विचार

मधेस नेपालमा छ

गत असोज २९ गते नन् रेसिडेन्ट नेपालीे (एनआरएन) विश्व सम्मेलनको उद्घाटन समारोहमा राष्ट्रपति रामवरण यादवले मधेसमा जारी गतिविधिप्रति गहिरो चिन्ता व्यक्त गरे । मधेस आन्दोलन सुरु भएको दुई महिना बितिसक्दा पनि त्यसको समाधान हुन नसकेकोमा उनले दुखेसो पोखे। यही सिलसिलामा 'तराई–मधेस नेपालमा छ' भनेर सबैले बुझ्ने गरी सुनाए। उनले भारी मन बोकेर व्यक्त गरेका यस कथनबाट राष्ट्रलाई एक गम्भीर सन्देश दिएका छन् । प्रमुख राजनीतिक दल र आन्दोलनकारी दुवै शक्तिलाई उनले बेलैमा सचेत गराएका छन्। यस विषयमा मर्मशील र विवेकशील हुनसमेत आग्रह गरेका छन्।राष्ट्र प्रमुखबाट यो भनाइ त्यसै आएको होइन । कतिपयलाई उनको यो विचार अप्रिय लाग्न सक्ला तर बढो सोच–विचार एवं राष्ट्रको भविष्यप्रति गहन चिन्ताबाट यो अभिव्यक्ति आमनागरिकसमक्ष उनले पस्केका छन् । तराई–मधेसको वर्तमान नाजुक स्थितिलाई ख्याल गरेर उनले यसो भनेका हुन् । यस कुरालाई हल्कासंग नलिन र गम्भीर हुनसमेत आह्वान गरेका छन् । मुलुकमा दूरगामी असर पर्न सक्ने सम्भावनाको चित्रण गरेका छन् । राष्ट्र दुखद् दुर्घटनामा फस्न सक्ने चेतावनीसमेत उनले दिएका छन् ।

किनभने मधेस आन्दोलन मधेसकेन्द्रित दलका नियन्त्रणभन्दा बाहिर लगभग जान थालिसकेको छ । मुलुकमा भर्खरै सम्पन्न प्रधान मन्त्रीको चुनावमा तिनले भाग लिएपछि मधेसवादी नेताको व्यापक विरोध भएको छ । तिनका पुत्ला दहन मधेसमा भएका छन् । विजय गच्छदार नेतृत्वको दल फोरम लोकतान्त्रिक सरकारमा सहभागी भएपछि उनका कतिपय वरिष्ठ नेता एवं कार्यकार्ताले राजीनामा दिएका छन् । यीे शुभ संकेत होइन । नेताको भन्दा भीडको नियन्त्रणमा आन्दोलन जानसक्ने संकेत हो यो । बेलैमा होस पु¥याएर यसको व्यवस्थापन नगरे राष्ट्रले अनिष्ट भोग्ने प्रायः निश्चित छ ।

त्यसैले राष्ट्र एक जटिल मोडमा आएर उभिएको छ । विद्यमान नाकाबन्दीले दुई सय वर्षअघिको नालापानी लडाइँको इतिहास सम्झाएको छ । त्यस भीषण लडाइँको वीरगाथा पढ्ने गरिन्छ । कप्तान बलभद्र कुवर र उनका सहयोद्धाका वीरताको पाठ घोकाइन्छ तर त्यसको हारका पीडा केलाइँदैन । षड्यन्त्र र अमानवीय ढंगबाट 'ब्रिटिस इस्ट इन्डिया कम्पनी' ले खानेपानीको मुहान बन्द गरी नेपाललाई हार स्वीकार्न बाध्य गराएको कुरा बिर्सिएको छ । त्यसबाट 'सुगौली सन्धि' मार्फत एक तिहाई आफ्नो प्यारो भूमि गुमाएको तीतो सत्यबाट पाठ सिकिएको छैन । गुमेको भूमि फेरि नफर्किने यथार्थताको हेक्का राखिएको छैन । बीस दशकअघि मात्रको यस पीडालाई मुलुकले चाँडै भुलेको छ ।

