अन्तर्राष्ट्रिय

इजरायल चुनाव : नेतन्याहू र आइजेनकोट दुवै बहुमतबाट टाढा, अरब पार्टी निर्णायक बन्न सक्ने

इजरायलको चुनावमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र विपक्षी नेता गादी आइजेनकोट दुवै बहुमतबाट टाढा देखिएका छन्। ९२ प्रतिशत मतगणना सकिँदा नेतन्याहूको गठबन्धन ५३ सिट र आइजेनकोटको विपक्षी गठबन्धन ४८ सिटमा अगाडि छन्।

यस्तै, अरब पार्टीहरूले कुल १९ सिट प्राप्त गर्ने देखिएको छ। सरकार गठनका लागि संसद्का १२० सिटमध्ये कम्तीमा ६१ सिट आवश्यक पर्छ। यस्तो अवस्थामा अरब पार्टीहरू सरकार गठनका लागि निर्णायक बन्न सक्नेछन्।

अर्कोतर्फ, बिहीबार बिहान डबल-इनभेलप ब्यालेटको मतगणना सुरु भएको छ। यी पाँच लाख मतले संसदमा दलहरूले प्राप्त गर्ने सिटको अन्तिम बाँडफाँट परिवर्तन गर्न सक्छन्।

डबल-इनभेलप ब्यालेटको प्रयोग तोकिएको मतदान केन्द्रभन्दा फरक स्थानमा मतदान गर्ने मतदाताका लागि गरिन्छ। यसमा सैनिक, कूटनीतिज्ञ, प्रहरी कर्मचारी र विस्थापित व्यक्तिहरू समावेश हुन्छन्।

चुनावमा विदेशी हस्तक्षेपको आरोपबारे अनुसन्धान गर्न निर्देशन

इजरायलको केन्द्रीय निर्वाचन समितिका अध्यक्ष नोआम सोलबर्गले चुनावमा विदेशी हस्तक्षेप भएको आरोपबारे अनुसन्धान गर्न अनुसन्धान निकाय ‘शिन बेट’ लाई निर्देशन दिएका छन्।

‘द टाइम्स अफ इजरायल’का अनुसार सोलबर्गले विदेशी संस्थाहरूबाट प्राप्त आर्थिक सहयोगमार्फत चुनावलाई अनुचित रूपमा प्रभावित पारिएको हुन सक्ने गम्भीर आशङ्का आफूले पाएको बताएका छन्। यद्यपि, उनले यी आरोपहरूको पुष्टि गर्न नसक्ने स्पष्ट पारेका छन्।

सोलबर्गले शिन बेटलाई एक साताभित्र अनुसन्धानको नतिजा पेस गर्न भनेका छन्। हालसम्म कुन विदेशी संस्था वा देशमाथि शङ्का गरिएको हो भन्ने खुलाइएको छैन।

प्रहरी भन्छ : चुनावमा धाँधली भएको प्रमाण छैन

इजरायल प्रहरीले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टीले अरब पार्टीहरूमाथि लगाएको चुनावी धाँधलीको आरोप अस्वीकार गरेको छ।

‘द टाइम्स अफ इजरायल’का अनुसार प्रहरीका एक अधिकारीले मतदानका क्रममा निकै कम अनियमितता भएको र विगतका चुनावको तुलनामा यस्ता घटना कम रहेको बताएका छन्।

उनले चुनावमा धाँधली भएको आरोपलाई समर्थन गर्ने अनुसन्धान वा गुप्तचर सूचनासम्बन्धी कुनै प्रमाण नरहेको बताए। यसअघि केन्द्रीय निर्वाचन समितिका एक अधिकारीले पनि यी आरोप अस्वीकार गरेका थिए। एजेन्सी

प्रकाशित: १२ कार्तिक २०८३ १३:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App