यमनका हुथी विद्रोहीले मंगलबार साउदी अरेबियाका विभिन्न क्षेत्रमा गरेको आक्रमणमा ७३ जना घाइते भएका छन्।
घाइतेमध्ये महिला र बालबालिका पनि रहेको साउदी नेतृत्वको गठबन्धनले जनाएको छ। आक्रमणपछि साउदीको दक्षिणी क्षेत्रमा रहेका तेल संरचना र अन्य महत्वपूर्ण केन्द्रमा आगलागी भएको छ। साउदी ऊर्जा मन्त्रालयका अनुसार केन्द्रको सञ्चालन अस्थायी रूपमा रोकिएको छ। साथै, आगो निभाउन दमकल परिचालन गरिएको छ।
साउदी नेतृत्वको गठबन्धनका प्रवक्ता तुर्की अल-मल्कीका अनुसार हुथीहरूले अब्हा, जाजान, नजरान र खामिस मुशैत क्षेत्रलाई निशाना बनाएका थिए। उनले यसलाई साउदीको सुरक्षा र सार्वभौमसत्तामाथिको गम्भीर आक्रमण बताएका छन्।
यमनमा हुथी विद्रोही र साउदी समर्थित सरकारी सेनाबिच लामो समयदेखि युद्ध चलिरहेको छ। पछिल्लो समय युद्धविराम कमजोर बनेसँगै विभिन्न क्षेत्रमा फेरि लडाइँ चर्किएको हो। सरकारी सेनाले होदेइदा, ताइज र बायदाहका केही क्षेत्र आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ।
हुथी विद्रोहीहरूले भने आक्रमणबारे विस्तृत प्रतिक्रिया दिएका छैनन्। तर उनीहरूले साउदीभित्र ठूलो सैन्य अभियानबारे जानकारी दिने बताएका छन्।
यमनको गृहयुद्ध सन् २०१४ देखि जारी छ। संयुक्त राष्ट्रसंघका अनुसार यस युद्धमा अहिलेसम्म कम्तीमा एक लाख ५० हजार मानिसको मृत्यु भइसकेको छ। युद्धका कारण यमन गम्भीर मानवीय संकटबाट गुज्रिरहेको छ। एजेन्सी
प्रकाशित: २३ भाद्र २०८३ १४:०३ मंगलबार



