अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ध्वस्त पार्ने धम्की दिएका छन्। इरानका दिवंगत सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टिको क्रममा आफ्नो हत्याको लागि आह्वान गरिएको भन्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन्। यस घटनाले मध्यपूर्वमा जारी तनावलाई थप बढाएको छ।
वरिष्ठ अमेरिकी अधिकारीहरूले इरानले हर्मुजको जलमार्ग खुला राख्ने र त्यहाँबाट आवतजावत गर्ने जहाजमा आक्रमण नगर्ने भनी सार्वजनिक प्रतिबद्धता जनाउनुपर्ने माग गरेका छन्। यद्यपि, तेहरानले हालसम्म त्यसो गरेको छैन। बरु, इरानले उक्त जलमार्ग आफ्नो नियन्त्रणमा रहने र त्यहाँबाट पार हुने जहाजहरूले शुल्क तिर्नुपर्ने अडान राखेको छ, जसले दशकौं पुरानो अन्तर्राष्ट्रिय अभ्यासलाई चुनौती दिएको छ।
ट्रम्पले आफ्नो ट्रुथ सोसलमा लेखेका छन्, ‘एक हजार क्षेप्यास्त्रहरू लक र लोड गरिएका छन् र इस्लामिक गणतन्त्र इरानलाई लक्षित छन्। यदि इरानी सरकारले आफ्नो धम्कीमा कारबाही गर्छ भने, तुरुन्तै हजारौं थप क्षेप्यास्त्रहरू प्रहार गरिनेछ।’ उनले थपे कि यदि इरानले उनलाई मार्ने वा मार्ने प्रयास गरेमा अमेरिकाले अभूतपूर्व आक्रमण गर्नेछ।
ट्रम्पका अनुसार बदलाको आदेश पहिले नै दिइसकिएको छ, सोहीअनुसार अमेरिकी सेना पूर्ण रूपमा तयार छ। उनले चेतावनी दिँदै भनेका छन्, ‘अमेरिकी सेनाले इरानका सबै क्षेत्रहरूलाई पूर्ण रूपमा ध्वस्त पार्नेछ।’
यसैबिच, इजरायली सञ्चारमाध्यम ‘कान न्युज’ का अनुसार अमेरिकाले इजरायलमा तैनाथ आफ्ना १२ वटा एफ-२२ स्टिल्थ लडाकु विमानहरू फिर्ता बोलाउन थालेको छ। फेब्रुअरीदेखि इजरायलको ओभ्दा एयर बेसमा रहेका यी विमानहरू इरानविरुद्धको सैन्य कारबाहीका लागि तैनाथ थिए।
हालैका दिनमा इरानलाई लक्षित गरी अमेरिकी हवाई आक्रमणहरू जारी छन् भने यसको प्रतिशोधमा इरानले पनि मध्यपूर्वका विभिन्न राष्ट्रहरूमा रहेका अमेरिकी सैन्य अड्डामा आक्रमण गरेको छ। इरानको स्वास्थ्य मन्त्रालयका प्रवक्ता हुसेन करमानपुरका अनुसार पछिल्लो दुई दिनमा कम्तीमा १७ जनाको मृत्यु भएको छ भने ११५ जना घाइते भएका छन्।
इरानी विदेशमन्त्री अब्बास अराघचीले शनिबार ओमानको भ्रमण गरेका छन्। उता, पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले इरानी राष्ट्रपति मसूद पेजेश्कियानसँग फोन वार्ता गर्दै क्षेत्रीय शान्ति र स्थायित्वका लागि जोड दिएका छन्। इरानले भने अमेरिकाले आणविक सम्झौता र अन्य प्रतिबद्धताहरू तोडेको आरोप लगाउँदै आएको छ।
विश्वका लागि महत्वपूर्ण व्यापारिक मार्ग मानिने हर्मुजको जलमार्गमा जारी अवरोधले विश्वव्यापी ऊर्जा बजारमा चिन्ता थपेको छ। अमेरिकाले भने इरानले आणविक सम्झौताका शर्तहरू पालना गर्नुपर्ने र युरेनियम भण्डार फिर्ता गर्नुपर्ने अडान दोहोर्याउँदै आएको छ। एजेन्सी
प्रकाशित: २७ असार २०८३ १४:०९ शनिबार



