प्रधानमन्त्री बालेन्द्र शाह र जापानकी प्रधानमन्त्री सानाए ताकाइचीबिच टेलिफोन संवाद भएको छ।
मंगलबार भएको वार्ताका क्रममा जापानले नेपालमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सहयोग गर्न तयार रहेको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार शाहले जापान सरकार र जनताबाट प्राप्त ऐक्यबद्धता र सहयोगप्रति धन्यवाद दिएका थिए। सो अवसरमा उनले बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतका लागि सरकारले उपलब्ध सबै स्रोतसाधन परिचालन गरिरहेको जानकारी समेत गराए।
कुराकानीमा जापानी प्रधानमन्त्री ताकाइचीले नेपाल र जापान दुवै प्राकृतिक विपद्को जोखिममा रहेका देश भएकाले नेपालको अहिलेको कठिन परिस्थितिप्रति आफूलाई गहिरो पीडा भएको बताएकी थिइन्। जापानमा पनि हालै भूकम्प गएको र भीषण वर्षाका कारण पटक पटक ठुलो जनधनको क्षति हुने गरेको उल्लेख गर्दै उनले नेपालको अवस्थाप्रति जापानको सहानुभूति रहेको बताएकी हुन्।
कुराकानीका क्रममा ताकाइचीले सम्पर्कविहीन रहेका पाँच जापानी नागरिकको खोजी र उद्धारका लागि नेपाल सरकारसँग अधिकतम सहयोग गर्न आग्रह समेत गरेकी थिइन्। जवाफमा प्रधानमन्त्री शाहले उनीहरूको खोजीका लागि सरकारले सबै प्रयास गरिरहेको बताए।
ताकाइचीका अनुसार जापान सरकारले आफ्ना नागरिकको अवस्थाबारे जानकारी लिन पनि सबै सम्भव स्रोत परिचालन गरिरहेको छ।
नेपाल र जापानबिचको मैत्रीपूर्ण सम्बन्धलाई ध्यानमा राख्दै जापानले बाढी प्रभावितका लागि टेन्ट र कम्बललगायत आपतकालीन राहत सामग्री उपलब्ध गराउने तयारी गरेको छ। यी सामग्री जापान सरकारले विदेशमा आपतकालीन सहयोगका लागि छुट्टै राखेको मौज्दातबाट उपलब्ध गराउने बताइएको छ।
जापानले अन्तर्राष्ट्रिय संस्थामार्फत सहयोग गर्ने तथा आवश्यक परे अन्तर्राष्ट्रिय आपतकालीन सहायता टोली पठाउने तयारी पनि गरेको छ।
यसैबिच, नेपाल र जापानबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको छ। यस अवसरमा दुवै प्रधानमन्त्रीले आगामी दिनमा दुई देशबिचको सम्बन्ध अझ मजबुत बनाउँदै लैजाने प्रतिबद्धता जनाएका छन्।
प्रकाशित: १७ भाद्र २०८३ १२:२७ बुधबार



-600x400.jpg)