पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेले भीमफेदीको दुर्घटना हुनुमा सुरक्षाकर्मी तथा ट्राफिक प्रहरीको कमजोरी भएको बताएका छन्। उनले पाँच ठाउँ चेकजाँच भएको गाडी क्षमताभन्दा बढी यात्रु राखेर कसरी त्यहाँसम्म पुग्यो भन्ने सवालमा यो सरासर सुरक्षाकर्मी अथवा ट्राफिक प्रहरीको कमजोरी भएको बताएका हुन्। उनले सडक दुर्घटना प्रतिरोधी बनाउन सकियो भने चालकको सानो गल्ती पनि ठुलो दुर्घटना रोक्न सक्ने भनाइ राख्छन्। उनले नेपालका सडकहरू पूर्ण रूपमा सुरक्षित कुनै पनि नरहेको बताउँछन्। प्रस्तुत छ सडक सुरक्षाबारे नागरिकन्युजले सभापति गजुरेलसँग गरेको कुराकानीको सम्पादित अंश:
नेपालमा बर्सेनि हृदयविदारक सडक दुर्घटनाहरू भइरहेका छन्। चालकलाई मात्र दोष दिएर कहिलेसम्म पन्छिने? कमजोरी के को?
नेपालमा बर्सेनि धेरै दुर्घटना हुन्छन्। करिब २५०० जना व्यक्तिले सडक दुर्घटनामा ज्यान गुमाउनु परेको छ। तर यो दुर्घटनाको दोष चालकलाई मात्र थुपारेर हामीलाई उम्किने छुट छैन। किनभने चालकको कारणले मात्र सबै दुर्घटना भएका होइनन्। हाम्रो सडक सुरक्षा भनेको एउटा सिस्टममा हेर्नुपर्छ। त्यो सिस्टममा सडक पूर्वाधार पर्छ। त्यहाँ चल्ने सवारी साधन पर्छन्। त्यसपछि सडक प्रयोगकर्ता पर्छन्। त्यो सडक प्रयोगकर्तामा चालक पर्यो, सहचालक पर्यो, पैदलयात्री पर्यो, मोटरसाइकल यात्री पर्यो साइकल यात्री पर्यो र अन्य सडक प्रयोगकर्ता पर्यो त्यो मध्ये एउटा चालक पनि हो। त्यसपछि हाम्रो नियम कानुन कस्ता छन् नियम कानुनका लागु कसरी गरिएको छ? जनचेतनाको कार्यक्रमहरू लागु गरिएका छन् कि छैनन् र हामी प्रविधिमैत्री छौँ कि छैनौँ भन्ने कुरा एउटा सिस्टम हो। यो सिस्टम सुधार नभएसम्म सडक सुरक्षित हुँदैन त्यही भएर चालक भनेको यो सडक सुरक्षाको सिस्टमभित्र पर्ने एउटा सरोकारवाला व्यक्ति हो उसको कारणले पनि धेरै दुर्घटना भैराखेका छन् तर पनि चालककै कारणले सबै दुर्घटना भएका हैनन्। जस्तै उदाहरणको लागि एउटा खराब सडकमा कुनै सवारी चल्छ भने त्यहाँ चालकको सानो कमजोरीले पनि ठुलो दुर्घटना हुन सक्छ।
नेपालमा बनेका पूर्वाधारहरू चाहे सडक हुन् वा भवनहरू, कत्तिको विश्वास गर्न योग्य छन्?
