म अहिले पनि कहिलेकाहीं अनलाइन समाचार पोर्टलहरूमा लेखहरू पठाउने गर्छु। सुरुसुरुमा त कमेन्ट सेक्सन पूरै पढ्ने नगरेको हैन तर आजकल म त्यो गल्ती गर्दिन। सामाजिक सञ्जालमा पाइने घृणा, अपमानजनक कमेन्ट र दुर्व्यवहारले मलाई प्रविधिको विभत्स रूपसँग साक्षात्कार गराएको छ। कसैको मुखैअगाडि गाली गर्न त्यति सजिलो छैन जति फोन वा कम्प्युटर स्क्रिनपछाडि लुकेर हानी पुर्याउन सहज छ। आजकल यो प्रवृत्ति बढ्दो देखिन्छ।
प्रविधिको युगमा हुर्किएका जेन जी पुस्तासँग गफ गर्नुपर्छ अनि थाहा पाइन्छ प्रविधि नै उनीहरूको सबैभन्दा ठूलो साथी र शत्रु दुवै बनेको छ। कसले इन्स्टाग्राममा कस्तो फोटो हाल्यो, सामाजिक सञ्जालमा कसले कस्ता मिम्स बनायो त्यही आजकल चासोको बिषय बनेको छ। हाँसिमजाकसम्म सीमित भए त यस्ता गतिविधि खासै समस्याजनक लाग्दैन थिए होला तर प्रविधिले एउटा गम्भीर समस्या उत्पन्न गराएको छ जसले साइबर बुलिङको रूप लिएको छ।
अहिले बालबालिकाका हातमा पनि फोन हुनु सामान्य भइसक्यो। आइप्याड किडहरूको आउँदो पुस्ताले नै इन्टरनेटको बिगबिगी प्रष्ट पार्छ। एकातर्फ इन्टरनेटले कनेक्टिभिटी बढाएको छ, अर्कातर्फ अनलाइन उत्पीडन, दुरूपयोग, शोषण र हानिकारक सामग्रीको जोखिम बढाएको छ।
नेपाली इन्टरनेट प्रयोगकर्ताहरूमध्ये ५० प्रतिशतभन्दा बढी ३० वर्षमुनिका छन्। औसतमा किशोरावस्थाका बालबालिका दैनिक कम्तीमा ४–५ घण्टा अनलाइनमा बिताउँछन्। अझ कोभिड–१९ पश्चात त इन्टरनेट प्रयोगकर्ता र अनलाइन समय उल्लेखनीयरूपमा बढेको छ। बालबालिका र किशोर/किशोरीहरूले धेरै समय बिताउने भएकाले, सोध्नुपर्ने प्रश्न यो हो कि हाम्रो भर्चुअल स्पेस कति सुरक्षित छ? गाली वा धम्की त सामान्यझैँ भइसकेको छ। कसैको फेक प्रोफाइल बनाएर भ्रामक समाचार फैलाउनु वा कसैलाई अनलाइन अपमान गर्नु, होच्याउनु साइबर बुलिङ नै मान्न सकिन्छ।
साइबर बुलिङ भन्नाले इन्टरनेट, सामाजिक सञ्जाल वा डिजिटल माध्यम प्रयोग गरी कसैलाई मानसिक, भावनात्मक वा सामाजिक रूपमा चोट पुर्याउनु हो। नेपाल प्रहरीको साइबर ब्युरोले आर्थिक वर्ष २०२२/२३ मा १७६ बालबालिका संलग्न साइबर अपराधका घटनाहरू रेकर्ड गरेको थियो भने आर्थिक वर्ष २०२३/२४ मा यो संख्या दुई सय ६० प्रतिशतभन्दा बढी ६३५ पुगेको छ।
अनलाइन दुर्व्यवहार र साइबर बुलिङका घटना व्यापक छन्। बदला लिन पूर्वप्रेमिकाको नग्न तस्बिर सार्वजनिक गर्नु वा अश्लील डिपफेक भिडियोहरू सिर्जना गर्नु यसका केही उदाहरण हुन्। रिभेन्ज पोर्न साइबर बुलिङको एकरूप हो जुन आजकल इन्टरनेटको पहुँचका कारण बढ्दै गएको छ। झट्ट हेर्दा यी सुनिरहेका कहानी जस्तै नै लाग्छन् तर यसका परिणाम गम्भीर छन। दुर्व्यवहार र अनलाइन उत्पीडनले पीडितको मानसिक स्वास्थ्यलाई मात्र असर गर्दैन, अरूसँग अन्तरक्रिया गर्ने उसको क्षमतामा पनि ह्रास ल्याउँछ। यसले लैङ्गिक हिंसा पनि बढाएको छ। अनलाइन बुलिङको दबाब सामना गर्न नसक्दा धेरै युवाले आत्महत्यासमेत गरेका छन्।
