विचार

गाउँले जीवन, दीर्घ जीवन

राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार सहरभन्दा गाउँका बासिन्दा बढी बाँच्ने गरेका छन्। राष्ट्रिय तथ्यांक कार्यालय काठमाडौँले गत हप्ता सार्वजनिक गरेको आँकडाले कुल जनसंख्यामा हजुर पुस्ताको हिस्साका आधारमा मनाङ, मुस्ताङ र गोरखा जिल्ला उपल्लो स्थानमा रहेको देखायो। अथवा ६० वर्ष नाघेको जनसंख्याको प्रतिशत अन्यको तुलनामा उक्त तीन जिल्लामा अत्यधिक पाइएको छ। 

त्यसो त अहिलेझैं दश वर्षअघिको गणनामा समेत दुर्गमका मुस्ताङ, मनाङ र लमजुङमै ६० वर्ष कटेका पुस्ताको चाप अत्यधिक थियो। अस्पताल, ओखती र बेसाएर खाने पैसा र पसलको अभाव भएका दुर्गम जिल्लामा हजुर पुस्ताको हिस्सा बढी देख्दा धेरैलाई आश्चर्य लाग्ला। जनगणनामा पहुँचका सुगम जिल्लाले बाजी मार्नुपर्नेमा दुर्गम भेगका बासिन्दाहरू बढी बाँचेका देखियो। 

एक पटकको आँकडा गलत भयो कि भन्ने हो भने पनि मनाङ र लमजुङले १० वर्षको अन्तरालमा गरिएका दुई गणकमा आफूलाई अग्रणी पुष्टि गरे। हामीकहाँ बसाइँ सर्ने हो भने मानिस बढी बाँच्ने सम्भावना रहने दाबी गर्ने अवस्थामा पुगे ती पहाडी जिल्ला। आहारबिहार, हावापानी अनि चिकित्सकसँगको पहुँचले व्यक्तिको स्वास्थ्य निर्देशित गर्छ। 

मानिस स्वस्थ भए व्यक्ति लामो समय बाँच्छ। एक भेगको जनसंख्याको औसत आयु उचो हुनका लागि उक्त इलाकाका बासिन्दाको समष्टिगत उमेर बढ्नुपर्छ। अथवा ठूलो जमात दीर्घजीवी नभइकन एउटा जिल्लाको सरदर उमेर उकासिने होइन। त्यसै सन्दर्भमा एउटा चिनियाँ अन्वेषण सान्दर्भिक देखियो। 

सन् १९८१ मा चाइनिज एकेडेमी अफ मेडिकल साइन्सले चीनका २४ सय जिल्लामा सन् १९७३ देखि १९७५ को अवधिमा विभिन्न ४८ किसिमका क्यान्सर तथा मुटु रोगका कारण मारिएका व्यक्तिहरूको आँकडा प्रकाशित गर्‍यो। सबैभन्दा बढी जनसंख्या अर्बुद रोग र मुटुको बिरामीले मर्ने हुँदा उनीहरूले ती दुई लक्षणलाई प्राथमिकता दिए। एक भेगमा प्रशस्त देखिने क्यान्सर अर्को इलाकामा नगन्य पाइयो। त्यस्तै मुटु रोगीको संख्या कुनै इलाकामा अत्यधिक देखियो भने अर्को भेगमा नगन्य मुटुका बिरामी देखियो।

चीनका दुई जिल्लाको तथ्यांक दाँज्दा एक भेगभन्दा अर्को इलाकामा एक किसिमको क्यान्सरले मरेका मानिसको संख्या सय गुणाभन्दा पनि अधिक देखियो। जुन तथ्यांक वैज्ञानिकहरूका लागिसमेत असामान्य थियो। यो अस्वाभाविक नतिजाको थप उत्खननका लागि अमेरिकाको कोर्नेल युनिभर्सिटीका प्राध्यापक टमस क्याम्पबेलको अगुवाइमा बेलायतको अक्सफोर्ड विश्वविद्यालय र चाइनिज एकेडेमीका प्राध्यापक सम्मिलित टोलीले चीनको अध्ययनलाई आधार मानेर मानिसको आहारविहार र व्यक्तिमा लाग्ने रोगका बीच अन्तरसम्बन्ध स्थापित गर्न धेरै परिश्रम गरे। चाइना–कोर्नेल–अक्सफोर्ड प्रोजेक्ट नाम दिइएको उक्त अध्ययनले खान्कीले कसरी रोगलाई प्रभाव पार्छ भन्ने कुरा दर्शायो।

