अन्तर्वार्ता

‘स्थापित पार्टीबाहेक जनताले अरूलाई पाखा लगाइदिन्छन्’

यतिबेला रौतहट क्षेत्र नं १ को गौर नगरपालिका तीन दिनदेखि अशान्त छ। पूर्वप्रधानमन्त्री माधव नेपाल सोही क्षेत्रको उम्मेदवार रहेका छन्। विगतमा आफूले गरेका कामको अडिट रिपोर्ट लिएर उनी मतदातासँग मत मागिरहेका छन्। घरदैलो गरिरहेका नेपालसँग नागरिक दैनिकका मधेस ब्युरो प्रमुख मिथिलेश यादव र प्रमुख संवाददाता टपेन्द्र कार्कीले रौतहटस्थित उनकै घरमा गरिएको संक्षिप्त कुराकानीको सम्पादित अंश प्रस्तुत गरिएको छ। अन्र्तवार्ताको सम्पूर्ण विवरण नागरिक न्युजको भिडियोमा राखिएको छ।

लामो समयदेखि जनताका बिचमा हुनुहुन्छ, यसबिचमा यहाँले जनताको सोच्ने शैलीमा के फरक पाउनुभयो त?

विकासका चाहना, सत्तामा हुँदा हामीले पूरा गर्नुपर्ने हो र प्रतिपक्षमा बस्दा आवाज उठाउने हो। जनप्रतिनिधि भएर जाँदा भूमिका निर्वाह गर्ने र सरकारलाई दबाब दिने हामीले हो। हामीले खेलेको भूमिकाको जनताले मूल्यांकन गरिरहेका छन्। शासन सत्तामा बस्दा वा जनप्रतिनिधि भएर जाँदा केके काम गरियो, जनताका हित र विकासमा केके गरियो त्यो जानकारी जनतालाई चाहिएको छ। हुन त विपक्षीहरू नकारात्मक प्रचार गर्छन् नै। त्यो उनीहरूको धर्म नै हो भनूँ। तर झुटो त बोल्नुभएन, साँचो डग्दैन। उनीहरू जुन भवनमा बसेर मसित प्रश्न गर्छन् कि माधव नेपालके के गर्नुभयो? त्यो भवनको शिलान्न्यास र उद्घाटन पनि मैले नै गरेको हुँ। बाहिर राखिएको शिलालेखमा मेरै नाम छ।

गौर–चन्द्रनिगाहपुर सडक मेरै पहलमा बनेको छ। क्वालिटीको टु लेन सडकमा उभिएर उनीहरू प्रश्न गर्छन्– माधव नेपालले के गरे? नैतिकता पनि हुन्छ नि। अहिले यो सडक चार लेनको छ। मैले विशेष पहल गरेर मेरै पार्टीका मन्त्रीले छुट्याएको आठ अर्ब रुपैयाँको अर्को सडक जसलाई केपी ओलीले घटाएर दुई अर्बको योजना बनाए त्यो पूरा भएको छ। मैले राखेको योजनाबाट उब्रेको रकम झापामा लगे। यहाँको योजना घटाउने र बिगार्ने पनि एमाले हो। कांग्रेस हो।

उनीहरूसँग विभिन्न सरकारमा बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि ठिक होइन। के गर्‍यो रास्वपाले? रास्वपा सरकारमा हुँदा यो जिल्ला र क्षेत्रका लागि केके काम गर्‍यो? जसपाले के गर्‍यो? तुलनात्मक हिसाबले हेर्नुपर्‍यो जनताका निम्ति समर्पित भएर लागेको व्यक्ति को? माधव नेपालले केके गर्‍यो भनेर पनि हेरौं।

तपाईं त धेरै वर्ष रौतहटको जनप्रतिनिधि हुनुभयो, प्रश्न त गर्छन् नि?

