विचार

रसुवाको रस

रसुवामा स्थित गोसाइँ–कुण्ड धार्मिक तीर्थस्थल तथा पर्यटकीय हिसाबले महत्वपूर्ण सम्पदाका रूपमा चिनिन्छ । धार्मिक हिसावले हिन्दु र बौद्ध धर्ममा आस्था राख्नेहरू गोसाइँ–कुण्ड एकपटक पुग्नैपर्ने विश्वास राख्छन् । यसैले त गोसाइँ–कुण्डमा हरेक वर्ष साउन शुक्ल पूर्णिमा (जनैपूर्णिमा) र दशहराको अवसरमा धूमधाम मेला लाग्ने गर्छ । गोसाइँ–कुण्ड पछिल्लो समयमा विशेष मेला तथा तीर्थ÷पर्वका लागि मात्र नभई अरुसमयमा पनि स्वदेशी तथा विदेशी पर्यटक धेरै आउने गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । साथै स्थानीयको स्वरोजगार पनि यससँग जोडिएको छ।

पौराणिक कथनअनुसार परापूर्व कालमा देवता र दानवबीच लडाइँ हुँदा भएको समुन्द्र मन्थनबाट कालकुट विष निस्क्यो । उक्त विषले सृष्टिलाई नै समस्या उत्पन्न हुने देखिएपछि भगवान शिव शंकरले सृष्टि जोगाउनका लागि उक्त विष आफैँ सेवन गरी हिमालय पर्वततिर लागे । उक्त विषको डाहा शान्त गर्न शिवशंकर हालको गोसाइँ–कुण्ड रहेको स्थान पुगी आफ्नो हातमा रहेको त्रिशूलले भित्तामा छेदन गरी भित्ताबाट गंगाजल निकाली निस्केको जलबाट बनेको पोखरीमा शयन गरेका भनाइ पाइन्छ । उनले त्रिशूलले उक्त पानी निकालेको हुँदा उक्त धाराको नाम त्रिशूल धारा राखिएको छ । गोसाइँ–कुण्डबाट बगेर आउने पानी नै अहिले त्रिशूली खोलाको नामले परिचित छ । पहाडबाट निस्किरहेको जल पनि तीनवटा धारा भएर कुण्डतर्फ बगेको छ । त्रिशूल धाराबाट निस्केको जल जमेको पोखरीलाई गोसाइँ–कुण्ड भनिएको हो । त्यही गोसाइँ–कुण्डबाट बगेको पानी संकलन गरी धुन्चे नजिकै घट्टेखोलामा मिनी गोसाइँ–कुण्ड (मानव निर्मित) पनि निर्माण गरिएको छ।

अहिले पनि चर्काे घाम लागेको र मौसम खुलेकाबेला पोखरीमा शिव शंकर भगावन स्नान गरिरहेका देखिने विश्वास गरिन्छ । तिनै भगवानको दर्शन गरी पुण्यमिल्ने विश्वासका कारणबर्सेनि हजारौँ तीर्थालु भक्तजन यहाँ आउने गर्छन् ।कतिपय तीर्थालु भने पितृको मोक्षका साथैचिताएको पुग्ने आशले पनि यहाँ आउने गर्छन् ।रसुवाकुण्डै कुण्ड भएको जिल्लाका रूपमा पनि परिचित छ । यहाँ १०८ कुण्ड रहेको भनाइ छ । समुद्री सतहदेखि ४ हजार ३ सय ८०मिटरको उचाइमा रहेको गोसाइँ–कुण्ड२०६३ सालमा विश्व सम्पदा सूची तथा सीमसार क्षेत्रमा सूचीकृत भएको छ । यसैले पनि पछिल्लो समय गोसाइँ–कुण्डको महिमा अझ बढ्दै गएको छ।

प्राकृतिक सुन्दरतामा रमाउने र धार्मिक आस्था राख्नेहरूका लागि प्रकृतिको अनुपम देन नै मान्नुपर्छ ऐतिहासिक धार्मिक एवम् पर्यटकीय गन्तव्य गोसाइं–कुँण्ड । घट्टेखोला,देउराली,चन्दनबारीस्थित सिङ्गोम्पाको बुद्धको विशाल मूर्ति, दिम्सा,चोलाङ्पाटी, लौरीबिनायक जस्ता मनोरम दृश्यले पनि यहाँ पर्यटक लोभ्याउने गर्छ ।यस पदमार्गमा पाइने विभिन्न प्रजातिका फूल, लोपोन्मुख वन्यजन्तु, वनस्पति, चरा आदिले पनि रमणीय वातावरण उपलब्ध गराउँछ तीर्थालुलाई । आव २०७४/७५ को लाङटाङ राष्ट्रिय निकुञ्जको विवरणअनुसार लाङटाङ तथा गोसाइँ–कुण्ड क्षेत्रमा विदेशी पर्यटकमात्र १३ हजार ७ सय ५९ जना आए । जुन बर्सेनि बढ्दो छ।

