उत्तर कोरियाले आइतबार पूर्वी समुद्रतर्फ अज्ञात प्रक्षेपण गरेको दक्षिण कोरिया र जापानले बताएका छन्।
दक्षिण कोरियाली सेनाको ज्वाइन्ट चिफ्स अफ स्टाफ (जेसीएस) ले उत्तर कोरियाको पूर्वी तटबाट प्रक्षेपण भएको जानकारी दिएको छ। तर प्रक्षेपणको प्रकार, दूरी र अन्य विवरण भने सार्वजनिक गरिएको छैन।
जापानको प्रधानमन्त्री कार्यालयले पनि घटनाको पुष्टि गर्दै यसलाई ‘संदिग्ध ब्यालिस्टिक क्षेप्यास्त्र’ भनेको छ। जापानको रक्षा मन्त्रालयले प्रक्षेपण गरिएको वस्तु समुद्रमा खसिसकेको जनाएको छ। घटनाबाट कुनै क्षति भएको जानकारी नआएको जापानी अधिकारीहरूले बताएका छन्।
आइतबारको प्रक्षेपण सेप्टेम्बर १२ मा उत्तर कोरियाले वोनसान क्षेत्रबाट पूर्वी समुद्रतर्फ धेरै छोटो दूरीका ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको केही दिनपछि भएको हो। त्यसबेला दक्षिण कोरिया, अमेरिका र जापानले पाँच दिने संयुक्त सैन्य अभ्यास सम्पन्न गरेका थिए। उत्तर कोरियाले यस्ता संयुक्त सैन्य अभ्यासको लामो समयदेखि विरोध गर्दै आएको छ।
यसअघि सेप्टेम्बर १९ मा उत्तर कोरियाली नेता किम जोङ उनले हतियार उत्पादन गर्ने प्रमुख कारखानाहरूको निरीक्षण गरेका थिए। सो अवसरमा उनले उत्तर कोरियाको तोपखाना क्षमतालाई अझ ठुलो, प्रभावकारी र विविध बनाउन निर्देशन दिए। त्यसै दिन उत्तर कोरियाले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) को आणविक कार्यक्रमसम्बन्धी प्रस्ताव अस्वीकार गरेको थियो।
किमकी बहिनी किम यो जोङले उत्तर कोरियाको आणविक क्षमता कायम राख्ने बताइन्। आईएईएले भने उत्तर कोरियालाई आणविक गतिविधि तत्काल रोक्न आग्रह गरेको थियो। पछिल्लो प्रक्षेपणसँगै कोरियाली प्रायद्वीपमा सैन्य तनाव फेरि चर्किएको छ। दक्षिण कोरिया, अमेरिका र जापानले उत्तर कोरियाका गतिविधिमाथि निगरानी बढाउँदै आएका छन्। एजेन्सीको सहयोगमा
प्रकाशित: ४ आश्विन २०८३ १३:३१ आइतबार