नेपालमा झैँ चीनमा पनि दुर्गम भेगका बासिन्दाको दिनचर्या स्थानीय उत्पादनमा आश्रित देखियो। कोदो र फापर पर्याप्त फल्ने दुर्गमका बासिन्दाले आफ्नो उत्पादन नै खाने गरेको देखियो। मासु तथा चिल्लो पदार्थ अत्यधिक सेवन गर्ने इलाकाका बासिन्दामा कोलोन तथा स्तन क्यान्सरले अत्यधिक सताइएको मात्र देखेनन्, बरु उक्त भेगमा मुटुका रोगीको संख्या पनि बढी नै देखियो। त्यस्तै सागसब्जी अत्यधिक सेवन गर्ने गाउँका बासिन्दामा क्यान्सर तथा मुटु रोगीको संख्या निकै कम देखियो। यसरी शाकाहारी समुदायमा सबैभन्दा बढी मानिसको ज्यान लिने क्यान्सर र मुटु रोगको आयतन नै घटेपछि उक्त भेगका मानिसको सालाखाला उमेर बढ्ने नै भयो। 

दुई दशकभन्दा लामो उक्त अध्ययनले वनस्पतिजन्य खाद्य पदार्थमा भर पर्नेे व्यक्ति मासु खानेभन्दा स्वस्थ हुन्छ भन्यो। प्रकृतिले दिएको खाद्य पदार्थ यथास्थितिमा सेवन गर्ने समूह प्रशोधित खानेकुरा ग्रहण गर्ने व्यक्तिभन्दा स्वस्थ हुन्छ भन्ने चाइना–कोर्नेल–अक्सफोर्ड प्रोजेक्टको निष्कर्ष देखियो। बारीमा उत्पादन भएको गँहुको च्याख्ला खाने व्यक्ति त्यही गहुँबाटै बनेको चाउचाउ, पाउरोटी सेवन गर्नेभन्दा स्वस्थ हुने देखियो। प्रशोधनपछि खान्की अस्वस्थकर बन्छ भन्ने हो। 

स्वस्थ जीवनयापनका लागि चिकित्सकसँगको पहुँच आवश्यक हुन्छ। तर अस्पतालको अनावश्यक यात्राले जीवन छोट्याउन पनि सक्छ। सुत्केरी हँुदा आउन सक्ने जटिलताका लागि चिकित्सकको सामिप्यता आवश्यक हुन्छ। तर अस्पतालमा जन्मिएका बच्चाको दाँजोमा गाउँमा जन्मिएको बच्चा स्वस्थ हुन्छ भन्ने कुरा दर्जनौँ अध्ययनले पुष्टि गरेका छन्। 

यही तथ्यलाई मध्यनजर गर्दै धेरै दम्पतीले बच्चा जन्माउन अस्पतालको विकल्प खोज्न थाले। अमेरिकी कलाकार एन्जेलिना जोली र ब्राड पिटले आफ्नो बच्चाको जन्मका लागि अफ्रिकी मुलुक नामिबियालाई चुनेका थिए। त्यस्तै शल्यक्रिया गरेर निकालिएको बच्चाको तुलनामा स्वाभाविक प्रक्रियाबाट जन्मिएको बालकको प्रतिरक्षा प्रणाली निकै सबल हुने भएकाले गाउँघरमा जन्मिएको बच्चाले धेरै किसिमको जीवाणुको संक्रमणलाई सहजै परास्त गर्छ।

अस्पताल रोगको उपचार स्थल मात्र नभएर दानवीय चरित्रका जीवाणुको बासस्थान पनि हो भन्ने कुरा बिर्सनु हुँदैन। अहिलेसम्म आविष्कार भएका एन्टिबायोटिक्स तथा ल्याब निर्मित रासायनिक तत्वहरूले मार्न नसक्ने दर्जनौँ सूक्ष्माणु सुपरबगको स्रोत पनि अस्पताल नै हो भन्ने हेक्का गर्नुपर्छ। एक रोग निको पार्न गएका बिरामी अर्को संक्रमण बोकेर आएको देखिन्छ। तसर्थ, आवश्यक परे मात्र अस्पताल जानुपर्छ। सानो समस्या लिएर चिकित्सककहाँ जाँदा अझ ठूलो रोग भित्रन सक्छ।

