अन्तर्राष्ट्रिय

हप्तामा दुई दिन घरबाटै काम गर्ने प्रणाली लागू, एक दिन सवारी साधनविहीन दिनको घोषणा

दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले हप्तामा दुई दिन कार्यालयको अनुकूलता अनुसार घरबाटै काम गर्ने प्रणाली लागू गर्न आदेश दिएकी छन्।

निजी कम्पनीलाई पनि त्यसो गर्न आग्रह गरिने निर्णयमा उल्लेख गरिएको छ। निर्णयअनुसार सरकारले अब सार्वजनिक कार्यालयका ५० प्रतिशत बैठक अनलाइन माध्यमबाट गर्नुपर्नेछ।

उनले भने, 'सरकारले केन्द्र सरकार र प्रधानमन्त्री नरेन्द्र मोदीको इन्धन बचतका लागि वैकल्पिक उपाय सोच्न दिएको निर्देशन अनुसार इन्धन बचतका लागि ‘दुई दिन घरबाट सेवा’ गर्ने निर्णय गरेको छ। यो कार्यक्रम सरकारी र निजी दुई तहमा लागू गरिनेछ। श्रम विभागले यसको नियमन र अनुगमन गर्नेछ।'

सरकारले धेरै कामदार रहेका कम्पनीहरूलाई पनि उनीहरूको अनुकुलतामा हप्तामा दुई दिन घरबाट नै काम गर्ने वातावरण मिलाउनका आग्रह गरेको छ।

इन्धन बचत तथा आर्थिक मितव्ययीताका लागि सरकारका मन्त्री, विधायकलाई अनावश्यक विदेश भ्रमण स्थगित गर्न भनिएको छ। दिल्ली सरकारले तीन महिनासम्म ठूला सार्वजनिक कार्यक्रम नगर्ने भएको छ।  

मुख्यमन्त्री रेखा गुप्ताले ऊर्जा संरक्षण र स्वदेशी उत्पादनको प्रवर्द्धनका लागि मल र बजारमा ‘मेड इन इन्डिया’ उत्पादनका लागि प्राथमिकता दिन भनेको छ।

मुख्यमन्त्रीले विद्युतीय सवारी नीति तयार भएको र छिट्टै कार्यान्वयन हुने बताइन्।

सरकारी कार्यालयहरूमा एयर कन्डिसनर स्थायी रूपमा २४–२६ डिग्रीमा सेट गरिनेछ। पावर कन्ट्रोलका लागि सेन्सर जडान गरिनेछ। यो अभियान मे १५ देखि सुरु हुनेछ। यद्यपि, अत्यावश्यक सेवालाई यसबाट बाहिर राखिएको छ। मुख्यमन्त्री स्वयंले आफ्नो कार्यालयको सवारी साधनको सङ्ख्या १३ बाट घटाएर चारमा झारेकी छन्।

दिल्लीले हप्तामा एक दिन सवारी साधनविहीन दिनको पनि घोषणा गरेको छ।

प्रकाशित: १ जेष्ठ २०८३ ०७:३८ शुक्रबार