अन्तर्राष्ट्रिय

२६औँ दिनमा इरान युद्ध : ट्रम्पको १५ बुँदे प्रस्ताव, थप आक्रमणको चेतावनी

अमेरिका-इजरायल र इरानबिच जारी भीषण युद्धको २६औँ दिनमा प्रवेश गरेको छ। मंगलबार ह्वाइट हाउसमा बोल्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले युद्ध जितेको दाबी गरेका छन्।

ट्रम्पका अनुसार अमेरिकी र इजरायली हवाई आक्रमणले इरानको सैन्य शक्तिलाई पूर्ण रूपमा कमजोर बनाएको छ। इरानी नेतृत्व अब वार्ताका लागि तयार भएको दाबी उनको छ। ट्रम्पले इरानले आणविक हतियार निर्माण नगर्ने प्रतिबद्धता जनाएको भन्दै चाँडै नै एउटा ठुलो सम्झौता हुन लागेको बताए। ट्रम्पले अमेरिकी विमानहरूले अझै पनि तेहरानको आकाशमा गस्ती गरिरहेको र इरानसँग सम्झौताबाहेक अर्को कुनै विकल्प बाँकी नरहेको जिकिर गरे।

यस कूटनीतिक पहलका लागि ट्रम्प प्रशासनले मध्यस्थकर्तामार्फत इरानलाई १५ बुँदे शान्ति योजना पठाएको छ। यस प्रस्तावमा इरानले युरेनियम प्रशोधन स्थायी रूपमा बन्द गर्नुपर्ने र लामो दूरीका क्षेप्यास्त्र केन्द्रहरू भत्काउनुपर्नेलगायतका सर्तहरू राखिएका छन्।

ट्रम्पले वार्ता सफल नभए इरानका विद्युत गृह र तेल प्रशोधन केन्द्रहरू जस्ता ऊर्जा पूर्वाधारहरूमा पुनः भीषण आक्रमण गर्ने चेतावनी पनि दिएका छन्। उनले साउदी अरब, संयुक्त अरब इमिरेट्स र कतार जस्ता मुलुकहरूले इरानी ड्रोन र क्षेप्यास्त्र आक्रमणको सामना गर्दा देखाएको धैर्यताको प्रशंसा समेत गरे।

यद्यपि, इरानले ट्रम्पको यो दाबीलाई पूर्ण रूपमा अस्वीकार गरेको छ। इरानी संसदका सभामुख मोहम्मद बागेर गालिबाफ र विदेश मन्त्रालयले ट्रम्पको भनाइलाई ‘भ्रामक प्रचार’ को संज्ञा दिँदै अमेरिकासँग कुनै पनि प्रत्यक्ष वार्ता नभएको स्पष्ट पारेका छन्। 

तेहरानले आफ्नो देशको रक्षाका लागि प्रतिरोध जारी राख्ने बताएको छ। युद्ध अझै समाप्त नभएको संकेत दिँदै अमेरिकी रक्षा मन्त्रालयले थप दुई हजार सैनिकहरूलाई यस क्षेत्रमा खटाएको छ। इजरायली सेनाले पनि इरानका विभिन्न स्थानमा आफ्ना सैन्य गतिविधिहरू जारी राखेको छ। इरानले पनि इजरायलमा हमला जारी राखेको छ। स्थानीय सञ्चारमाध्यमका मंगलबार मध्य इजरायलमा इरानी क्लस्टर बम विस्फोट भएको थियो, जसमा नौ जना घाइते भएका छन्।

फेब्रुअरी २८ देखि जारी यस युद्धमा मानवीय क्षति निकै ठुलो भएको छ। विभिन्न अधिकारवादी संस्थाहरू र इरानी स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म करिब एक हजार ५०० मानिसको मृत्यु भएको छ भने १८ हजार भन्दा बढी घाइते भएका छन्। 

मृतकहरूमा ८ महिनाको शिशुदेखि ८८ वर्षका वृद्धसम्म रहेका छन्। फेब्रुअरी २८ मा एउटा विद्यालयमा भएको आक्रमणमा मात्रै १६० भन्दा बढी बालबालिकाको ज्यान गएको थियो। घाइते भएका ५५ स्वास्थ्यकर्मीमध्ये ११ जनाको मृत्यु भइसकेको छ। 

जारी द्वन्द्वले इरानमा मात्र नभई अमेरिका, इजरायल र खाडी मुलुकहरूमा पनि ठूलो क्षति पुर्‍याएको छ। अमेरिकाले यस युद्धमा अहिलेसम्म १३ जना सैनिक गुमाएको छ भने करिब २०० जना घाइते भएका छन्।

इजरायलमा १५ देखि १८ जनाको मृत्यु भएको छ भने चार हजार ८०० भन्दा बढी घाइते छन्। खाडी क्षेत्रका अन्य मुलुकहरूमा पनि इरानी ड्रोन र क्षेप्यास्त्र आक्रमणका कारण क्षति पुगेको छ। संयुक्त अरब इमिरेट्समा ८ जना, कुवेतमा ६ जना, ओमानमा ३ जना, बहराइनमा २ जना र साउदी अरबमा २ जनाको मृत्यु भएको छ।

यी देशहरूमा ज्यान गुमाउने र घाइते हुनेहरूमा ठुलो संख्या वैदेशिक रोजगारमा रहेका श्रमिकहरूको समेत छ। धेरैजसो आक्रमणहरू तेल प्रशोधन केन्द्र र औद्योगिक क्षेत्रहरूलाई लक्षित गरी गरिएका थिए। एजेन्सी 

प्रकाशित: ११ चैत्र २०८२ ०८:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App