यो सबैको कारक हो– मिडिया साक्षरताको कमी। सबैभन्दा बढी इन्टरनेट प्रयोग गर्ने किशोर/किशोरीमा डिजिटल साक्षरताको चरम अभाव छ। यसबाहेक, इन्टरनेटले कोही कस्तो देखिनुपर्छ वा कस्तो व्यवहार गर्नुपर्छ भन्ने अवास्तविक अपेक्षाहरूको भर्चुअल संसार सिर्जना गरेको छ। इन्टरनेट र सेलिब्रेटीहरूले अनलाइनमा झुटा सौन्दर्य मापदण्ड सिर्जना गर्छन् जसको एउटा परिणाम अनलाइन बडिसेमिङ हो। यस्ता किसिमका दुरूपयोग सम्बोधन गर्न हाम्रो शिक्षा प्रणाली, समाज आफैँ पछाडि परेको छ।
अहिलेको एआई संसारमा हानिकारक अनलाइन सामग्रीको जोखिम झनै धेरै छ। आल्गोरिदमहरूले तपाईँलाई सजिलैसँग अश्लील वा ग्राफिक हिंसा चित्रण गर्ने अनलाइन सामग्री सुझाव दिन सक्छन्। युट्युब सर्टस्, इन्स्टाग्राम रिल, टिकटक भिडियो सबैले किशोर/किशोरीलाई सानै उमेरमा यस्ता कन्टेन्टसँग परिचित गराउँछन्। यस्ता कन्टेन्ट निरीक्षण गर्न अभिभावक असमर्थ मात्र छैनन् कतिपय अर्थमा अशिक्षित पनि छन्। उनीहरू घरमा त सन्तानलाई नियन्त्रण गर्छन् तर सामाजिक सञ्जालमा खुला छाडिदिन्छन्। सानैमा यस्ता अनुपयुक्त सामग्रीसँग एक्सपोजर भएपछि बालबालिका हिंसक, असंवेदनशील त बन्छन् नै, ‘कन्सेन्ट’ को अवधारणा पनि पनि बुझ्दैनन्।
साइबर बुलिङ र सम्बन्धित अपराधहरू समाधान गर्न नेपालमा विभिन्न व्यवस्था छन्, जस्तै– विद्युतीय कारोबार ऐन २०६३, राष्ट्रिय साइबर सुरक्षा नीति २०१५। केही कानुनी प्रावधान भए तापनि विशेषगरी किशोर/किशोरीका मुद्दाहरूका लागि साइबर कानुनमा सीमितता छ। त्यसैले पनि विद्यालयबाटै डिजिटल सुरक्षा शिक्षा पाठ्यक्रम शिक्षा समावेश गर्नु अत्यावश्यक भइसकेको छ।
हाम्रो साइबर ब्युरो सक्रिय होइन, प्रतिक्रियाशील छ। भन्नाले ब्युरोले घटना हुनुअघि रोकथाम गर्न खोज्दैन, घटना भएपछि मात्र केही गर्न खोज्छ। पीडितले उजुरी दिएपछि मात्रै ध्यान दिन्छ। पर्याप्त उपकरण र तालिम प्राप्त जनशक्ति नहुनु, कानुनी प्रक्रियामा ढिलाइ र सूचना उपलब्ध गराउनुपर्ने सामाजिक सञ्जाल सञ्चालक कम्पनीहरूको असहयोगले पनि यस्ता अपराध नियन्त्रणमा समस्या भइरहेको प्रहरीको दाबी रहँदै आएको छ।
अनलाइन उत्पीडन र दुव्र्यवहारका घटनाहरू रोक्न किशोर/किशोरीका लागि सुरक्षित डिजिटल स्पेस सिर्जना गर्नु महत्वपूर्ण छ। यसका लागि उमेर–उपयुक्त, विद्यालय–एकीकृत र सांस्कृतिकरूपमा प्रासांगिक राष्ट्रिय डिजिटल फ्रेमवर्कको आवश्यकता छ। शिक्षा, जागरुकता अभियान, कार्यशालाहरूमार्फत डिजिटल साक्षरता जरुरी छ। इन्टरनेट सुरक्षित बनाउन प्रविधि कम्पनी, विद्यालय र सरकारबीचको सहकार्य झनै महत्वपूर्ण छ।
हाम्रा युवालाई डिजिटल भविष्यका लागि सुसज्जित गर्दा उनीहरूलाई वर्तमानमा बाँच्नका लागि पनि तयार पार्नुपर्छ। कसैलाई मन लाग्यो भन्दैमा अरूलाई अपमानजनक र अमानवीय कुरा भन्न सक्ने अहिलेको स्वच्छन्दताले त्यस्तो वर्तमान निर्माण गर्दैन। यस्तो देखिन्छ कि हामी इन्टरनेटबिनाको संसारमा बाँच्न सक्दैनौँ। त्यसैले इन्टरनेट भएकै संसारलाई सुरक्षित बनाउनुपर्छ ।
प्रकाशित: १६ वैशाख २०८२ ०९:०२ मंगलबार