अन्तर्राष्ट्रिय

युद्ध अन्त्यका लागि अमेरिकासमक्ष युक्रेनको नयाँ प्रस्ताव

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रूससँग जारी युद्ध अन्त्य गर्ने उद्देश्यले अमेरिकासमक्ष नयाँ प्रस्तावहरू प्रस्तुत गरिएको बताएका छन्। 

मंगलबार राति राष्ट्रका नाममा सम्बोधन गर्दै जेलेन्स्कीले युक्रेनले आफ्ना प्रस्ताव अमेरिकी पक्षलाई बुझाइसकेको जानकारी दिएका हुन्। उनका अनुसार अमेरिकाले युक्रेनको प्रतिरक्षा क्षमता, विशेषगरी हवाई प्रतिरक्षा प्रणालीलाई थप मजबुत बनाउन सहयोग गर्नुपर्नेछ भने रूसमाथि युद्ध अन्त्यका लागि दबाब बढाउनुपर्नेछ। 

‘हामीले हाम्रा प्रस्तावहरू अमेरिकी पक्षलाई बुझाइसकेका छौँ,’ जेलेन्स्कीले भने। 

युक्रेन र रूससँग अमेरिकी वार्ताकारहरूले चाँडै नै छुट्टाछुट्टै भ्रमण गर्ने सम्भावनाबारे समेत चर्चा भइरहेको छ ।  अमेरिकी वार्ताकार स्टिभ विटकफ र जारेड कुशनर पछिल्लो पटक जनवरीमा मस्को पुगेका थिए। 

सन् २०२२ मा रूसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि जारी युद्ध अन्त्य गर्न पटक–पटक वार्ताको प्रयास हुँदै आएको छ। तर पछिल्लो समय अमेरिका र इजरायलले इरानमाथि सैन्य कारबाही सुरु गरेपछि युक्रेन–रूस शान्ति वार्ता थप सुस्त बनेको बताइएको छ। 

युक्रेनले लामो समयदेखि तत्काल युद्धविरामको माग गर्दै आएको छ। रूसले पनि द्वन्द्वको समाधान चाहेको बताउँदै आएको छ। तर मस्कोले कुनै पनि शान्ति सम्झौतामा युक्रेनले रूसले दाबी गरेका चार क्षेत्रमाथिको आफ्नो दाबी त्याग्नुपर्ने तथा युद्धका मूल कारण समाधान हुनुपर्ने अडान राख्दै आएको छ। 

यसैबीच, जेलेन्स्कीले रूसले आगामी संसदीय चुनावलाई थप सैनिक परिचालनको तयारीका लागि प्रयोग गर्न सक्ने आरोप लगाएका छन्। उनका अनुसार रूसले चुनावपछि शरद ऋतुमा ठूलो संख्यामा सैनिक परिचालन गर्ने तयारी गरिरहेको छ। 

प्रकाशित: २७ श्रावण २०८३ १४:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App