामान्य लेखा, बैंकिङ सेवा, कल सेन्टर, उत्पादन लाइनका काम, टिकट बुकिङ, कागजी प्रशासनिक कार्यलगायतका क्षेत्रमा पनि मानवीय श्रम घट्दै गएको छ। यसरी एआईले गरेको रूपान्तरणले भविष्यमा धेरै पेसा हराउने सम्भावनासमेत देखाउँछ। अबको विश्वबजारमा एआई इन्जिनियर, डाटा विश्लेषक, साइबर सुरक्षा विज्ञ, डिजिटल शिक्षण सामग्री निर्माता, सफ्टवेयर विकासकर्ता, अनलाइन परामर्शदातालगायत जनशक्तिको खाँचो बढी पर्नेछ।
हाम्रा विकासका सम्भावनाका क्षेत्रमा कृषि, पर्यटन, जलस्रोत, जडीबुटीलगायत अत्यन्त उपयुक्त छन्। हाम्रा लागि स्रोतको खाँचो देखिँदैन, बरु व्यवस्थापनको अवस्था अत्यन्त कमजोर छ। नेपालको विकासका लागि सरकारले कृषि क्षेत्रलाई रणनीतिक रूपमा उपयोगी बनाउँदै लैजानुपर्ने हुन्छ।
नेपालको कृषि क्षेत्र पछाडि पर्नुको मूल कारण यहाँका हजारौं हेक्टर जमिन बाँझै रहनु हो। गाउँहरू रित्तिँदै गएका छन्। खाद्यान्नको आयात अत्यधिक छ। यसले हाम्रो अर्थतन्त्र कमजोर बन्दै जानुमा नीतिगत कमजोरी ठुलो रहेको देखाउँछ। सरकारले किसानलाई बाँझो खेतबारी उपयोगमा ल्याउन प्रोत्साहनस्वरूप अनुदान दिने, सिँचाइको प्रबन्ध गर्ने, म खादको व्यवस्था गर्ने तथा कृषि औजारको उपलब्धता सुनिश्चित गर्नेजस्ता काम गर्न जरुरी छ।
हाम्रो शिक्षामा किसानमाथि अपेक्षित ध्यान दिएको देखिँदैन। पाठ्यपुस्तकमा खेतीमा काम गर्ने कृषकको महत्त्व र उनीहरूको योगदानको प्रशंसा गरिएका पाठहरू समावेश हुनु जरुरी छ। यसले खेतीमा काम गर्नु पनि सम्मानको विषय रहेछ भन्ने कुरा बालबालिकाले सानैदेखि बुझ्न सकुन्। केवल सरकारको रेमिटेन्स र आयातमा आधारित अर्थतन्त्रले दीर्घकालीन समृद्धि हासिल गर्न सक्दैन भन्ने कुरा बुझ्नु जरुरी छ। यी सबै क्षेत्रमा प्रविधिको पहुँच भने हुनुपर्छ।
देशको औद्योगीकरण र विकासका लागि पनि प्रविधियुक्त जनशक्ति चाहिन्छ। सिप विकास प्रणाली बलियो हुनुपर्दछ। एआई प्रणालीको प्रवेशको प्रभाव त्यहाँ पनि पर्नेछ। हाम्रो ठुलो जनसंख्या न्यून सिप र श्रममा आधारित छ। एआई प्रविधि बढ्दै जाँदा यस्ता काम विस्थापित हुने सम्भावना बढी हुन्छ। बढ्दो एआई प्रविधिका कारण शिक्षक विस्थापित हुन्छन् भन्ने चर्चा पनि सुनिन्छ। तर त्यस्तो सम्भावना तत्काल देखिँदैन। यस प्रविधिको विकास भए पनि सधैं शिक्षकको भूमिका महत्त्वपूर्ण रहन सक्छ। तर आजको शिक्षा क्षेत्र एआईको प्रभावबाट अलग रहन सक्दैन। अनलाइन कक्षा, भर्चुअल शिक्षा, स्वचालित मूल्यांकन, डिजिटल पुस्तकालयजस्ता अभ्यास त झनै तीव्र गतिमा बढ्दै आएका छन्।
आजको युग प्रविधिमैत्री युग हो। प्रविधिमाथिको पहुँच आजका केटाकेटीको अधिकार बनिसकेको छ। यो एआई र अल्गोरिदमको युग बन्न गएको छ। सिंगो समाज नै प्रविधिले बनाएको नयाँ संरचनाभित्र प्रवेश गरिसकेको भान हुन्छ। प्रविधिको सुविधाले मानिसलाई अल्छी बनाउँदै गएको देखिन्छ। अल्गोरिदमले हामीलाई चाहिने सामग्री र सूचना दिने मात्र होइन, आफ्नो अनुकूलताअनुसार सामाजिक सञ्जालमार्फत विभिन्न सामग्री हामीमाथि लाद्न पनि खोज्छ। यसले बिस्तारै मानिसको मनोवृत्तिसमेत परिवर्तन गर्ने काम गर्दछ। कुन विषयले उत्साह जगाउँछ र कसरी आक्रोश पैदा गराउन सकिन्छ भन्ने कुरामा पनि अल्गोरिदमले आफ्नो प्रभाव जमाउँदै गएको छ।
(लेखक शिक्षाविद् हुन्)
प्रकाशित: २० आश्विन २०८३ ०९:१९ मंगलबार