नेपालमा बनेका पूर्वाधार चाहे सडक हुन् चाहे भवनहरू हुन् कति सुरक्षित छन् भन्ने सवालमा विशेष गरेर सार्वजनिक संरचनाको कुरा गर्दा विश्वास गर्न योग्य छन्। तर सडकको कुरा गर्दा हाम्रो करिब १ लाख ७ हजार किलोमिटर सडक संजाल छन् तर पूर्ण रूपमा सुरक्षित सडक कुनै पनि छैनन्। सडक सुरक्षाको सम्पूर्ण कम्पोनेन्ट भएका सडकहरू एकदम न्यून छन्। त्यही भएर हामीले भन्ने गरेका छौँ सडकहरूको अडिट गरौँ, अध्ययन गरौँ र क्रमिक रूपमा सुधार गर्दै लगौँ। कतिपय सडकहरू छन् जुन सवारी गुड्न योग्य नै छैनन्। तै पनि हामीले गुडाइराखेका छौँ। इतिहास हेर्नुभयो भने हाम्रो नेतृत्व तहमा बस्ने व्यक्तिहरूले अब सडक पहुँच सबैको पहुँचमा पुग्नको लागि ट्रयाक खोलियो त्यही भएर गुणस्तरीय सडक बनाउनु भन्दा धेरै सडक बनाउन तिर हाम्रो ध्यान गयो। त्यो कुनै कालखण्डमा जरुरत पनि थियो किनभने बिरामी हुँदा पनि अस्पताल पुर्याउन, स्कुल जान, कलेज जान, काममा जानको लागि सडकको आवश्यकता पर्छ। सडक भनेको पूर्वाधारको पनि पूर्वाधार हो। त्यही भएर हाम्रो थोरै स्रोतबाट धेरै सडक बनायौँ। त्यसैले हाम्रा प्राय: सबै सडकहरू पूर्ण रूपमा सडक सुरक्षाको मापदण्डमा निर्माण भएका छैनन्। यस कारण हाम्रो सडकको अवस्था सुरक्षित छैनन्। हामीले सुधार गर्ने प्रयास गरिराखेका छौँ। बिस्तारै क्रमिक रूपमा सुधार हुँदै जान्छ। घरको विषयमा अथवा सार्वजनिक भवनको कुरा गर्नुहुन्छ भने सार्वजनिक भवनहरू धेरै हदसम्म मापदण्डमा बनेका हुन्छन् किनभने पालिकाहरूले पनि नक्सा पास गर्नुपर्ने हुन्छ। घर र सडकको यो संरचनागत पनि फरक हो। घर सडक बनाउन धेरै महँगो पर्छ भने अब संरचना जस्तै भवन हामी धेरै बनाउनु पनि पर्दैन। त्यही भएर हामीले विशेष गरेर हाम्रो सडक व्यापक रूपमा सुधार गर्नै पर्छ।
भीमफेदी दुर्घटनामा केन्द्रित हुने हो भने क्षमताभन्दा बढी यात्रु बोकेको माइक्रो पाँच ठाउँको सुरक्षा जाँच पार गरेर कसरी त्यहाँ पुग्यो? यसमा दोषी को?
