भेनेजुएलामा भूकम्पपछि भत्किएको अपार्टमेन्टको भग्नावशेषबाट आफ्नो १८ दिनको बच्चासहित निकालिएकी एक आमाले आफ्नो छोराले आफूलाई जीवित राख्न मद्दत गरेको बताइन्।
दयाना पाटिनोले आफूलाई बाँचिरहन प्रेरणा आफ्नै छोराबाट मिलेको बताइन्। उनले भनिन्, ‘जबसम्म मेरो छोरा सास फेरिरहेको थियो, तबसम्म मैले पनि हार मानिनँ। बेला–बेला उसको नाक छोएर ऊ अझै जीवित छ कि छैन भन्ने हेर्थें।’
दयाना र उनका छोरा जुआन डेभिडको उद्धारको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भइरहेको छ। धेरैले शिशुलाई आशा र साहसको प्रतीकका रूपमा चित्रण गरेका छन्।
भूकम्प आएको बेला दयाना उत्तरी तटीय क्षेत्र ला गुएरास्थित आफ्नो आठौँ तलाको अपार्टमेन्टमा लुगा धुँदै थिइन्। सुरुमा सामान्य कम्पन ठाने पनि केही क्षणमै भवन भत्किन थालेपछि उनले आफ्नो नवजात छोरालाई अँगालो हालिन्।
‘मलाई उडिरहेको जस्तो महसुस भयो। त्यसपछि, मलाई पानी र माटोमा पुरिएजस्तो महसुस भयो। त्यसपछि म जहाँ बसेकी थिएँ त्यही खाडलमा खसेँ। मलाई थाहा छैन मैले कसरी मेरो बच्चालाई छोडिन किनभने म उडिरहेको थिएँ। म फर्निचरमा ठोक्किएँ। भग्नावशेषमुनि थिचिएँ’, उनले भनिन्।
उनको देब्रे खुट्टा कंक्रिटमुनि च्यापिएको थियो भने ढुंगाले टाउको थिचिएको थियो। आफू चिच्याए पनि कसैले नसुन्ने महसुस भएपछि उनले शक्ति जोगाउने निर्णय गरिन्।
‘नजिकै कसैको आवाज वा पाइला सुन्दा मात्रै कराउँथेँ। पछि मेरो भाइले बोलायो र मैले चिच्चाउँदै म यहाँ छु भने। भाइले पनि बाहिर ननिकाल्दासम्म साथमै रहने बाचा गर्यो,’ उनले भनिन्।
उनको भाइले गरेको त्यो वाचा पूरा भयो। उद्धार टोलीले घण्टौँको कठिन प्रयासपछि आमा र शिशु दुवैलाई सुरक्षित रूपमा भग्नावशेषबाट बाहिर निकाल्यो।
दयाना दुवै खुट्टामा घाइते भए पनि उनका छोरा सामान्य चोटपटकसहित सुरक्षित रहेको बताइएको छ।
भूकम्पका बेला उनका श्रीमान् गेर्सन घर आइपुगेका थिए। तर अपार्टमेन्ट भत्किएको देखेपछि उनले श्रीमती र छोरालाई गुमाइसकेको ठानेका थिए।
‘जब मैले मेरो छोरालाई फेरि अँगालो हाल्न पाएँ, त्यो क्षण शब्दमा बयान गर्न सकिँदैन। मलाई जीवन नै फर्किएजस्तो लाग्यो,’ उनले भावुक हुँदै भने।
भूकम्पमा उनीहरुको घर ध्वस्त बनाएको छ।आफ्नो घरपालुवा कुकुर अझै हराइरहेकोमा चिन्तित छन्। त्यसका बाबजुद उनीहरू भविष्यप्रति आशावादी देखिन्छन्।
‘हामीले धेरै कुरा गुमायौँ, तर हामी अझै सँगै छौँ। अब फेरि सुरुदेखि जीवन निर्माण गर्नेछौँ’, गेर्सनले भने।
भेनेजुएलामा बुधबार दुईवटा शक्तिशाली भूकम्प गएको थियो। उक्त भूकम्पमा परी कम्तिमा १,४५० जनाले ज्यान गुमाइसकेका छन्। (बीबीसीको सहयोगमा)
प्रकाशित: १५ असार २०८३ १५:१४ सोमबार



