अन्तर्राष्ट्रिय

एक महिनापछि बहिनी भेट्दा जेलमा रिसले ‘चुर’ भएका इमरानले भने : यो सबै आसिम मुनिर गर्दैछन्

पाकिस्तानको आदियाला जेलमा कैद पूर्वप्रधानमन्त्री इमरान खानले परिवारसँग भेट गर्न पाएका छन्। उनी शारीरिक रूपले ठीक छन्। तर लगातार एकान्त कारागार र मानसिक यातनाले आक्रोशित देखिए। 

बहिनी उज्मा खानुमले मंगलबार २० मिनेटको भेटपछि यसबारे जानकारी दिएकी हुन्। उज्माका अनुसार इमरानले आफूलाई दिइरहेको मानसिक यातनाको जिम्मेवार पाकिस्तानी फिल्ड मार्शल एवं सेना प्रमुख आसिम मुनिर भएको बताएका छन्।

उज्मा पहिलो परिवार सदस्य हुन्, जसले एक महिनापछि इमरानलाई भेट्न अनुमति पाइन्। रावलपिण्डीमा पत्रकारसँग कुरा गर्दै उनले भनिन्, ‘उनी (इमरान) शारीरिक रूपमा स्वस्थ छन्। तर सधैं कोठाभित्रै राखिन्छन्, दिनमा केही बेर मात्र बाहिर निस्कन्छन्, कसैसँग बोलचाल हुँदैन।’

उनका अनुसार इमरान यति एक्लो र रिसाएको अवस्थामा छन् कि उनी ‘मानसिक यातना भोगिरहेका’ छन्। उज्माकै शब्दमा, इमरानले भनेका छन्, ‘उनीहरूले मलाई मानसिक यातना दिइरहेका छन्। यो सबैको पछाडि आसिम मुनिरको हात छ।’ यो यातना ‘शारीरिक दुर्व्यवहारभन्दा पनि खराब’ छ।

जानकारी अनुसार छोटो भेट नजिकबाट निगरानी गरिएको थियो। मोबाइल लैजान पनि प्रतिबन्ध थियो। उज्माले इमरानलाई कोठामा बन्द राखेर आधारभूत अधिकार नै खोसिएको आरोप लगाइन्। सो कारण उनलाई शारीरिक रूपमा कमजोर र भावनात्मक रूपमा विचलित बनाएको छ।

यसअघि इमरानको परिवारले एक महिनादेखि कसैलाई भेट्न नदिइएको भन्दै ‘केही अपूरणीय कुरा लुकाइएको हो कि’ भन्ने डर व्यक्त गरेको थियो। एक वर्षभन्दा लामो समयदेखि परिवारले उनको निजी डाक्टरले जाँच गर्न पाउनुपर्ने माग गरिरहेको छ।

पाकिस्तान तहरिक इन्साफ (पीटीआई) का संस्थापक समेत रहेका खानसँगको भेटलाई पार्टीले ‘पहिलो कदम’ मात्र ठानेको छ। पीटीआईले नियमित भेटघाट तथा अदालती आदेशअनुसार पारदर्शिता चाहेको छ। पार्टीले मुनिरको अघोषित ‘तानाशाही सैन्य शासन’ ले संयुक्त राष्ट्रको मण्डेला प्रोटोकल नै उल्लङ्घन गरेको आरोप लगाएको छ।

पाकिस्तानको मानव अधिकार आयोगले इमरानको एकान्त कारागारको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। तर सरकार खानमाथि कुनै दुर्व्यवहार नभएको दाबी गरिरहेको छ।

७३ वर्षीय इमरान २०२३ अगस्टदेखि जेलमा छन्। उनी विभिन्न मुद्दामा दोषी ठहरिएका छन्, केही मुद्दाबाट भने सफाइ पाइसकेका छन्। उनी आफूमाथिका सबै मुद्दा राजनीतिक प्रतिशोध भएको बताउँछन्। एजेन्सी

प्रकाशित: १७ मंसिर २०८२ ०८:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App