भिमफेदीको दुर्घटनाको सन्दर्भमा अब पाँच ठाउँ चेकजाँच भएको क्षमताभन्दा बढी यात्रु राखेर कसरी त्यहाँसम्म पुग्यो भन्ने सवालमा यो सरासर चेकजाँच गर्ने सुरक्षाकर्मी अथवा ट्राफिक प्रहरीको यो कमजोरी हो। यो विषयमा मैले ट्राफिक प्रहरी प्रमुखजूसँग पनि मैले कुरा गरेको छु। विशेष गरेर यति धेरै सवारी साधन गुड्छन् हाम्रो ट्राफिक प्रहरीको संख्या पनि कम छ। हामी प्रविधिमैत्री नहुने हो भने ट्राफिक प्रहरीले म्यानुअल्ली एक-एक वटा गाडी चेक गर्दै बसेर यो समस्याको समाधान हुँदैन। किनभने यो त एउटा उदाहरण मात्र हो, हाम्रो देशमा एक लाख ७ हजार किलोमिटरभन्दा बढी सडक संजाल छन्, ति सबै सडकको सबै खण्डमा ट्राफिक प्रहरी उभिएर चेकजाँच गर्नलाई सम्भव पनि छैन। त्यही भएर हामी प्रविधिमैत्री हुनुपर्छ। हामीले पूर्वाधार विकास समितिबाट पनि ट्राफिक प्रहरी जिरो हुनुपर्छ सडकमा प्रविधिमैत्री सडक यातायात हुनुपर्छ भनेर सुझाव सरकारलाई दिएका पनि छौँ। संसारभरि व्यवस्थित देशहरूमा देख्नुभयो भने पनि ट्राफिक प्रहरी हामी सडकमा देखिँदैन तर कोही चालकले ट्राफिक नियम मिच्यो भने ३० सेकेन्डमा ट्राफिक प्रहरी आएर उसलाई कारबाहीको दायरामा लग्छ। अथवा प्रविधिकै माध्यमबाट उसलाई जरिवाना इमेल अथवा एसएमएस अथवा म्यासेज मार्फत पठाउने व्यवस्थापन हुन्छ। त्यही भएर भिमफेदीमा जुन पाँच ठाउँमा चेकजाँच हुने ठाउँमा पनि ओभरलोड गाडी गएको छ। यो सरासर आजको हाम्रो सिस्टम हेर्ने हो भने ट्राफिक प्रहरीकै कमजोरी यसमा प्रष्ट रूपमा देखिन्छ। आगामी दिनमा यसमा सतर्क हुनलाई मैले सम्बन्धित निकायलाई सूचित गरिसकेको छु। जबसम्म हामी प्रविधिमैत्री हुँदैनौँ यस्तो कुरा दोहोरिरहन्छ। ट्राफिक प्रहरीले मात्र सबै सवारी चेकजाँच गर्न सम्भावना पनि छैन। हामी सुधार गर्छौँ। सरकार यो सुधारमा लागेको छ।
बर्सेनि बाढीपहिरोले बगाएका सडकहरू टालटुल पारेर प्रयोगमा ल्याइन्छन्। पहिरो वा नदीले आधा पुरेका घरहरूमा मानिसहरू बसेका छन्। व्यापार गरेका छन्। तर यसको दीर्घकालिन समाधानमा सरकारको ध्यान किन जान नसकेको?
नेपालमा बर्सेनि बाढी जान्छ। पहिरो जान्छ। त्यो बाढीले त्यो पहिरो सडकहरू बगाउँछ सडकहरू बिगार्छ। बस्तीहरू बगाउँछ र फेरि त्यही सडकलाई अस्थायी निर्माण गरिन्छ। जुन बोलिचालीको भाषामा टालटुल गरेर सडक चलाइन्छ। त्यही बस्तीहरूमा फेरि घर ठड्याइन्छ। त्यहाँ बसोबास गरिन्छ र त्यहाँ व्यापार व्यवसाय पनि सुरु हुन्छ। यो हाम्रो चलिराखेको विषय हो। अब यो किन हुन्छ भनेर धेरैले सोध्नु पनि हुन्छ। अब यसको एउटा उदाहरणबाट सुरु गरौँ। जस्तो भर्खरै भोटेकोशीमा यो फ्ल्यास फ्लड गयो। त्यसले गर्दा अब ४० किमटर नुवाकोटबाट रसुवा जाने सडक पूर्ण रूपमा बगायो। हामी स्थायी सडक बनाउँछौँ, चार/पाँच वर्ष लाग्छ भन्ने त हामीसँग त्यो सहुलियत छैन। हामीले तुरुन्त बनाउनु पर्यो। किनभने नुवाकोटबाट रसुवागढीसम्म