के साँच्चै त्यस्तो होला? शल्यक्रियाको फलस्वरूप आँखा देख्न सक्ने भएपछि युवक दंग पर्ला? उसमा त्यस्तो चञ्चल खुसी र उल्लास छाउला? तोकिएको दिन युवकको आँखाको शल्यक्रिया हुन्छ। शल्यक्रियाको केही दिनपछि निर्धारित समयमा डाक्टरले युवकको आँखाको पट्टि खोल्न सुरु गर्छ। राम्ररी निरीक्षण गरेपछि डाक्टरले युवकको आँखाको शल्यक्रिया सफल भएको घोषणा गर्छ। डाक्टरको निर्देशानुसार सामने देखिने वस्तुहरु युवकले ध्यानपूर्वक हेर्छ। ऊ अन्योलमा पर्छ। त्यहाँ उपस्थित परिवारजनतर्फ नजर घुमाउँछ। ऊ अलमल्ल पर्छ। बोलेको सुनेपछिमात्र स्वरका आधारमा आफ्नो सामुन्ने बसेका परिवारका व्यक्तिलाई चिन्छ। अस्पतालको त्यो कोठामा भएका टेबल, कुर्सी, बस्ने टुल, ‰याल, पर्दा देखाउँदै ती के हुन् भनेर डाक्टरले सोधेका प्रश्नले उसलाई झन् अलमल्लमा पार्छ। कोठामा भएका यो र त्यो वस्तु के हो भन्ने प्रश्नहरुको जवाफ दिन नसकेर उसमा तनाव बढ्दै जान्छ। विस्तार ऊ बेचैन देखिँदै जान्छ।
हेर्नु र देख्नुका नियमसम्बन्धी युवकलाई तालिम दिइन्छ। अभ्यास गराइन्छ। तालिमपछि टेबलमा सुन्तलाको दाना राखेर यो के हो भनी उसलाई सोधिन्छ। एकछिन ठिमाएर हेरेपछि सुन्तला हो भन्छ। यसको आकार कस्तो छ भन्ने प्रश्नमा छामेर भन्न सक्ने बताउँछ। त्यो सुन्तलालाई धागोमा झुण्ड्याएर यो के हो भनेर सोध्दा जवाफ दिन सक्दैन। गोलो, च्याप्टो, चारकुने, तीनकुने वस्तुबारे तालिम दिइसकेपछि ती वस्तुका आकारबारे सोध्दा छामेर बताउने भन्छ। वस्तुहरुको आकार प्रकारकाबारे नछामी वा स्पर्श नगरी भन्न लाउँदा ऊ झर्किन थाल्छ। वस्तुहरुलाई नछोइ तिनको आकार र स्वरूपका सम्बन्धमा बताउनुपर्ने भएकाले सानासाना कुरामा दुःख दिइएको भन्ने युवकलाई लाग्छ। प्रकाशको धब्बा/किरण वा छायाँ देखाएर यो के हो भन्नेजस्ता प्रश्नहरुले ऊ हैरान हुन्छ। आफ्नो जीवन कष्टकर लाग्न थाल्छ। विज्ञहरु निष्कर्षमा पुग्छन्- लगनशील भएर निरन्तर अभ्यास र परिश्रम गर्न सकेन भने सफल शल्यक्रियापश्चात् पाएको आँखाको उपयोग त्यो युवकले गर्नसक्ने छैन। दृष्टि पाएर पनि ऊ दृष्टिबिहीन नै रहनेछ।
आँखाको शल्यक्रियापछिको त्यो युवक जस्तो भएको छ, यतिबेला हाम्रो मुलुक। लोकतन्त्र प्राप्तिको उमंगमा धक्का लागेको छ। जनता अन्योलमा परेका छन्। राजनीतिको गति उल्झनमा परेको छ। नेताहरुबीच घोर अविश्वास छ। परिस्थिति झर्कोलाग्दो हुँदै गएको छ। नेताप्रति जनताका आस्था र विश्वास टुट्दै गएको देखिन्छ। लोकतन्त्रको उपयोग मुलुकले गर्न नसक्ने हो कि भन्ने शंका बढ्दै गएको छ।
