अन्तर्राष्ट्रिय

तृषाविरुद्धको विवादास्पद टिप्पणीमा पक्राउ परेका उदयनिधि स्टालिन रिहा

फाइल तस्बिर

भारतको तमिलनाडुमा विपक्षी दल डीएमकेका नेता उदयनिधि स्टालिन अभिनेत्री तृषा कृष्णनविरुद्ध आपत्तिजनक टिप्पणी गरेको आरोपमा पक्राउ परेपछि मद्रास उच्च अदालतको आदेशमा रिहा भएका छन्।

डीएमके युवा शाखा सचिव तथा विधानसभामा विपक्षी समेत रहेका उनलाई मंगलबार चेन्नईस्थित आफ्नो निवासबाट प्रहरी हिरासतमा लिइएका थिए।

तन्जाभुरमा कावेरी जल विवादसम्बन्धी विरोध र्‍यालीका क्रममा सोमबार दिएको अभिव्यक्तिबाट विवाद सुरु भएको हो। भाषणमा मुख्यमन्त्री सी. जोसेफ विजय (थलपती विजय) लाई कावेरी पानीको मुद्दामा मौन रहेको आरोप लगाउँदै उनी आलोचना गरिरहेका थिए।

भीडबाट ‘तृषा, तृषा’ भन्दै नारा लागेपछि उदयनिधिले ‘कावेरीको पानी अरू कतै पुगोस् वा नपुगोस्, त्यहाँ चाहिँ अवश्य पुग्नुपर्छ’ भन्ने अभिव्यक्ति दिएका थिए। यसलाई महिला विरोधी र अश्लील दोहोरो अर्थको टिप्पणी भन्दै सत्तारुढ टिभीकेको महिला शाखाले उजुरी दिएको थियो। राष्ट्रिय महिला आयोगमा पनि उजुरी परेको थियो।

प्रहरीले भारतीय न्याय संहिताका विभिन्न धाराहरू, तमिलनाडु महिला उत्पीडन निषेध ऐन र सूचना प्रविधि ऐनअन्तर्गत मुद्दा दर्ता गरी उनलाई पक्राउ गरेको थियो। उदयनिधिले पक्राउपछि पत्रकारहरूसँग कुरा गर्दै यसलाई ‘कमेडी’ भनेका थिए र भिडियो तोडमोड गरी झूटा भाष्य फैलाइएको दाबी गरेका थिए। उनले भने, ‘मैले कहिल्यै नभनेको कुरा कट-कपी-पेस्ट गरेर फैलाइएको छ। म यसबाट डराउने मान्छे होइन। कानुनी रूपमा सामना गर्नेछु।’

मद्रास उच्च अदालतमा सुनुवाइका क्रममा तमिलनाडु सरकारका महाधिवक्ताले प्रहरीले उनलाई न्यायिक हिरासतमा राख्न नचाहेको र सोधपुछपछि जमानतमा रिहा गर्ने जानकारी दिए। अदालतले सोधपुछ पूरा गरेर तुरुन्तै रिहा गर्न र अनुसन्धानमा सहयोग गर्न निर्देशन दियो। यसपछि उनलाई रिहा गरिएको छ।

डीएमकेले यस गिरफ्तारीलाई राजनीतिक प्रतिशोधको रूपमा लिएको छ। पार्टीले सरकारले विपक्षी नेतालाई असामान्य तरिकाले हतारमा पक्राउ गरेको आरोप लगाएको छ। डीएमके नेता टीकेएस एलङ्गोवनले भनेका छन्, ‘मैले पूरा भाषण सुनेको छु। भाषणमा भनिएजस्तो केही छैन। उनले केवल मुख्यमन्त्रीको असफलता सूचीबद्ध गरेका हुन्। कसैको नाम लिएनन् र अपमान गरेनन्।’

घटनालगत्तै एमडीएमकेका वैको, सीपीआई(एम) का नेताहरू र भाजपाका प्रदेश नेताहरूले सार्वजनिक जीवनमा मर्यादा कायम राख्नुपर्ने भन्दै उदयनिधिको आलोचना गरेका थिए। टिभीकेका नेताहरूले टिप्पणीलाई ‘घृणास्पद’ बताएका छन् भने भाजपाले पनि कडा आलोचना गरेको छ।

यो घटना तमिलनाडुको राजनीतिमा डीएमके र अभिनेताबाट मुख्यमन्त्री बनेका विजयको टिभीकेबिचको प्रतिस्पर्धासँग जोडिएको छ। उदयनिधि पूर्वमुख्यमन्त्री एमके स्टालिनका छोरा र पूर्वउपमुख्यमन्त्री हुन्।

प्रकाशित: १९ श्रावण २०८३ १५:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App