मानिस यहाँ किन धाउँछन् भन्ने कुरा एउटा कुण्डसँग मात्र सम्बन्धित छैन । नेपाली इतिहासका एक चर्चित पात्र अमरसिंह थापाको देहावसान यही क्षेत्रमा भएको थियो र यहाँ ‘अमरसिंह गुफा’ पनि छ । त्यसबाहेक गोसाइँ–कुण्ड क्षेत्र वरपरका तामाङ समुदायको भेषभूषा तथा संस्कृति पनि यस क्षेत्रका थप आकर्षण हुन् । गोसाइँ–कुण्डबाहेक भैरवकुण्ड, सरस्वतीकुण्ड, गणेशकुण्ड, दूधकुण्ड, सूर्यकुण्ड, नौकुण्डलगायतका कुण्डले पनि पर्यटक लोभ्याइरहेका हुन्छन् ।यस क्षेत्रमा नागकुण्ड, जागेश्वरकुण्ड, धर्म कुण्ड, कर्णकुण्ड, अद्भूतकुण्ड, ब्रह्माकुण्ड, वेदकुण्ड, अग्निकुण्ड, शेषकुण्ड, पीपकुण्ड, दीपकुण्ड आदि पनि छन् । तर यी सबैको प्रचार र संरक्षण भने हुन सकेको छैन ।गोसाइँ–कुण्डमा शिव शंकर र पार्वतीकुण्डमा माता पार्वतीको बासस्थान रहेको भनाइ छ । यहीबेला पार्वतीकुण्डमा पनि मेला लाग्ने गर्छ।

जैविक विविधताका दृष्टिले पनि उत्तिकै धनी छ गोसाइँ–कुण्ड क्षेत्र ।यो क्षेत्र रैथाने, दुर्लभ र सङ्कटापन वनस्पति एवम् चराचुरुङ्गी र वन्यजन्तुको आश्रयस्थलका रूपमा पनि परिचित छ । हिमचितुवा, रातो हाब्रे (रेडपाण्डा), कस्तूरी मृग, हिमाली थारलगायतका लोपोन्मुख वन्यजन्तुको आश्रयस्थल पनि हो गोसाइँ–कुण्ड । तर पछिल्ला समय आवतजावत बढेसँगै यी पक्षमा विचार नपु-याइँदा सबै क्षेत्र संकटमा परेका छन् । बढ्दो व्यापार तथा घट्दो संरक्षणका कारण गोसाइँ–कुण्डको महŒव चाउरिँदो भए पनि यसतर्फ कसैको ध्यान भने पुग्न सकेको छैन।

आगामी दिनमा गोसाइँ–कुण्डलाई अझ बढी संरक्षण गर्न, यसको उचित प्रसारप्रसार र प्रवद्र्धन गर्नका लागि गोसाइँ–कुण्ड गाउँपालिकाले आगामी केही वर्षभित्र केबुलकार सञ्चालनमा ल्याउने तयारी गरेको छ । यसका लागि सरकारले बजेट पनि विनियोजन गरेको छ र यसै वर्षभित्र अध्ययनको काम सुरु गरिने गाउँपालिकाले जनाएको छ । भदौ १० गते जनपूर्णिका दिनलाग्ने मेला भव्य बनाउन पनि गाउँपालिका लागिपरेको देखिएको छ । करिब १५ हजार तीर्थालु आउने अनुमान गोसाइँ–कुण्ड क्षेत्र विकास समितिले गरेको छ । अघिल्ला वर्षहरूमा कुण्ड क्षेत्र र बाटोमा रहेका होटल तथा थर्पुहरूले यात्रीसँग खाना, बासलगायतमा मनपरी ढंगले रकम उठाएका गुनासो आएकाले यस वर्ष भने दर निर्धारण गरी सार्वजनिक स्थलहरूमै राखिएको छ।

प्रकाशित: ११ भाद्र २०७५ ०२:३९ सोमबार

गोसाइँ–कुण्ड तीर्थस्थल रसुवा