मंगोलियाका राष्ट्रपति उखनागिन खुरेलसुख सैन्य युनिटको भ्रमणका क्रममा भारी तौल (डम्बल) उठाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चर्चामा आएका छन्।
५८ वर्षीय खुरेलसुखले सुटको ज्याकेट खोलेर १०० किलोको ‘डम्बल’ २० पटक उठाएको दाबी गरिएको भिडियो सार्वजनिक भएको छ। राष्ट्रिय रक्षा पूर्वाधारको निरीक्षणका क्रममा खुरेलसुख सशस्त्र बलको युनिट ०८४ पुगेका थिए। त्यहाँ उनले सैनिकसँग भेटघाट गर्नुका साथै व्यायामका लागि प्रयोग हुने उपकरणको निरीक्षण गरेका थिए। त्यसपछि उनी आफैं बेन्चमा पल्टिएर तौल उठाउन थालेका हुन्।
भाइरल भिडियोमा खुरेलसुखले आफ्नो सुटको ज्याकेट र घडी खोलेर बेन्चमा पल्टिएको देखिन्छ। त्यसपछि सैन्य प्रशिक्षकहरूले बारमा तौल राखिदिएपछि उनले लगातार तौल उठाएका थिए। उनले १०० किलो तौल २० पटकसम्म उठाएको दाबी गरिएको छ। तर भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा तौल वास्तवमै १०० किलो भए नभएको विषयमा बहस सुरु भएको छ।
केही प्रयोगकर्ताले भिडियोमा देखिएका प्लेटका आधारमा तौल करिब ८० किलो हुन सक्ने बताएका छन्। अरूले भने तौल ९० किलो, ७० देखि ७५ किलो वा करिब ६० किलो हुन सक्ने अनुमान गरेका छन्। त्यसैले १०० किलो तौल उठाएको दाबीबारे भने स्पष्टता देखिएको छैन।
खुरेलसुखको शारीरिक क्षमता भने यसअघि पनि चर्चामा आउने गरेको थियो। उनी पूर्वसैनिक अधिकारी हुन्। उनले मंगोलियन सशस्त्र बलमा सेवा गरेका थिए, कर्णेलको पदसमेत सम्हालेका थिए।
खुरेलसुख मार्सल आर्ट र बडी बिल्डिङमा पनि रुचि राख्छन्। उनी ‘पल्स’ नामक रक ब्यान्डमा गितार बजाउँछन् भने मंगोलियाको हार्ले-डेभिडसन क्लबका संस्थापकसमेत हुन्।
सन् २०२१ देखि मंगोलियाको राष्ट्रपति रहेका खुरेलसुखको तौल उठाएको भिडियो इन्स्टाग्राम, फेसबुक र एक्ससहितका सामाजिक सञ्जालमा फैलिएको छ। भिडियोले मंगोलियाबाहिर पनि धेरैको ध्यान तानेको छ। एजेन्सी
प्रकाशित: २६ भाद्र २०८३ १२:४० शुक्रबार



