भारतका चर्चित राजनीतिक विश्लेषक योगेन्द्र यादवले नेपालसँगको खुला सीमाले भारतमा विदेशी नागरिकको समस्या निम्त्याएको भन्दै चिन्ता व्यक्त गरेका छन्।
बीबीसी हिन्दीसँगको कुराकानीमा उनले बिहारको सीमाञ्चल क्षेत्रमा देखिएको मतदाता सूची विवाद र नेपालसँगको सांस्कृतिक सम्बन्धले ल्याएको जटिलताबारे बोलेका हुन्। नेपालसँग सिमाना जोडिएको भारतको बिहार राज्यमा विधानसभा निर्वाचन यही अक्टोबर–नोभेम्बरमा हुँदैछ। त्यसअघि उनको यस्तो बयान आएको हो।
बिहारमा विपक्षी दलले सत्तारुढ दलले मुस्लिम र यादव समुदायलाई मतदाता सूचीबाट हटाउन खोजेको आरोप लगाउँदै आएका छन्। अररिया र किशनगञ्जमा जनसंख्याभन्दा बढी (१०३–१०५ प्रतिशत) आवेदन आएको दाबी गरिएको छ, जसले विदेशी नागरिकको प्रश्न उठाएको छ। तर यादवले निर्वाचन आयोगको आदेश कुनै जाति वा समुदायविरोधी नभएको स्पष्ट पारेका छन्।
उनले भने, ‘यो आदेश महिला, गरिब र अशिक्षितविरोधी छ। महिलामाथि दोहोरो बोझ थोपरिएको छ, किनभने उनीहरूलाई म्याट्रिक प्रमाणपत्र र २००३ को मतदाता सूचीबाट अभिभावकको नाम ल्याउन भनिएको छ, जुन धेरैका लागि सम्भव छैन।’ उनले थपे, ‘यो आदेश आप्रवासविरोधी पनि छ, तर मुस्लिम वा यादवलाई लक्षित गरेको होइन।’
यो पनि पढ्नुहोस्
बिहारको मतदाता सूचीमा नेपाली नागरिक पनि
सीमाञ्चल र किशनगञ्जमा नेपालसँगको खुला सीमाले विवाह र अन्य सम्बन्धबाट जटिलता निम्त्याएको उनको भनाइ छ। उनले भनेका छन्, ‘जहाँसम्म सीमाञ्चल र किशनगञ्जको कुरा छ, यहाँका क्षेत्रहरू नेपालसँग जोडिएका छन्। यहाँका मानिसहरूले नेपालका मानिसहरूसँग विवाह गर्छन्। नेपालका नागरिकहरूले भारतमा चुनाव पनि लडेका छन्।’
उनले थपे, ‘तर उनीहरूले नेपाल देख्दैनन्, बंगलादेश देख्छन्। किनभने नेपालमा हिन्दूहरू छन्। जबकि यो ठूलो समस्या हो किनभने त्यहाँ कुनै सीमा छैन। यदि तपाईं विदेशीहरूको बारेमा चिन्तित हुनुहुन्छ भने, तपाईंको चिन्ता नेपाल हुनुपर्छ। जबकि चिन्ता बंगलादेशमा छ।’
किशनगञ्जमा १२० प्रतिशत आधार कार्ड भएको दाबीलाई खण्डन गर्दै यादवले यो समस्या बिहार, मुम्बई र दिल्लीमा पनि रहेको बताए। उनले शंकास्पद क्षेत्रमा नयाँ मतदाता सूची बनाउन सुझाव दिएका छन्। उनी भन्छन्, ‘स्पष्ट कागजात माग्नुपर्छ। तर, गैरकानूनी आप्रवासीले सजिलै कागजात जुटाउन सक्छ, जसले गरिब र अशिक्षित नै यो प्रक्रियामा फस्नेछन्।’
यो पनि पढ्नुहोस्
बिहार विधानसभा निर्वाचन : लालु-नीतिश युगमाथि भारी पर्लान् पिके ?
प्रकाशित: ५ श्रावण २०८२ १३:०१ सोमबार