धेरै बस्तीहरू छन्। त्यहाँ हामीले सवारी साधन गुडाउनु पर्यो। र त्यही भएर चाँडो गर्नको लागि र हामीसँग स्रोतको कमी भएको हिसाबले हामी स्थायी रूपले ट्रयाक खोल्छौँ र त्यहाँ सवारी साधन चलाउँछौँ, जसलाई अब आम नागरिकले फेरि टालटुले बनाएर चलाए पनि भन्नुहुन्छ। हामीलाई त्यो चाँडो चाहिएको भएर त्यसो गरेको हो। अब दोस्रो हाम्रो स्रोतको कमी छ। जस्तै हाम्रो यसपालिको बजेट तथा कार्यक्रम हेर्नुभयो भने पुँजीगत खर्चको लागि हामीले छुट्याएको भनेको ४३१ अर्ब रुपैयाँ हो। अब ७ वटा जिल्लामा ४३१ अर्बले सम्पूर्ण पूर्वाधार बनाउनुपर्ने छ। अब सडक खानेपानी, फोहोरमैला हैन ऊर्जा लगायत पूर्वाधारहरू बनाउनु पर्छ। त्यो त एकदमै कम हो। त्यतिले एउटा जिल्लाको आवश्यकता पनि परिपूर्ति हुँदैन। त्यही भएर हामीले यस्ता स्रोत कम हुने हुँदा र एकदम तुरुन्त चाहिने हुँदा अस्थायी रूपले ट्रयाक खोल्छौँ र त्यहाँ सवारी साधन चलाउँछौँ। यसरी अस्थायी रूपले ट्रयाक खोल्दा हामीले रिटेन्सन वालहरू पनि कति ठाउँ लगाउन पाउँदैनौँ। त्यसले गर्दा फेरि पहिरो जाने, बाटो बिग्रिने यो हामीले अनुभव गरिराखेको हो। बस्तीको विषयमा सरकारले बस्तीलाई व्यवस्थित बनाउनु पर्छ भनेर भनेको छ। खोलानालाको बस्ती हटाउनु पर्छ भनेर। जस्तो हाम्रो अहिले सम्माननीय प्रधानमन्त्रीज्यू काठमाडौं महानगरपालिकाको मेयर हुँदै काठमाडौंमा खोलानालाको छेउको बस्तीहरू जोखिम हो भनेर हटाउनु भयो। जुन एउटा एकदमै प्रभावकारी र राइट डिसिजन भयो। त्यसरी नै विभिन्न ठाउँमा बस्ती व्यवस्थापन अब हामीले गर्ने भनेका छौँ। त्यसको अध्ययन पनि हामीले सुरु गर्छौँ। तर अब कतिपय मानिसहरू हुनुहुन्छ जसको बस्तीमा आफ्नो सेन्टिमेन्ट जोडिएको हुन्छ, आफ्नो अस्तित्व त्यहाँ खोजिरहनु भएको हुन्छ। त्यसले गर्दा अलिकति बस्ती व्यवस्थापनको लागि समय लाग्छ तर हामी त्यसमा लागेका छौँ र दर्घकालीन रूपमा राम्रो सडक बनाउने बस्तीलाई व्यवस्थित र सुरक्षित बनाउने त्यो अभियानमा यो सरकार केही समय लागे पनि अघि बढ्छ। हाम्रो स्रोतको कमी छ त्यही भएर हामीले निजी क्षेत्रलाई पनि लगानी गर्नको लागि भनिराखेको छौँ। निजी क्षेत्र र राज्य क्षेत्रको लगानीले हामी देश बनाउने परिकल्पना हामी गरिराखेका छौँ। निजी क्षेत्रलाई पूर्वाधारमा लगानी गर्नलाई हामीले आह्वान गरिराखेका छौँ। त्यो अनुसारले हामीले नीतिनियम पनि निर्माण गरिसकेका छौँ। त्यो अनुसारले हाम्रो संस्थाहरू पनि रेडी छन्। त्यही भएर अब सार्वजनिक निजी साझेदारीलाई हामी प्राथमिकतामा राखेर हाम्रो पूर्वाधारको निर्माणलाई हामी गति दिन्छौँ।
तपाईं त पूर्वाधार विज्ञ पनि हुनुहुन्छ। अहिले सांसद् भएपछि पूवाधार विकास समितिको नेतृत्व पनि गरिरहनु भएको छ। देशैभरका सडकहरू मध्ये कति वटा सडक छन्, जहाँ यात्रुहरू ढुक्कले यात्रा गर्न सक्छन्? जहाँ ढुक्कले चालकले स्टेरिङ चलाउन सक्छन्?
