इरानका राष्ट्रपति मसूद पेजेश्कियानले अमेरिकासँगको युद्धमा इरानले विजय हासिल गरेको कुरा विश्वले स्वीकार गरिसकेको बताएका छन्।
अमेरिकासँगको युद्ध अन्त्य हुनुपर्नेमा जोड दिँदै उनले होर्मुज जलमार्गमाथिको नियन्त्रण र अमेरिकी माग नमान्नु नै आफ्नो देशको जित भएको उल्लेख गरेका हुन्। यो जलमार्ग अमेरिका र इजरायलले इरानसँग युद्ध सुरु गरेदेखि विगत छ महिनादेखि प्रभावकारी रूपमा बन्द रहँदै आएको छ। ‘सम्पूर्ण विश्वले हाम्रो विजयलाई अनुमोदन गर्यो र अमेरिका घृणा गरिएको छ,’ उनको भनाइ उद्धृत गर्दै इरानका सरकारी सञ्चारमाध्यमले जनाएका छन्।
यसैबिच, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र साउदी युवराज मोहम्मद बिन सलमानबिच रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने होर्मुज जलमार्गलाई बाइपास गर्ने योजनाबारे छलफल गर्ने तयारी भएको छ। साउदी नेताको पेरिस भ्रमणका क्रममा जलमार्ग बन्द हुनुको प्रभाव र वैकल्पिक मार्गहरू विकास गर्ने योजनाबारे विस्तृत छलफल हुने विश्वास गरिएको छ। विचाराधीन प्रस्तावहरूमा ओमानी बन्दरगाहहरू मार्फत व्यापार बढाउने, पाइपलाइनहरू विस्तार गर्ने र नयाँ रेल लिंकहरू विकास गर्नेलगायतका विषय समावेश छन्।
अर्कोतर्फ, ट्रम्प प्रशासनले इरानविरुद्ध थप कडा आर्थिक प्रतिबन्धको घोषणा गर्दै आएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अभूतपूर्व स्तरको आर्थिक दबाब र एक्लोपन लागू गर्ने योजना बनाएका छन्, जसले तेहरानलाई आफ्नो आणविक कार्यक्रम अन्त्य वा बन्द गर्न बाध्य पार्ने लक्ष्य राखेको छ। यो नयाँ नीतिले इरानसँग व्यापार गर्ने अन्य देशहरूलाई पनि समेट्न सक्ने बताइएको छ।
इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले ट्रम्पको यस किसिमको आर्थिक प्रतिबन्धको कडा शब्दमा आलोचना गरेका छन्। वासिङ्टनले अन्य देशहरूलाई अमेरिकी प्रतिबन्ध पालना गर्न बाध्य पार्न खोज्नु र विदेशी बैंक वा कम्पनीहरूलाई व्यापार रोक्न दबाब दिनु संयुक्त राष्ट्र संघको बडापत्रमा उल्लेखित सार्वभौम समानताको सिद्धान्तविपरीत भएको उनले बताए।
यसैगरी, इरानी संसद्को राष्ट्रिय सुरक्षा र विदेश नीति समितिका अध्यक्ष इब्राहिम अजिजीले पनि वासिङ्टनले कूटनीतिको मर्मविपरीत प्रतिबन्ध लगाउने प्रयास गरिरहेको बताएका छन्। अमेरिका र इरानबिच अन्तिम सम्झौताका लागि तोकिएको ६० दिनको समयसीमा कुनै सम्झौता बिना समाप्त भएपछि दुई देशबिचको तनाव थप बढेको छ। एजेन्सी
प्रकाशित: ६ भाद्र २०८३ १८:२३ शनिबार

-600x400.jpg)