गर्नुपर्छ र हेर्नु पनि पर्छ। मैले नै बागमती र बकैया तटबन्ध बनाउन भूमिका खेलेको हुँ। बाढीबाट गौर जोगाउने प्रयास गरेको हुँ। हरेक वर्ष बाढीले तटबन्ध भत्काउँछ र फेरि मर्मत हुन्छ। मर्मत–सम्भारको आवाज उठाउने पनि मै हुँ। यो वर्षैपिच्छेको समस्या हो। भारतमा बाँध र सडक बनिसकेकाले बागमती र बकैयाको पानीलाई कसरी निकास दिने भनेर भारत सरकारसँग कुरा गर्नुपर्ने आवश्यकता छ। जहाँसम्म विकासको कुरा छ, त्यसको फेहरिस्त हामीसँग छ।

रौतहटका सडकको कुरा गरौं। ५२ किमीको गौर, यमुनामाई–राजदेवी जोड्ने ग्रामीण सडक, गौर–पिपरा सडक, शिक्षा क्षेत्रमा पोलिटेक्निक इन्स्टिच्युट, नर्सिङ कलेज स्थापना, मंगलकुमारय कलेज, कोल्ड स्टोर, कृषि सेवा केन्द्र स्थापना गर्नेमा मैले भूमिका खेलेको छु। तीनवटा कृषि एम्बुलेन्स उपलब्ध गराइएको छु। कृषि, खानेपानी तथा ढल निकासका कुरा, ढलान र पिच, पुलका अनेकौं कार्य मेरो पहलमा भएका छन्।

भनेपछि महत्त्वपूर्ण काम भएका छन् त?

गौरदेखि बैरगनियासम्मको पुल, सात सालका योद्धा लक्ष्मीप्रसाद सिंहको सम्मानमा क्रान्तिद्वार बनाइएको छ। शेख फरमान जस्ता योद्धाका नाममा सडक, भवन र अन्य विकास गरी क्रान्तिका योद्धाहरूको सम्मान गरेका छौं। अन्य विकास निर्माणका काम भइरहेका छन्। रोजगार र उद्योगधन्दा यहीं खोल्नका लागि मैले सोचिरहेको छु, वातावरण बनिरहेको छ। बन्द रहेको गरुडाको चिनी मिलका लागि आवाज उठाइरहेको छु। यति मात्र होइन, मेडिकल कलेजको विषय अगाडि बढाएको छु।

 मेरो समयमा सामाजिक सुरक्षाको विशेष व्यवस्था भएकै हो। जनता आवासको योजना चलेको हो। दलितहरूको आवास बनाइदिनुपर्छ। यस विषयमा अझै पनि सोचेजस्तो लागेको छैन। पार्टी घोषणापत्रमा पनि हामीले धेरै कुरा राखेका छौं। जिल्लाका सबालमा पनि धेरै काम गर्न सकिन्छ। मध्यपहाडी लोकमार्ग, पोलिटिकल इन्स्टिच्युट, नर्सिङ क्याम्पस, हुलाकी राजमार्ग, फास्ट ट्र्याकका कुरा मेरै पालामा भएका हुन्।

३२ वर्षदेखि राजनीतिको केन्द्रमा रहनुभयो, महत्त्वपूर्ण काम गर्नुभयो। यी विकासको जगमा परिवर्तनको सबालमा युवाले उठाइरहेको आवाजमा यहाँको धारणा के हो?

जेनजी आन्दोलनभन्दा केही पहिले २०८१ सालमा हामीले मेचीदेखि महाकालीसम्म समाजवादी यात्रा निकालेर सम्पन्न गरेका थियौं। त्यो यात्राको नारा थियो– सुशासन र रोजगारी, समाजवादको तयारी। त्यसको केही समयपछि आन्तरिक छलफल गरेर पार्टी एकीकरणतर्फ हामी अगाडि बढ्यौं। आजको नयाँ पुस्ता जसलाई जेनजी पनि भनिन्छ, उनीहरूले उठाएका माग जायज थिए, उचित थिए। ती माग सरकारले पूरा गर्न सक्थ्यो, कमिटी बनाउन सक्थ्यो र आवश्यक कदम चाल्न सक्थ्यो तर बेवास्ता ग¥यो, जसका कारण आन्दोलन भयो। युवा मारिए। भदौ २४ मा जुन विध्वंस मच्चाइयो, त्यो जेनजीले गरेको होइन। तोडफोड गर्ने, आगजनी गर्ने ती लुटेराहरू को हुन् ? ती अहिलेसम्म गिरफ्तार भएका छैनन्। सर्वोच्च अदालत र सिंहदरबारमा आगो लगाउने काम घन्टीहरूले नै गरेका हुन्।

त्यसो भए उनीहरूले उठाएका रूपान्तरणका मुद्दा जायज छैनन्?

