भियतनामको मध्य क्षेत्रमा भारी वर्षा र बाढीका कारण मृत्यु हुनेको संख्या ४३ पुगेको छ। भियतनाम विपद् तथा डाइक व्यवस्थापन प्राधिकरणका अनुसार अन्य नौ जना बेपत्ता भएका छन्।
प्राधिकरणका अनुसार बाढीले ६७ हजार ७०० भन्दा बढी घरहरू डुबानमा परेका छन्। बाढीले अन्य १६८ घरहरूमा क्षति पुर्याएको छ। १३ हजार हेक्टरभन्दा बढी धान र अन्य बालीका साथै ८८ हेक्टर माछापालन फार्महरू डुबानमा परेका छन्। सिन्ह्वाले ३० हजार ७०० भन्दा बढी पशुधन र कुखुराहरू मारिएको वा बगेको उल्लेख गरेको छ।
प्राधिकरणले आर्थिक क्षति तीन खर्ब भियतनामी डोङ (१२ करोड अमेरिकी डलर) भन्दा बढी हुने अनुमान गरेको छ।
भियतनाममा पछिल्ला महिनाहरूमा अत्यधिक मौसमले ठूलो क्षति पुर्याएको छ। कालमेगी र बुआलोई नामक दुई आँधीले केही हप्ताको अन्तरालमा विनाश ल्याएका थिए। सरकारी तथ्याङ्क अनुसार प्राकृतिक प्रकोपले यस वर्षको जनवरीदेखि अक्टोबरसम्म भियतनाममा २ अर्ब डलर बराबरको क्षतिको अनुमान गरेको छ। एजेन्सी
प्रकाशित: ५ मंसिर २०८२ ०९:५० शुक्रबार