अन्तर्राष्ट्रिय

दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गो‘लीका‘ण्ड, २७ जनाको मृ‘त्यु

दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्डमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्। 

जोहानेसबर्गको पश्चिमी क्षेत्रमा रहेको एक बारमा शनिबार राति भएको गोलीकाण्डमा १७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा १५ जना घाइते भएका छन्। मृत्यु हुनेमा १३ पुरुष र चार महिला छन्। 

प्रहरीका अनुसार करिब आठ जना बन्दुकधारीले आक्रमण गरेका थिए। उनीहरूले बारमा रहेका केही ग्राहकको तलासी लिएर मोबाइल फोनसमेत लगेपछि दुईवटा पहिचान नखुलेका सवारीसाधनमा फरार भएका थिए। घटना स्थानीय समयअनुसार शनिबार राति करिब ७ः३० बजे भएको बताइएको छ। 

प्रहरीले आक्रमणको उद्देश्य अहिलेसम्म स्पष्ट नभएको जनाएको छ। फरार हुनुअघि संदिग्धहरूले दुईवटा सवारीसाधनमा आगजनी गरेको प्रहरीले बताएको छ। घटनामा संलग्नलाई पक्राउ गर्न अनुसन्धानकर्ता तथा विशेष प्रहरी टोली परिचालन गरिएको छ। 

यसैबीच, केप टाउनबाहिरको एक टाउनसिपस्थित मनोरञ्जनस्थलमा आइतबार बिहान भएको अर्को गोलीकाण्डमा १० जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। 

दक्षिण अफ्रिकामा कानुनी तथा अवैध दुवै प्रकारका हतियारको व्यापक प्रयोग हुने गरेको छ। त्यहाँ गिरोहबीचको विवाद तथा अनौपचारिक व्यवसायमा हुने प्रतिस्पर्धाका कारण गोलीकाण्डका घटना हुने गरेका छन्। 

करिब ६ करोड २० लाख जनसंख्या रहेको दक्षिण अफ्रिकामा विश्वकै उच्च हत्या दरमध्ये एक रहेको छ। देशमा दैनिक औसत करिब ६० जनाको हत्या हुने गरेको तथ्यांक उद्धृत गरिएको छ। यसै वर्षको मार्चमा जोहान्सबर्गका हिंसाग्रस्त क्षेत्रमा अपराध नियन्त्रणका लागि प्रहरीलाई सहयोग गर्न सेना परिचालन गरिएको थियो। 

राष्ट्रपति सिरिल रामाफोसाले बढ्दो अपराधलाई देशका प्रमुख चुनौतीमध्ये एकका रूपमा वर्णन गरेका छन्। 

प्रकाशित: ११ आश्विन २०८३ १३:३७ आइतबार