भारतको उत्तर प्रदेशस्थित झाँसीमा एक महिला मृत भेटिएकी छन्। घटनापछि उनका श्रीमान् फरार भएका छन् भने प्रहरीले घटनामा उनको संलग्नता रहेको आशंका गर्दै खोजी तीव्र बनाएको छ।
घटना झाँसीको सिप्री बजार क्षेत्रको हो। त्यहाँ २७ वर्षीया शिवानी ओछ्यानमुनि बेहोस अवस्थामा भेटिएकी थिइन्। उनलाई तत्काल अस्पताल लगिए पनि डाक्टरले मृत घोषणा गरेका थिए। पोस्टमार्टम रिपोर्टले शिवानीको घाँटी थिचेर मृत्यु भएको पुष्टि गरेको छ। उनको अनुहारका विभिन्न ठाउँमा चोटसमेत भेटिएको प्रहरीले जनाएको छ।
शिवानी मध्य प्रदेशको दतिया जिल्लाकी हुन्। उनी करिब तीन महिनादेखि आफ्नी बहिनी र भाइसँग झाँसीमा बस्दै आएकी थिइन्। परिवारका अनुसार शिवानीका श्रीमान् ग्वालियर निवासी यश ठाकुरले विवाहपछि सामान्य विषयमा समेत उनीमाथि कुटपिट गर्ने गरेका थिए।
प्रहरीका अनुसार गत सोमबार शिवानी र यसबिच झगडा भएको थियो। यशले शिवानीमाथि आक्रमण गरी कोठा बाहिरबाट बन्द गरेर फरार भएको आशंका गरिएको छ। भोलिपल्ट बिहान शिवानी कोठाभित्र बेहोस अवस्थामा भेटिएकी थिइन्। उनलाई अस्पताल पुर्याइए पनि बचाउन सकिएन।
भारतीय सञ्चारमाध्यमका अनुसार घटनापछि यश फरार छन्। शिवानीको परिवारको उजुरीपछि उनीविरुद्ध मुद्दा दर्ता गरिएको छ। प्रहरीले यशलाई पक्राउ गर्न ग्वालियरमा समेत खोजी गरेको थियो। तर उनी फेला परेनन्। उनका परिवारका सदस्यसमेत घरमा ताला लगाएर सम्पर्कविहीन भएको बताइएको छ।
प्रहरीले यश र शिवानी दुवैको कल डिटेल रेकर्ड पनि जाँच गरिरहेको छ। घटनापछि यशले शिवानीको मोबाइलसमेत लिएर गएको प्रहरीले जनाएको छ। त्यसयता दुवै मोबाइल बन्द छन्। प्रहरीका अनुसार यश कपडा पसलमा सेल्सम्यानका रूपमा काम गर्थे। उनीविरुद्ध यसअघि पनि विभिन्न आपराधिक मुद्दा रहेको बताइएको छ।
प्रहरीका अनुसार घटना भएका बेला शिवानीकी बहिनी छेउकै कोठामा सुतिरहेकी थिइन्। तर उनले झगडा वा अन्य कुनै आवाज किन सुनिनन् भन्ने विषयमा पनि अनुसन्धान भइरहेको छ। प्रहरीले यश मध्यरातपछि शिवानीकी बहिनीको कोठामा समेत गएको र भाग्नुअघि केही सामान लिएर गएको हुन सक्ने जनाएको छ।
प्रहरीका अनुसार शिवानी र यशको चिनजान इन्स्टाग्राममार्फत भएको थियो। त्यसपछि उनीहरूबिच प्रेम सम्बन्ध सुरु भएको र करिब दुई वर्षपछि विवाह भएको थियो। तर प्रेमबाट सुरु भएको उनीहरूको सम्बन्ध दुःखद घटनामा टुंगिएको छ। अहिले प्रहरीले फरार यशको खोजी जारी राखेको जनाएको छ।
प्रकाशित: १९ भाद्र २०८३ १२:२८ शुक्रबार



