विमान परिचारिकालाई ‘लात हान्ने’ धम्की दिँदै घुँडा टेकाएर माफी माग्न बाध्य पार्ने यात्रुमाथि कारबाही गरिएको छ।
चीनको चाइना इस्टर्न एयरलाइन्सले यसबारे प्रहरीमा उजुरी गर्नुका साथै ती यात्रुलाई आफ्ना उडानमा यात्रा गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको हो।
चिनियाँ सञ्चारमाध्यमका अनुसार घटनाबारे प्रमाण संकलन, तथ्य जाँच र कानुनी समीक्षा गरेपछि एयरलाइन्सले कारबाही गरेको हो। एयरलाइन्सले यात्रुको व्यवहारले विमानभित्रको व्यवस्थामा बाधा पुर्याउनुका साथै कर्मचारीको व्यक्तिगत मर्यादा र काम गर्ने अधिकारको गम्भीर उल्लंघन गरेको बताएको छ।
घटनाबाट प्रभावित परिचारिकालाई मनोवैज्ञानिक परामर्श र कानुनी सहयोग पनि दिइएको छ।
गत सोमबार आन्हुई प्रान्तको हेफेईबाट लिओनिङ प्रान्तको डालियान जाँदै गरेको उडानमा यो घटना भएको थियो। पेय पदार्थ वितरणका लागि परिचारिकाले कार्ट धकेलिरहेका बेला कार्ट सुतिरहेका एक यात्रुको कुहिनामा ठोक्किएको थियो।
त्यसपछि परिचारिकाले तत्कालै पटक–पटक माफी मागेर यात्रुको अवस्था जाँच गरेकी थिइन्। तर यात्रु आक्रोशित हुँदै कठोर भाषा प्रयोग गरेको र परिचारिकालाई लात हान्ने धम्की दिएको एयरलाइन्सले बताएको छ।
सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा परिचारिका यात्रुको अगाडि घुँडा टेकेर माफी मागिरहेको देखिन्छ। भिडियो सार्वजनिक भएपछि चीनमा यसलाई लिएर विरोध भएको थियो।
विमान अवतरणपछि चिकित्सकले यात्रुको जाँच गर्दा कुनै देखिने चोटपटक वा थप उपचार आवश्यक नरहेको पाइएको थियो। यात्रुले विमानस्थलका कर्मचारीले अस्पताल लैजान गरेको प्रस्ताव पनि अस्वीकार गरेर आफैं विमानस्थलबाट बाहिरिएका थिए।
प्रकाशित: १९ आश्विन २०८३ १३:३० सोमबार