जेनजीका मुद्दा जायज छन् तर तिनीहरूलाई पार्टीसित जोड्नु जायज छैन किनभने जेनजी त हाम्रो पार्टीमा ठुलो संख्यामा आएका छन्। उनीहरूका आर्थिक एवं सामाजिक रूपान्तरणका मुद्दा ठिक छन्। उनीहरूका मुद्दासँग हामी सहमत छौं तर जेनजीले उठाएका माग जायज हुँदा पनि सरकारले वार्ता गर्न चाहेन। त्यसकारण उनीहरू भदौ २३ मा आन्दोलनमा गए। २४ गते विध्वंस भयो।

रास्वपाले जेनजी आन्दोलनको स्वामित्व हामी लिन्छौं भनिसक्यो नि?

हामीले देखिसक्यौं नि, यो सरकारको काम गराइमा जेनजीले पनि असन्तुष्टि व्यक्त गरिसक्यो। जेनजीहरूको ठुलो समुहले नेपाली कम्युनिस्ट पार्टीप्रति विश्वास गरिसकेको छ। जेनजी, आदिवासी, दलित, मधेसी, मुस्लिम, थारू, भेदभावको सिकार भएका जनताका माग उठाउने यही पार्टी हो।

जेनजीले उठाएको पुस्तातरणको मागका विषयमा नेपाली कम्युनिस्ट पार्टीको धारणा केकस्तो छ?

यस विषयमा हामी पहिल्यै सचेत भइसकेका छौं कि मुख्यगरी कार्यकारी राजनीतिक पद लिने विषय नयाँ पुस्तालाई सुम्पेर हामीले बिदा लिनुपर्छ। अहिलेका प्रधानमन्त्री हामीभन्दा बढी उमेरको हुनुहुन्छ। नेतृत्व त बिस वर्षकालाई दिनुपर्थ्याे। बंगलादेशको निर्वाचन हेर्नुस्। त्यहाँका जनताले स्थापित पार्टीबाहेक हावाहुरीलाई पाखा लगाइदिए।

 हावाहुरीमा त टाउको जोगाउने हो र जोगिने हो। एकएक अनुसन्धान गर्ने हो भने तिनीहरूको सत्यतथ्य जनताका माझमा आउला नै। हाम्रो मुलुकको हकमा अहिले भएका पार्टीमध्ये तारा चुनाव चिन्ह भएको नेपाली कम्युनिस्ट पार्टी नै जनताको आकर्षणको केन्द्र बनेको छ, जनताको आकर्षण बढ्दो छ। नेपाली कांग्रेस, नेकपा एमाले, रास्वपा, जसपा परित्याग गरेर नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने हजारौं छन्।

अब यो चुनाव पुस्तान्तरणको वा रूपान्तरणको वा के हुन्छ त?

हामीले भनेकै छौं – जहिले पनि तीनवटा पुस्ताको संयोजनमा पार्टी चल्नुपर्छ। तीनवटा पुस्ताको सहकार्यमा देश चल्नुपर्छ। एउटासित अनुभव छ, अर्कोसित बुद्धि छ र अर्कोसित ज्ञान छ। पार्टीमा ज्ञान, बुद्धि र अनुभवको संयोजन चाहिन्छ र तीनवटै पुस्ताको महत्त्वपूर्ण भूमिका रहन्छ।

त्यसो भए नेपाली कम्युनिस्ट पार्टीले पुस्तान्तरण गर्छ भन्न सकिन्छ त?