सूक्ष्माणुहरू खराब हुन अनि बाहिर धुलोमा खेल्नु हँुदैन भन्ने आमधारणा छ। तर धेरै अनुसन्धानले साना बच्चाहरूलाई बाहिर खेतबारीको माटोमा लडभिड गर्न दिँदा उनीहरूको शरीरको प्रतिरक्षात्मक शक्ति बढ्ने देखाएका छन्। धुलोमा पाइने सूक्ष्माणुले बच्चाको इम्युन सिस्टमलाई सबलीकरण गरी बाह्य संक्रमणसँग लड्ने तागत दिने भएकाले बच्चाहरूलाई धुलोमा खेल्न दिनुपर्ने अवधारणा बन्यो। संभ्रान्त मुलुकका पार्कहरूमा बच्चाहरूले खेलून् भन्नका लागि बालुवाको थुप्रो राख्ने चलन चल्यो। अमेरिकाको युनिभर्सिटी अफ सिकागोका वैज्ञानिक ज्याक गिल्बर्टलगायतले बच्चालाई खेतबारीको धुलोमा खेल्न दिँदाको स्वास्थ्य फाइदालाई डर्ट इज गुड  भन्ने पुस्तक नै लेखे।

खानामा पाइने कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो, भिटामिन, लवणलगायतका माइक्रो न्युट्रियन्ट मानिसलाई स्वस्थ बस्न मद्दत गर्छ। विभिन्न किसिमका खान्की किन्न पाउने अवसर भएकाले सहरका बासिन्दाले सन्तुलित खान्की खान पाउनुपर्ने हो। तर यथार्थमा पैसा भएकाले बेसाउने अधिकांश भोजन स्वस्थकर हुँदैन। चाउचाउ, बिस्कुट जस्ता चलानी खान्की मात्र होइन, बरु अत्यधिक चिनीवाला कोक, पेप्सी, जुस जस्ता बेइमानी भोजन भित्रन्छ। बट्टाको खानाले विभिन्न चरित्रका अर्बुद रोग मात्र होइन बरु मुटुसम्बन्धी समस्यालाई पनि हौस्याउने भएकाले सहरका बासिन्दा फजुल पैसा खर्च गरेर नै रोगको मारमा परे।

सरकारको अकर्मण्यताले गर्दा भित्रने तरकारी तथा फलफूलमा विषादीको मात्रा परीक्षण गर्ने विधि स्थापित हुन सकेको छैन। यदाकदाको परीक्षणले सहरमा भित्रने सब्जीमा रासायनिक तत्व शरीरले धान्न सक्ने मात्राभन्दा अत्यधिक रहेको देखाउँछ। यसरी खराब विषादी शरीरमा पुग्दा शारीरिक बायोलोजी खण्डित हुन गई व्यक्ति रोगको सिकार बन्न पुग्छ। फलफूलमा प्रयोग हुने विषाक्त रासायनिक पदार्थले क्यान्सरलगायतका महारोग उकासेको देखियो।

सहरको व्यस्त दिनचर्याका कारण धेरैले व्यक्ति पर्याप्त सुत्न पाउँदैनन्। निन्द्रा नपुग्दा शरीरमा ‘न्याचुरल किलर सेल’ को मात्रा घट्छ। बाह्य जीवाणुको संक्रमण अनि शरीरमा अर्बुद रोगका कोसहरू पैदा हुँदा हामीलाई जोगाउने ‘किलर सेल’ को घनत्व घट्दा क्यान्सर तथा अन्य रोगले सताउँछ। त्यस्तै ठूला सहरमा धानिनसक्नुको वायु प्रदूषणले फोक्सोका समस्याले मर्नेको संख्या उकासिन्छ नै। त्यस्तै पहाडमा हिँडडुलकै क्रममा हुने कसरतले पनि व्यक्तिलाई स्वस्थ राख्छभन्दा फरक नपर्ला।

महानगरले दिने भौतिकवादी लाभ अनि सहरिया जीवनसँगै जोडिएर आउने खानपिनको ढाँचा, धुलोधुवाँ, अनिद्रा, थकान, अस्वस्थ प्रतिस्पर्धालगायतका दिनचर्याले दिने व्ययको समष्टिगत मूल्यांकन गर्दा ठूलो ठाउँको बसाइ दीर्घ जीवनका लागि अनुकूल देखिएन। तसर्थ, गाउँलाई सहरको अस्वस्थ परिवेशबाट मुक्त गरी परम्परागत ढाँचामै विकास हुन दिने हो भने लामो समयसम्म थकानरहित भएर बाँच्न सकिन्छ। जनजीवनलाई अलि परिमार्जित गर्ने हो भने दीर्घ जीवनका लागि पहाडको कन्दरामा बसाइ सरौँ भन्ने नारालाई सार्थकता दिन नसकिने होइन।
– पोखरेल अमेरिकास्थित इन्फिनिटी ल्याबरेटोरिजका क्षेत्रीय निर्देशक हुन् ।

प्रकाशित: ३० वैशाख २०८२ ०९:२३ मंगलबार

#NagarikNews #Opinion