अन्तर्राष्ट्रिय

ट्रम्पले इरानको ऊर्जा पूर्वाधारमा आक्रमण रोक्ने समयसीमा १० दिन बढाए

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको ऊर्जा संरचनामा आक्रमण रोक्ने समयसीमा थप १० दिन बढाएका छन्। नयाँ म्याद अप्रिल ६ सम्म रहेको छ।

ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा यो जानकारी दिएका हुन्। उनले लेखेका छन्, ‘इरानी सरकारको अनुरोधमा म ऊर्जा प्लान्ट विनाशको समयावधिलाई १० दिनका लागि स्थगित गर्दैछु, सोमबार अप्रिल ६, २०२६ को पूर्वी समय बेलुकी ८ बजेसम्म। वार्ता जारी छ र नक्कली समाचार मिडिया तथा अरूले उल्टो बयान दिए पनि यो निकै राम्रो तरिकाले अघि बढिरहेको छ।’ यो निर्णय इरानी सरकारको अनुरोधमा गरिएको ट्रम्पको दाबी छ। 

उनले इरानसँगको वार्ता राम्रो भइरहेको बताएका छन्। ट्रम्पले इरानको ऊर्जा पूर्वाधारमा आक्रमणको समयसीमा थप गरेको यो दोस्रो पटक हो। गत शनिबार उनले स्ट्रेट अफ होर्मुजलाई तेल ट्यांकरका लागि खोल्न ४८ घण्टाको समय दिएका थिए। त्यसो नगरे इरानको पावर प्लान्टमाथि आक्रमण गर्ने धम्की दिइएको थियो। तर पछि ट्रम्पले कुराकानीको हवाला दिँदै ५ दिनका लागि समय सारेका थिए। 

उनले इरानले केही अमेरिकी तेल ट्यांकरहरूलाई स्ट्रेट अफ होर्मुज हुँदै जान दिएको दाबी गर्दै यसलाई वार्ताप्रति इरान गम्भीर रहेको संकेतको रूपमा व्याख्या गरेका छन्।

यसैबिच इजरायलले इरानी नौसेनाका कमान्डर अलीरेजा तान्गसिरी मारिएको दाबी गरेको छ। जानकारी अनुसार बन्दर अब्बासमा भएको हवाई आक्रमणमा इरानी क्रान्तिकारी गार्डको नौसेना प्रमुख अलीरेजा तान्गसिरीसहित अन्य उच्च अधिकारी मारिएका हुन्। उनलाई स्ट्रेट अफ होर्मुज बन्द गर्ने मुख्य व्यक्तिको रूपमा आरोप लगाइएको छ।

यो युद्ध फेब्रुअरी २८ देखि जारी छ। अहिले इरान र इजरायलले एकअर्काको ऊर्जा पूर्वाधारमा आक्रमण गरिरहेका छन्। अमेरिका र इजरायलको संयुक्त कारबाहीले इरानको नौसेना र मिसाइल क्षमता कमजोर बनाएको दाबी गरिएको छ।

यसबिच अमेरिकाले पाकिस्तानी मध्यस्थतामार्फत इरानलाई १५ बुँदे शान्ति प्रस्ताव पठाएको छ। ट्रम्पका विशेष दूत स्टिभ विटकोफले वार्ता सकारात्मक रहेको बताएका छन्।

इरानले उक्त प्रस्तावलाई ‘अनुचित’ भनेको छ। तेहरानले आफ्ना पाँच बुँदे सर्तहरू अघि सारेको छ। पाँच बुँदे सर्तमा भविष्यमा अमेरिका-इजरायलबाट आक्रमण नहुने ग्यारेन्टी, क्षतिपूर्ति र स्ट्रेट अफ होर्मुजमाथि आफ्नो नियन्त्रण कायम राख्नेलगायतका कुरा समावेश छन्।

यो स्थगन पूर्ण युद्धविराम होइन, केवल अस्थायी उपाय हो। यसले कूटनीतिक प्रयासलाई केही समय दिन सक्छ तर अप्रिल ६ सम्म ठोस प्रगति नभए आक्रमणको खतरा कायम नै छ। स्ट्रेट अफ होर्मुज पूर्ण रूपमा खुल्न सकेको छैन जसले वैश्विक तेल आपूर्तिमा प्रभाव पारिरहेको छ। एजेन्सी

प्रकाशित: १३ चैत्र २०८२ ०७:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App