२०४५ सालमा भारतको घोषित नाकाबन्दीसमेतबाट नेपालले पाठ सिकेको छैन । नेपालका तत्कालीन राजा वीरेन्द्र र भारतका प्रधान मन्त्री राजीव गान्धीबीचको व्यक्तिगत प्रतिष्ठाको विषयका रूपमा त्यसलाई लिइयो । विशेष गरेर यसबाट कांग्रेसको नेतृत्वमा रहेको आन्दोलनलाई फाइदा पुगेको ठानियोे । यस घटनाचक्रले २०४६ को जनआन्दोलन सफल भयो पनि । निरंकुश पंचायती शासन व्यवस्था ढल्यो । बहुदलीय प्रजातन्त्र पुनःस्थापना भयो । मुलुकले नयाँ काँचुली फे¥यो । लामो संघर्षपछि नेपालीले नागरिक तथा राजनीतिक अधिकार हासिल गरे । भारतको सद्भावप्रति नतमस्तक भए । उसको मित्रतामा विश्वस्त भए तर त्यसबाट उत्पन्न हुनसक्ने दीर्घकालीन असरबारे भने बेखबर रहे ।

अर्को सत्य पाटो के हो भने वर्तमान राष्ट्रिय सकस नेपालका राजनीतिक नेतृत्व वर्गका असक्षमताको थप पहिचानसमेत हो । लोकतन्त्र पुनर्बहालीको पच्चीस वर्ष बितिसक्दा पनि इन्धनलगायत अत्यावश्यक वस्तुको वैकल्पिक आपूर्तिको व्यवस्थापनबारे राष्ट्रले सोचेन । यसमा सिङ्कासम्म भाँच्ने काम भएन । शासकले इन्धनसमेतको भण्डारन क्षमता न बढाए न त त्यसलाई वैकल्पिक उपायद्वारा भित्राउने व्यवस्था गरे । मधेस आन्दोलनबाट मुलुकले संकट खेपिरहेको यस घडीमा समेत तिनका चेत खुलेको छैन । वैकल्पिक आपूर्ति गर्न अझै पनि हिच्किचाइरहेका छन् । दिल्ली दौडाहाबाट मात्र समाधानको उपाय फेरि पनि खोजिराखेका छन् ।

मधेस आन्दोलन विशेष गरेर प्रस्तावित प्रदेश नं. २ मा केन्द्रित छ । यसले वीरगञ्ज क्षेत्रलाई केन्द्रविन्दु बनाएको छ । रक्सौलबाट सामान भित्रने नाका बन्द गराएको छ । यसको प्रमुख अखडा मितेरी पुल बनेको छ । नेपालको 'गेट वे' बन्द भएको छ । यसले दुई देशबीचको मित्रता खलबलाएको छ । अत्यावश्यक र मानवीय सेवासमेत बन्द गरेर मानवताको अर्थ भुलेको छ । सरकारलाई घँुडा टेकाउने बहानामा जनतालाई दुःख÷सास्ती यसले दिएकोे छ । भारतको मौन समर्थनबाट मुलुक ठप्प भएको छ ।

हाम्रा नेतृत्व वर्गको अक्षमताबाट मुलुक 'ल्यान्ड लक' मात्र होइन, 'भारत लक' भएको छ । उसको मुठ्ठीमा मुलुक फसेको छ । 'निचरे मर्ने, छाडे उड्ने चरीको कथा' जस्तो भएको छ । भारतको अप्रत्यक्ष सहयोगमा मधेसवादी दलको घोषित सीमा नाकाबन्दी यसको पुष्टि हो । यो परिस्थिति राष्ट्रको लागि आत्मघाती हुन सक्छ । परराष्ट्र मन्त्री कमल थापाको भारत भ्रमण असफल हुनु शुभ संकेत होइन । नालापानीको इतिहासको पुनरावृत्ति हुन सक्ने सम्भावना यसबाट नकार्न सकिँदैन । यही अवस्था रहिरहे मुलुकै बन्दी बन्ने छ । र, यही आडमा तराई–मधेसका भूभाग नेपालले गुमाउन सक्नेछ ।

