उनका अनुसार विगतमा धेरै व्यापार हुने भेडा र च्यांग्राका छाला बिक्रीमा रोक र यार्सागुम्बा लगायत स्थानीय उत्पादनको मूल्य नभएकाले मुस्ताङी व्यापारी मारमा परे। मेलामा झोङवासेन र लाब्राङ बजारका व्यापारीले तिब्बती उत्पादन बेचेको उनले बताए। तिब्बतीले निर्माण साम्रगी, लत्ताकपडा, भेडा, च्यांग्रा र घोडा समेत बेच्न पाए।
बर्खामा बेनी–जोमसोम सडक अवरुद्ध हुने भएकाले उपल्लो मुस्ताङको छोसेर, छोन्हुप, लोमान्थाङ, चराङ लगायतका बासिन्दाले तिब्बती सामान प्रयोग गर्छन्। यस वर्ष चिनियाँ तथा बहुराष्ट्रिय कम्पनीका मोबाइल र विद्युतीय सामानको समेत कारोबार भएको व्यापारी पासाङ गुरूङले बताए। उनका अनुसार करिब ४ करोड हाराहारी कारोबार भएको अनुमान छ।
मुस्ताङीले लामो समयदेखि मेलाको समय तालिका बदल्न माग गरिरहे पनि तिब्बतीले मानेका छैनन्। भदौमा मेला गरे सहज र सस्तोमा भेडा, च्यांग्रा लगायत देशका अन्य भागमा समेत लगेर बेच्न मिल्ने सामान किन्न पाइने मुस्ताङीको भनाइ छ। मेलामा साझँपख तिब्बती कला र संस्कृति देखाइन्छ।
कोरला नाकाको २४ नं पिल्लरबाट करिब २२ किलोमिटर पर तिब्बती भूभागमा आयोजित मेलालाई लक्ष्य गरेर चिनियाँ अधिकारीले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेका थिए। मेलामा अप्रिय घटना र दलाई लामाका अनुयायीको गतिविधि हुनसक्ने भन्दै विगतमा भन्दा कडाइ गरेको मेलामा गएका मुस्ताङीले बताए। मेलाबाट फर्किनेले ल्याउने सामानलाई लक्ष्य गर्दै यसपालि वर्षौंदेखि बन्द नेचुङ भन्सार कार्यालय समेत खुला राखिएको थियो। तर मोटरसाइकल, ट्याक्टर जस्ता सवारी साधनको खरिद–बिक्री नहुँदा भन्सारले अपेक्षित राजस्व संकलन गर्न पाएन। विगतमा बिनाभन्सार मोटरसाइकल नेपाल ल्याइन्थ्यो। यसपालि मुस्ताङ प्रशासनले भन्सार संकलन गर्न थालेपछि तिब्बती व्यापारीले फर्काएका थिए। ‘भन्सारले अवैध आयात रोक्न सफल भएको छ। अब नियमित सञ्चालनमा आउँछ,’ मुस्ताङका प्रमुख जिल्ला अधिकारी नरहरि बरालले भने।
उनले भन्सार कार्यालय र सीमा प्रहरीले सामानको निगरानी गरेको बताए। सन् २००२ मा मुस्ताङ र तिब्बतबीच भएको सहमति अनुसार दुई देशका बासिन्दा ३० किलोमिटरसम्म निर्वाध आवतजावत गर्न पाउने भएपछि मेला आयोजना गर्न थालिएको थियो।
प्रकाशित: १४ असार २०७२ २०:१२ सोमबार