जनयुद्ध र जनआन्दोलनपछि मुलुकको राजनीतिक परिदृश्य परिवर्तन भए पनि राजनीतिक दलहरुको संस्कार र व्यवहारमा कुनै परिवर्तन छैन। जनतामा नयाँ जागरण आए पनि नेताका मन र मस्तिष्कमा केही फेरबदल छैन। राज्य सञ्चालनको परिपाटी परिवर्तन भयो तर नेताका कार्यशैली परिवर्तन भएन। पुराना बुझाइ, मानसिकता र प्रवृत्ति यथावत् छन्। नेताका स्वभावमा कुनै नयाँपन छैन। आँखाको सफल शल्यक्रिया भएको तर कष्टकर जीवनको अनुभूति गर्न लागेको त्यो युवकको जस्तो मुलुकको अवस्था हुँदै गएको छ।
गन्तव्यहीन राजनीति
दलीय लोकतान्त्रिक व्यवस्था भइसकेपछि राजनीतिक दलले आफ्नो क्रियाकलापमा जनताको भावना र चेतना प्रतिविम्बित गर्नुपर्ने हो। जनताको भावनाअनुरूप नेतृत्व कौशल प्रदर्शन गर्दै जनताको विश्वास आर्जन गर्नुपर्ने हो। जनताको चेतनामा आएको परिवर्तनअनुरूप राजनीतिको स्वरूप र शैलीलाई गतिशील बनाउँदै अघि बढ्नुपर्ने हो। तर त्यो हुन सकिरहेको छैन। अहिले हाम्रा नेताहरु आँखामा पट्टि बाँधेर हातमा लाठी लिएर हाँडी फुटाउन अनुमानका भरमा पाइला चालिरहेको व्यक्तिजस्ता देखिन्छन्।
राज्य सञ्चालनका लागि संवैधानिक बाटो अवरुद्ध भएका बेला नेताले नैतिकता, धैर्य र समझदारीका साथ अघि बढ्नुपर्ने हो तर सत्ता र शक्तिका खातिर यी सबै कुरा उनीहरुले बिर्सेजस्तो छ। उनीहरुमा बढ्दै गएको आपसी अविश्वास र स्वार्थभावले मुलुक अप्ठेरो अवस्थामा पुगेको छ। कदम-कदममा एकले अर्कोलाई अविश्वास गरिरहेकाले प्रत्येक राजनीतिक पहल उल्झनमा परिरहेको छ। एक दिनको कुरै छाडौं, एक घण्टाका लागि पनि एकले अर्कोलाई विश्वास गर्न सकिरहेको छैन। कतिसम्म अविश्वास देखिन्छ भने एक पक्षले बाधा अड्काउ फुकाएर नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण गराउँ भन्छ, अर्को पक्षले नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण गराएर बाधा अड्काउ फुकाउँ भन्छ। त्यतिमै कुरो मिल्दैन, अनि हलो अड्किन्छ।
राज्यसत्तालाई एकमात्र शक्तिको स्रोत देखेका नेताले अझै पनि जनताको शक्तितर्फ ध्यान दिन चाहिरहेका छैनन्। सिद्धान्त र नैतिकताको शक्तिमा भर गर्न सकिरहेका छैनन्। जनता, सिद्धान्त र नैतिकताको शक्तिमा भर नगर्नु भनेको अलोकतान्त्रिक प्रवृति हो। नेताहरुबाट अहिले यही प्रवृति प्रदर्शित भइरहेको छ।