हामीले महाधिवेशनको समयमा ४० वर्षभन्दा कम उमेरका युवालाई पनि केन्द्रीय कमिटीमा ल्याएका छौं। त्यो क्रम अहिले पनि जारी छ। जिल्ला तहमा उनीहरूकै बहुमत होस् र माथिल्लो तहमा पनि आओस् भन्ने हाम्रो चाहना छ। किनभने फलाम जबसम्म तात्दैन, तबसम्म खारिँदैन। युवाहरूलाई खार्नका लागि तल्लो तहदेखि नै जिम्मेवारी दिँदै अगाडि बढ्नुपर्छ। यही नै हाम्रो सोच र नीति रहेको छ।

अब यहाँको निर्वाचन क्षेत्रतर्फ हेरौं। तपाईं बत्तीस वर्षदेखि राजनीतिको केन्द्रमा हुनुहुन्छ, प्रतिनिधित्व पनि लगातार गर्नुभएको छ, त्यतिबेला केके जटिलता थिए र अहिले केके छन्?

म २०४८ र २०५१ सालको निर्वाचनमा उठेको थिइनँ, अरू नै उठेका थिए। २०५६ सालमा चुनावमा भाग लिएँ र जितें पनि। २०६४ मा यहाँबाट उठेको होइन। २०७० मा चुनाव लडें र जितें। २०७४ मा चुनावमा उठिनँ। त्यसपछि २०७९ मा चुनाव लडें र जितें। म तीनपटक चुनावमा उम्मेदवार बनें र जितें पनि। अरुले जितेर केके गरे र मैले केके गरें तुलना गरेर हेर्दा भैगो। बाटाघाटा, रोजगार, पुलपुलेसा, संरचना, शिक्षा, स्वास्थ्य क्षेत्रमा ककसले केके गरे तुलना गरेर हेर्दा हुन्छ। यो ठाउँ मेरो जन्मभूमि र कर्मभूमि पनि हो। यो ठाउँसँग मेरो भावनात्मक सम्बन्ध छ। मेरो परिवार यहाँको प्रतिष्ठित परिवार भएकाले यो मेरो लागि गौरवको ठाउँ हो।

अहिले जनताका बीचमा जाँदा देख्नुभएका खास समस्याचाहिँ केके हुन्?

अशिक्षा, बेरोजगारी, बेहाली, सामाजिक पछौटेपन आदि। खर्चिलो विवाह यहाँको अर्को प्रमुख समस्या हो। बिना दाइजो विवाह नै हुँदैन यहाँ। यी सबै समस्याको समाधान गर्न सामाजिक, आर्थिक र सांस्कृतिक रूपान्तरण आवश्यक छ। पढाउँदै सीप सिकाउँदै गर्नुपर्छ। राष्ट्रप्रेम भएको असल नागरिक बनाउनुपर्छ।

यी मुद्दा विपक्षीले पनि उठाउलान् र मतदातामाझ लैजालान्। यो चुनावमा तपाईंको प्रतिस्पर्धी दल कुन हो?

चुनावमा उठेका जति सबै प्रतिस्पर्धी नै हुन्छन्, तर कुन नेताको कति हैसियत छ, त्यो जनताले थाहा पाइसकेका छन्। कुन नेताबाट कति काम हुन सक्छ। देश र राष्ट्रकै गौरव बढ्छ। दुनियाँमा नेपालको पहिचान बढाउन कसले सक्छ। जिल्लाको सान र मान बढाउन सक्ने नेता को हो भन्नेबारेमा जनताले बुझिसकेका छन्। त्यसकारण जनताप्रति मेरो भरोसा छ।

भनेपछि तपाईं आशावादी हुनुहुन्छ त?

म त छु। जसलाई कसैले वास्ता पनि गर्दैन, कसैले चिन्दा पनि चिन्दैन, महत्त्व पनि दिँदैन, तिनीहरूको पछि लागेर पछुताउने काम अब जनताले गर्दैनन्। सुझबुझसहित जनताले मतदान गर्छन्। म जनताको परीक्षामा छु।

प्रकाशित: १० फाल्गुन २०८२ ०८:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App