ताजिकिस्तानले दाबी गरेको छ कि अफगान क्षेत्रबाट गरिएको ड्रोन हमलामा उसका सीमावर्ती क्षेत्रमा कार्यरत एक चिनियाँ कम्पनीका तीन कर्मचारी मारिएका छन्। विदेश मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ कि यो ड्रोन हमला खतलान प्रान्तको सीमा नजिकै भएको हो।
ताजिकिस्तानको यस दाबीबारे अफगानिस्तानले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। तर चीनले भने यस घटनापछि कदम चालेको छ। ताजिकिस्तानका अनुसार यो हमला ग्रेनेड र अन्य हतियार बोकेका ड्रोनमार्फत गरिएको थियो।
विज्ञप्तिमा भनिएको छ, ताजिकिस्तानले अफगानिस्तानसँग जोडिएका सीमा क्षेत्रमा सुरक्षा र स्थिरता कायम राख्ने प्रयास गरिरहेको छ, तर त्यसका बाबजुद पनि ‘अफगान भूमिमा सक्रिय आपराधिक समूहहरूका विध्वंसकारी गतिविधि रोकिएका छैनन्।’
यता चीनका सरकारी अखबार ग्लोबल टाइम्स ले लेखेको छ, ‘अफगानिस्तानस्थित चिनियाँ दूतावासले शुक्रबार जानकारी दियो कि अफगान–ताजिक सीमा क्षेत्रमा हालै पुनः एक घटना भएको छ, जसमा केही चिनियाँ नागरिक मारिएका र घाइते भएको खबर छ।’
दूतावासले प्रभावित क्षेत्रमा रहेका सुनको खानीसँग सम्बन्धित चिनियाँ कम्पनी र कर्मचारीहरूलाई सकेसम्म छिटो त्यहाँबाट बाहिरिन चेतावनी दिएको छ।
दूतावासले अझै भनेको छ कि कुनै आपतकालीन अवस्था आएमा स्थानीय प्रहरीसँग तुरुन्त सम्पर्क गर्न र आवश्यक परे दूतावाससँग पनि सहयोग माग्न अनुरोध गरिएको छ। एजेन्सी
प्रकाशित: १२ मंसिर २०८२ ०८:४५ शुक्रबार