अन्तर्राष्ट्रिय

इजरायली आक्रमणबाट लेबनानमा २२ प्रतिशत कृषि भूमि नष्ट

इजरायली आक्रमणबाट लेबनानमा करिब ४६ हजार ४७९ हेक्टर कृषि भूमि नष्ट भएको लेबनानी कृषि मन्त्रालयले जनाएको छ। जुन देशको कुल खेतीयोग्य क्षेत्रको २२ प्रतिशत हो।

लेबनानको मुख्य कृषि क्षेत्र दक्षिण र नबातिये प्रान्तमा अधिकांश नोक्सान भएको बताइएको छ। जहाँ ४४ हजार २९७ हेक्टर भूमि प्रभावित भएको छ भने अन्य क्षेत्रहरूमा दुई हजार १८१ हेक्टर प्रभावित भएको मन्त्रालयले जनाएको छ।

फलफूल र जैतुनका रूख, हरित गृह, साना र मध्यम आकारका फार्महरू सबैभन्दा बढी प्रभावित भएका छन्। प्रभावित क्षेत्रका १५ हजार २५ किसानहरूमध्ये ७६ दशमलव ६ प्रतिशत विस्थापित भएका छन्। विशेषज्ञहरूले यसरी ठूलो विस्थापनले कृषि उत्पादनमा निरन्तरता र खाद्य सुरक्षा जोखिम बढाउने चेतावनी दिएका छन्।

मन्त्रालयले किसानहरूको प्रत्यक्ष सहयोगमा केन्द्रित प्रतिक्रिया योजना घोषणा गरेको छ। यसमा पशुपालन संरक्षण, खाद्य आपूर्ति श्रृङ्खला सुनिश्चित गर्नु, बजार सहयोग, मूल्य निगरानी मजबुत पार्नु र आवश्यकताहरू निरन्तर मूल्याङ्कन गर्न सम्बन्धित निकायसँग समन्वय गर्नु समावेश छ।

यसका साथै, आपतकालीन कदमहरूमा एक हजार ५१२ किसानलाई सहयोग पुर्याउने, करिब दुई हजार परिवारलाई आश्रय प्रदान गर्ने र ८२० मौरीकोठा सुरक्षित स्थानमा सार्ने कार्य पनि लेबनानी सेनासँगको सहकार्यमा सम्पन्न गरिएको छ।सिन्ह्वा

प्रकाशित: १५ चैत्र २०८२ १३:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App