युक्रेनले रूसलाई लक्षित गरी हालसम्मकै ठुलो हवाई आक्रमण गरेको छ। युक्रेनले रूसभर सयौँको सङ्ख्यामा ड्रोन हमला गरेको छ, जसका कारण कम्तीमा छ जनाको ज्यान गएको छ।
एपीका अनुसार यो आक्रमणलाई कीभको युद्धकालीन रणनीतिमा अहिलेसम्मकै सबैभन्दा ठुलो र व्यापक हवाई आक्रमणको रूपमा हेरिएको छ। आक्रमण कति भीषण थियो भन्ने कुरा रूसको रक्षा मन्त्रालयले रातारात ८२२ वटा युक्रेनी ड्रोनहरू नष्ट गरेको दाबीबाट नै प्रष्ट हुन्छ।
मस्कोका मेयर सर्गेई सोब्यानिनले रूसको राजधानीतर्फ लक्षित गरी प्रहार गरिएका ड्रोनहरूको करिब एक तिहाइ भाग मस्को क्षेत्रमा नै खसालेर नष्ट गरिएको बताए। मस्को क्षेत्रको एक निजी घरमा युक्रेनी ड्रोन ठोक्किएर भएको दुर्घटनामा परी ८३ वर्षीय एक वृद्धको ज्यान गएको छ।
युक्रेनी ड्रोनहरूको यो विशाल आक्रमणले राजधानी मस्कोको सीमाना मात्र नभई प्रमुख आर्थिक र व्यापारिक संरचनाहरूलाई पनि ठुलो क्षति पुर्याएको छ। रूसी रिटेल तथा ई-कमर्स क्षेत्रको विशाल कम्पनी वाइल्डबेरीजको गोदाममा आक्रमण हुँदा भीषण आगलागी भएको छ। पोडोल्स्क सहरबाट रूसी सञ्चार माध्यमहरूले सार्वजनिक गरेका तस्बिर तथा भिडियोहरूमा उक्त आक्रमण स्थलबाट कालो धुवाँको ठुलो मुस्लो आकाशमा उडिरहेको प्रष्ट रूपमा देखिएको छ।
मस्कोको मुख्य विमानस्थलमध्ये एक नजिकै रहेको डोमोडेडोभो सहरको गोदामसहित अन्य धेरै महत्त्वपूर्ण स्थलहरूमा पनि क्षति पुगेको छ। रोयटर्सको भिडियो फुटेजमा मस्कोको दक्षिणतर्फ करिब ४५ किलोमिटर (२८ माइल) को दूरीमा रहेको वाइल्डबेरीजको कोलेडिनो गोदाममा भएको आक्रमणपछि व्यापक क्षति भएको देखाइएको छ।
युक्रेनले हालैका साताहरूमा रूसी आर्थिक पूर्वाधार र सैन्य सामाग्री व्यवस्थापनमा असर पुर्याउने उद्देश्यले वाइल्डबेरीजलाई मुख्य निशाना बनाउँदै आएको छ। कीभको दाबी अनुसार यो बजारले रूसी सशस्त्र बलहरूलाई विभिन्न सामाग्री आपूर्ति गर्दै आएको छ।
राजधानी क्षेत्रमा भएको यो सामूहिक ड्रोन आक्रमणका कारण जनजीवन पनि प्रभावित बनेको छ। मस्कोको भ्नुकोभो, डोमोडेडोभो र जुकोभ्स्कीलगायतका प्रमुख विमानस्थलहरूमा उडान सञ्चालनहरू अस्थायी रूपमा स्थगित गरिएको रूसी फेडरल एयर ट्रान्सपोर्ट एजेन्सीले घोषणा गरेको छ।
मस्को क्षेत्र बाहेक रूसको दक्षिणपश्चिमी रोस्तोभ क्षेत्रमा पनि ठुलो मानवीय क्षति भएको छ। त्यहाँका तीनवटा सहरहरू आक्रमणको चपेटामा पर्दा पाँच जनाको ज्यान गएको स्थानीय गभर्नर युरी स्ल्युसरले बताए। यसबाहेक, डोनेस्कलगायतका क्षेत्रहरूमा पनि लगातार विष्फोट र आक्रमणका घटनाहरू भइरहेको स्थानीय बासिन्दाहरूले जानकारी दिएका छन्। ओगटेड डोनेस्कमा भएको ड्रोन आक्रमणका कारण ग्यालेक्टिका सपिङ सेन्टरमा समेत ठुलो आगलागी भएको विवरण बाहिर आएको छ।
यसैबिच, युक्रेनतर्फ पनि रूसी सेनाले कडा जवाफी हमला गरेको दाबी गरेको छ। रूसी रक्षा मन्त्रालयका अनुसार कीभमा रहेको रक्षा उद्योग, क्रेमेनचुग तेल प्रशोधन केन्द्र र क्रिभोय रोग क्षेत्रमा रहेका स्टिल प्लान्टहरूमा हमला गरिएको हो।
रूसी सेनाले कीभको युक्रेनडिफेन्स कम्पनी तथा फ्लेमिंयो ग्राउन्ड लन्च क्रुज मिसाइलका लागि पाटपुर्जा उत्पादन गर्ने केन्द्रहरूलाई निशाना बनाएको हो। त्यसैगरी, ओडेसा बन्दरगाहमा युक्रेनी सेनाका लागि सैन्य उपकरण बोकेर आएको एउटा सुक्खा कार्गो जहाजमा समेत ड्रोन आक्रमण गरिएको रूसी रक्षा मन्त्रालयले जानकारी दिएको छ। एजेन्सीको सहयोगमा
प्रकाशित: ३१ श्रावण २०८३ १४:४६ आइतबार