म पूर्वाधार इन्जिनियरिङ पढेको विद्यार्थी अहिले सांसद भएर पूर्वाधार विकास समितिको सभापति बनेको छु। स्वाभाविक रूपमा धेरै जनाले पत्रकार साथीहरू र अन्य साथीहरू अन्य व्यक्तिहरूले पनि मलाई सोध्नुहुन्छ। तपाईँ राइट ठाउँमा पुग्नुभएको छ के के सुधार गर्नुभयो? तपाईँ पूर्वाधार विकास समितिमा भएर पनि दुर्घटना रोकिन सकेको छैन, यातायात व्यवस्थापन हुन सकेको छैन। सार्वजनिक यातायात जस्ताको तस्तै छ भन्ने कुरा धेरै प्रश्न गर्नुहुन्छ। यसले मलाई चिन्तित पनि बनाउँछ। दुखित पनि बनाउँछ तर चिन्ता गरेर बस्ने होइन हामी सुधारको क्रममा लागेका छौँ। अहिले पूर्वाधार विकास समितिबाट धेरै पटक हामीले सडक सुरक्षाको विषयमा पूर्वाधार विकास मन्त्रीज्यूसहित सरोकारवाला निकायसँग छलफल गर्यौ। सार्वजनिक यातायात व्यवस्थापन विषयमा छलफल गर्यौँ। सडक सुरक्षाको विषयमा छलफल गर्यौँ। सडक यातायातलाई पूर्ण रूपमा प्रविधिमैत्री बनाउने विषयमा हामीले छलफल गर्यौँ। सडक सुरक्षा विधेयकलाई चाँडोभन्दा चाँडो प्रतिनिधि सभामा पेस गर्नुस भनेर हामीले पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दियौँ। आज सडक सुरक्षा विधेयक प्रतिनिधि सभामा दर्ता भएको छ हामी त्यसलाई चाँडोभन्दा चाँडो पास गर्छौँ र त्यो ऐन आएपछि हामी सडक सुरक्षा परिषद गठन गर्छौँ। सडक सुरक्षा परिषदले २४सै घण्टा सडक सुरक्षा हेर्छ आज हेर्नुहुन्छ भने हाम्रो २४सै घण्टा सडक सुरक्षा हेर्ने कुनै पनि निकाय छैन त्यस्तो खालको हामी निकाय बनाउँछौँ। हामी सडक सुरक्षित बनाउनको लागि हामी कटिबद्ध छौँ भन्ने कुरा त ऐनको जुन हामीले अहिले पास गर्नको लागि विधेयक प्रस्तुत गरेको छौँ त्यसबाट प्रष्ट हुन्छ। यो साथसाथै सार्वजनिक सडक ऐनलाई पनि हामी संशोधन गर्दैछौँ। यातायात व्यवस्थापन ऐनलाई पनि हामी संशोधन गरेर अहिलेको बदलिँदो परिवेश अनुसारले हामीले ऐन कानुन बनाउँदै छौँ। पहिला नीतिगत रूपमा हामी स्पष्टता ल्याएपछि हामी त्यसलाई कार्यान्वयनमा लगेर हामी यातायात व्यवस्थापन गर्छौँ। हाम्रो अब ट्राफिक प्रहरी जिरो सडकमा हुने गरी हामी प्रविधिमैत्री यातायात व्यवस्थापन गर्ने भन्ने लक्ष्यका साथ अगाडि बढेका छौँ। सडकहरू सुरक्षित छैनन् कुनै सडक पनि अहिले सुरक्षित अवस्थामा छैन ढुक्क भएर यात्रा गर्न सक्ने अवस्थामा