राज्य सञ्चालनमा सबै तह र तप्काका जनताको समानुपातिक समावेशी सहभागिता, राज्य व्यवस्थामा सबैको पहुँच र प्रभावलगायत्का मुद्दाको सम्बोधन गर्ने कुरा कुन कुनामा थन्किए, केही थाहा छैन। संविधान, शान्ति, सुरक्षा र राहतका कुरा हराए। यसका लागि कुनै दल र नेता जिम्मेवारी लिँदैनन्। जिम्मेवारीबाट पन्छिनेमात्र होइन, अरुका टाउकामा दोष थोपर्छन्। दोष थोपर्नका निम्ति जति घोचक संवाद मुखबाट ओकल्न सक्यो, त्यति आफू प्रभावकारी भएको ठूलै भ्रम देखिन्छ नेताहरुमा। सत्ताका निम्ति साँढे भएर हुँकार गर्छन्। जनताका मुद्दामा चाहिँ ठाडो शिर गरेर बोल्न सक्दैनन्। नागरिक अधिकार, सार्थक सहअस्तित्व, सामाजिक न्याय स्थापित गर्ने सवालमा मुख बाउन सक्दैनन्।
आदर्शका गफ
जनताको नाममा निर्णय गर्ने पात्रहरुलाई नियन्त्रण गर्ने अहिले जनताको अवस्था छैन। जनता जबसम्म निश्प्रभावी रहन्छ, तबसम्म लोकतन्त्र मजबुत हुन सक्दैन। जनतालाई प्रभावी बनाउनका लागि उनीहरुको राजनीतिक सहभागिता अनिवार्य हुन्छ। त्यस्तो सहभागिताबिना लोकतान्त्रिक पद्धतिको वास्तविक प्रभावकारिता पुष्टि हुन सक्दैन। राजनीतिक नेतृत्व, राज्यको निर्णायक थलो र संयन्त्रहरुमा मुलुक प्रतिविम्बित हुने किसिमले सबै जाति, भाषी, वर्ग र समुदायको उपस्थिति छैन। किनारामा रहेका जनता केवल रमिते भएर निरीह बस्नुपरेको छ। जनतासम्म लोकतन्त्र पुगेको छैन। समावेशी सहभागिताबिना लोकतान्त्रिक अभ्यास सार्थक भएको अनुभूति कसरी होला?
लोकतन्त्र भनेको कुनै राजनीतिक खेलको निरपेक्ष नियम, प्रक्रिया र औपचारिकतामात्र होइन। लोकतन्त्र भनेको जीवनको अवस्था र पद्धतिसँग गाँसिएको हुनुपर्छ। सबै तह र तप्काका जनताको भावना र चाहनासँग टाँसिएको हुनुपर्छ। परन्तु, नेताहरु यसबारे सचेत रहेको संकेत पाइँदैन। जतिसुकै आदर्शका गफ गरे पनि नेताका मन सत्तामाथि मात्र देखिन्छ। सत्ता नै अहिले राजनीतिको केन्द्रविन्दु बनेको छ। जनताका मुद्दा बिरानो र परको विषय भएको छ। यो कारण व्यवहारमा लोकतन्त्रको अनुभूति जनताले गर्न पाइरहेका छैनन्।
लामो संघर्ष, बलिदान र पर्खाइपछि मुलुकमा लोकतन्त्र आयो तर जनताले लोकतन्त्रको स्पर्श पाइरहेका छैनन्। आशाको केन्द्रमा रहेका हिजोका नेता आज शंकाको घेरामा देखिन्छन्। आत्मविश्वास गुमाएका नेता अविश्वासका बन्दी बनेका छन्। कतै सफल शल्यक्रियापछि दृष्टि पाएर पनि दृष्टिबिहीनकै अवस्थामा रहेको त्यो युवक जस्तो हाम्रो अवस्था नहोस्। लोकतन्त्र पाएर पनि लोकतन्त्रबिहीन हुन नपरोस्।
प्रकाशित: २७ फाल्गुन २०६९ ००:५२ आइतबार