मधेस आन्दोलन नागरिकका हक–अधिकार भन्दा सीमाङ्कनमा बढी केन्द्रित छ । यसको बटम लाइन एक नभए दुई अटुट मधेस प्रदेश मागबाट निर्देशित छ । योे व्यावहारिक भन्दा भावनाबाट उत्प्रेरित छ । यसले सम्झौताबिहीनको बाटो ३० दलीय मोर्चाकोे संविधान सभा बहिस्कारको समयदेखि रोजेको हो । त्यसैले यसको भित्री मनसाय बुझिनसक्नु छ । प्रदेश सीमाङ्कन राजनीतिकमात्र नभई प्राविधिक विषय पनि हो भनेर बुझ्न नखोज्नु रहस्यमय बनेको छ । 'तातै खाउँ जली मरु' भाखामा आन्दोलन चर्काइएको छ । यसले कसको हित गर्ला ? कहीँ यो १९७५ मा कथित 'इन्दिरा गान्धीको नेपालको तराई भूभाग भारतमा गाभ्ने रणनीति' अन्तर्गत त छैन ? भन्ने सवालसमेत उठेकोे छ ।

विगतमा मधेसको अस्थिरता नागरिकताको सवालबाट सुरु भएको हो । अन्तरिम संविधानमा मधेसीका विशेष अधिकार समावेश गर्न एक 'एनजिओ' मार्फत आन्दोलन थालनी भयो र संघीयतामा राज्यलाई प्रवेश गर्न बाध्य बनायो । पछिल्लो मधेस आन्दोलनको मूल माग 'एक मधेस, एक प्रदेश' थियो । अन्ततः ८ बुँदे सम्झौताअनुसार 'मधेस स्वायत्त प्रदेश' प्रति राज्य प्रतिबद्ध भयो र आन्दोलन टुङ्गियो । तर यसको अवधारणामा व्याख्या भएन । आ–आफ्नो ढंगबाट यसको अर्थ लगाइयो । यो सम्झौता हुनुअघि यो पंक्तिकारसमेत केही नागरिकका पहलमा सरकार र आन्दोलनकारीबीच पटक–पटक वार्ता भए । तर यसको अन्तिम निर्णय भने काठमाडौंस्थित भारतीय दूतावासमा भयो जसका साक्षी अझै जीवित छन् ।

वर्तमान मधेस आन्दोलन यसैको निरन्तरता हो । यही सम्झौताको अस्पष्ट शब्दावलीको खेलबाट यो फेरि उठेकोे छ । यसको सीमाङ्कनको विषयमा भारतसमेतको रुचि छ । उसले यसबाट पर्नसक्ने दीर्घकालीन राजनीतिक जोड–घटाउलाई निश्चय विचार गरेको छ । तथापि उसैको दबाबबाट सरकार तथा आन्दोलनकारीबीच फेरि अर्को सम्झौता होला । यसबाट देश टुक्रने शंका तत्कालका लागि टर्ला तर दीर्घकालीन असर भने अवश्य रहनेछ ।

लाग्छ, मधेसले अस्थिरताको बीउ मुलुकमा रोपिसकेको छ । यसको सम्बोधन समयमै राष्ट्रहितमा नभए देश भयाबह पीडामा पर्ने अश्वयम्भावी छ । यस परिस्थितिको जवाफदेहिता प्रमुख मधेसवादी नेता र राजनीतिक दलका नेतृत्व पंक्तिले लिनुपर्छ । कथित आन्तरिक उपनिवेशबाट मुक्ति खोज्ने बहानामा नेपालको अस्तित्व नै गुम्न सक्ने खतरा बढेको छ । यसबाट 'तराई–मधेस नेपालमा थियो' भन्ने कथन भविष्यमा नेपालीले सुन्नु नपरोस् भन्ने हो । त्यसैले छद्मभेशी व्यक्तिका निहीत स्वार्थ अथवा छिमेकीको राजनीतिक चंगुलमा यसलाई कदापि फस्न नदिन सचेत हुने हो ।

अन्त्यमा, मधेस आन्दोलन 'देखाउने दाँत एउटा र खाने दाँत अर्को' नबनोस् । विगतमा कांग्रेस, एमाले र एमाओवादीसमेतले भारतका आडमा आन्दोलन र सशस्त्र संघर्ष गरेका आधारमा यसको औचित्य पुष्टि हुँदैन। 'पहिले देश अनि प्रदेश' को यथार्थलाई आत्मसाथ गर्नु अपरिहार्य छ किनभने मुलुक रहेमात्र प्रदेश रहने हो ।

प्रकाशित: १२ कार्तिक २०७२ २३:३३ बिहीबार