अन्तर्राष्ट्रिय

जापानकी प्रधानमन्त्रीले भनिन् : म यति एक्लो भएँ कि साङ्लोसँगै मित्रता गाँसें

जापानकी प्रधानमन्त्री साने ताकाइचीले आफ्नो आधिकारिक निवासमा भेटिएको साङ्लोसँग जोडिएको अनौठो अनुभव सार्वजनिक गरेकी छन्।

साङ्लो हटाएपछि आफूलाई राहतसँगै केही एक्लो र दुःखी महसुस भएको उनले सामाजिक सञ्जालमार्फत बताएकी हुन्। ताकाइचीले लामो समयसम्म आधिकारिक निवासमा काम गर्ने क्रममा साङ्लो भेटिएको र त्यसलाई आफूले नमार्ने निर्णय गरेको बताइन्। बाल्यकालदेखि नै पुनर्जन्मको अवधारणामा आधारित जापानी मंगा ‘फायरबर्ड’ मन पराउने भएकाले आफूले साङ्लोलाई पनि जीवनको चक्रको एउटा हिस्सा मानेको उनको भनाइ छ।

उनले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, ‘मैले कहिल्यै भूत देखेकी छैन, तर हालसालैसम्म साङ्लो देख्दा म नै चिच्याउँथेँ।’

जापानको प्रधानमन्त्रीको आधिकारिक निवास भूत देखिने ठाउँका रूपमा समेत चर्चित छ। तर आफूले त्यहाँ कुनै भूत नभेटेको ताकाइचीले बताइन्। बरु केही समयअघि आफ्नै खुट्टामुनिबाट साङ्लो दौडिएपछि आफू छक्क परेको उनले बताएकी छन्।

ताकाइचीका अनुसार उनले निवासमा सरसफाइमा विशेष ध्यान दिँदै आएकी थिइन्। भोजन गर्ने टेबलमुनिको भुइँ सफा गर्ने, खानाका टुक्रा ढक्कन भएको फोहोरको भाँडोमा राख्ने र प्लास्टिकका कन्टेनर धुने गरे पनि एक दिन अचानक साङ्लो देखिएपछि आफू अचम्ममा परेको उनले बताइन्।

तर साङ्लोलाई मार्न भने आफू तयार नभएको उनले बताइन्। त्यसको कारण बाल्यकालदेखि आफूले पढ्दै आएको ‘फायरबर्ड’ मंगा रहेको उनको भनाइ छ। उक्त कृतिमा पुनर्जन्म र जीवन निरन्तर जोडिइरहने अवधारणा प्रस्तुत गरिएको छ।

‘सायद त्यसैकारण अहिले पनि साङ्लोसहित कुनै कीरा मार्न म आफैँलाई तयार पार्न सक्दिनँ,’ उनले लेखेकी छन्।

साङ्लो केही समयसम्म निवासमै देखिरहेपछि ताकाइचीले आफ्ना सचिवहरूलाई यसबारे जानकारी गराएकी थिइन्। त्यसपछि कर्मचारीले साङ्लो हटाउने व्यवस्था गरेका थिए। त्यसपछि साङ्लो देखिन बन्द भएको उनले बताइन्।

‘मलाई राहत महसुस भयो, तर अलि एक्लो पनि लाग्यो, वा सायद दुःखी पनि,’ उनले लेखेकी छन्।

साङ्लोको प्रसंगसँगै ताकाइचीले आफू आधिकारिक निवासमा धेरै समय किन बिताउँछिन् भन्नेबारे पनि स्पष्ट पारेकी छन्। गत डिसेम्बरमा आधिकारिक निवासमा सरेकी ताकाइचीले त्यहाँबाट काम गर्दा कर्मचारी र सुरक्षाकर्मीमाथिको बोझ कम हुने बताइन्। प्रधानमन्त्री कार्यालय र आधिकारिक निवास नजिकै भएकाले आपत्कालीन अवस्थामा पनि तत्काल काममा लाग्न सकिने उनको भनाइ छ।

‘मेरो दृष्टिमा आधिकारिक निवास पनि एउटा कार्यस्थल हो,’ उनले लेखेकी छन्।

उनका अनुसार निवासमै बैठक गर्ने र आवश्यक कागजात अध्ययन गर्ने व्यवस्था भएकाले कार्यालयमा आउजाउ गर्नुपर्ने समय पनि बचत हुन्छ। साँझ, बिहान सबेरै र बिदाको दिन अत्यावश्यक काम नभएसम्म निवासबाट बाहिर ननिस्कने गरेको उनले बताएकी छन्।

यसको अर्को कारण सुरक्षाकर्मीको संख्या घटाउनु पनि रहेको उनले बताइन्। प्रधानमन्त्री बाहिर निस्किँदा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्नुपर्ने भएकाले उनीहरूमाथि अनावश्यक बोझ नपरोस् भनेर आफू निवासमै बसेर काम गर्न रुचाउने उनको भनाइ छ।

ताकाइची आफ्नो अत्यधिक काम गर्ने शैलीका कारण पनि चर्चामा छिन्। उनले यसअघि सामाजिक सञ्जालमार्फत आफूले रातमा शून्यदेखि तीन घण्टासम्म मात्र सुत्ने गरेको बताएकी थिइन्। यसले भने काम र व्यक्तिगत जीवनबिच सन्तुलनबारे प्रश्न उठाएको छ। जापानको पहिलो महिला प्रधानमन्त्रीका रूपमा उनले अत्यधिक काम गर्ने शैलीलाई सामान्य बनाइरहेको भन्दै आलोचना पनि हुँदै आएको छ।

ताकाइचीले भने आधिकारिक निवासमा बढी समय बिताउनु व्यक्तिगत एकान्त खोज्न नभई कामलाई प्रभावकारी बनाउन र कर्मचारीमाथिको बोझ घटाउनका लागि भएको बताएकी छन्।

यसबिच उनको राजनीतिक लोकप्रियतामा भने केही गिरावट आएको रिपोर्टहरू सार्वजनिक भएका छन्। बढ्दो जीवनयापन खर्चसँग जुध्ने नीतिमा ढिलाइ गरेको र पुरुषलाई मात्र सम्राट बन्न पाउने वर्तमान व्यवस्थालाई निरन्तरता दिने नीतिमा जोड दिएको भन्दै उनको सरकारमाथि आलोचना हुँदै आएको छ। एजेन्सी

प्रकाशित: ९ भाद्र २०८३ १०:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App