छैन। त्यो हामी क्रमिक रूपमा सुधार गर्छौँ र सडकमा हाम्रो भिरालो सडक छ सडकमा रोड सेफ्टी ब्यारियर अनिवार्य रूपमा हाल्नको लागि हामीले पूर्वाधार विकास समितिबाट निर्देशन पनि दिएका छौँ। सडकको अडिट गर्ने भएका सडकको अध्ययन गर्ने क्रमिक रूपमा सुधार गर्दै जाने भन्ने कुरा पूर्वाधार विकास मन्त्रालयले सुरु पनि गरिसकेको छ। त्यस्तै सवारी साधन चेकजाँचको लागि पनि हामीले यो फिटनेस सेन्टर अब निजी क्षेत्र मार्फत पनि अगाडि बढाउने हिसाबले हामीले अगाडि बढाउँदै छौँ। चेकजाँच एकदमै राम्रो बनाउनु पर्छ भनेर हामी त्यो कार्यक्रम लिएर आउँदै छौँ। त्यस्तै जनचेतनाको कार्यक्रम र एउटा चालकले गल्ती गर्यो भने कडा कारबाही गर्ने भन्ने कुरा पनि हामी अगाडि लिएर आउँदै छौँ। हाम्रो सोच के हो त भन्दा कारबाहीले मात्र सडक सुरक्षित र व्यवस्थित हुँदैन। हामी त्यसको लागि पहिला जनचेतनाको कार्यक्रम अगाडि ल्याउने प्रविधिमैत्री हुने अनि जानाजान अटेर गर्ने सडक प्रयोगकर्तालाई मात्र कडा कारबाही गर्ने त्यो डाइरेक्सनमा आज हामी हिँडिराखेका छौँ। हाम्रो नियम कानुनलाई अहिले समय अनुसारले हामीले परिमार्जन गर्दै छौँ। त्यस्तै गरेर हामी एउटा प्रविधिमैत्री हुँदैछौँ र सार्वजनिक यातायातलाई पनि एउटा प्राधिकरण मोडलमा गएर एकीकृत समयतालिका एकीकृत टिकटङ सिस्टम एकीकृत योजना एकीकृत रुट सिस्टममा हामी सार्वजनिक यातायातलाई पनि व्यवस्थित गर्ने भनेर हामी अगाडि बढिराखेका छौँ। यसरी सुधारको कार्यक्रमहरू हामी अगाडि बढाउँदै छौँ। अब आज हेर्नुहुन्छ भने एक लाख ७ हजार किलोमिटरभन्दा बढी सडक संजाल नेपालमा छन्। तिनीहरूलाई क्रमिक रूपमा हामीले सुधार गर्दै जान्छौँ। अहिले जति पनि सडकका ठेक्का लागेका छन् ति सक्नको लागि हामी दिनरात खटिराखेको अवस्था छ। केहि समय धैर्य गर्नु हामी लागिराखेका छौँ। जुन भिमफेदीमा दुर्घटना भयो त्यसमा जो व्यक्तिहरूले ज्यान गुमाउनु भयो उहाँहरूलाई हार्दिक श्रद्धान्जलि व्यक्त गर्दछु र जो उहाँको परिवार हुनुहुन्छ उहाँ एकदमै दु:ख पीडामा हुनुहुन्छ त्यो पीडा हामीलाई पनि छ। अब हामी क्रमिक रूपमा सडक सुधार गर्दै जान्छौँ यातायातलाई सुरक्षित बनाउँदै जान्छौँ। हामीलाई केही समय दिनुहोला हामी लागिराखेका छौँ।
प्रकाशित: २८ कार्तिक २०८३ १४:३४ शनिबार



