भारतले वाईवाई चाउचाउ उत्पादक सीजी फुड्स इन्डियालाई केही उत्पादन बन्द गर्न निर्देशन दिएको छ।
कम्पनीको कारखानामा भुइँमा खसेका र भाँचिएका चाउचाउ पुनः प्रयोग गरिएको भेटिएपछि भारतीय खाद्य नियामकले कारबाही गरेको हो।
सीजी फुड्स इन्डिया नेपालका उद्योगपति विनोद चौधरीको नेतृत्वमा रहेको सीजी कर्प ग्लोबलअन्तर्गतको कम्पनी हो। भारतको राजस्थानस्थित कम्पनीको कारखानामा गरिएको निरीक्षणपछि भारतीय खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण (एफएसएसएआई) ले कारबाही गरेको हो।
नियामकको अनुसन्धान वाईवाई ब्रान्डका दुई प्रकारका भुजिया उत्पादनमा केन्द्रित थियो। भुजिया भारतमा लोकप्रिय भुटेको खाजा हो। एफएसएसएआईका अनुसार भुइँमा खसेका र भाँचिएका चाउचाउ पुनः प्रयोग गरेर भुजिया बनाइएको भेटिएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्।
नियामकले कम्पनीलाई आवश्यक स्वीकृति र मापदण्ड पूरा नगरी उत्पादन भइरहेको भुजिया बन्द गर्न निर्देशन दिएको छ। कारखानाबाट करिब ३२ हजार किलोग्राम खाद्य सामग्री र म्याद सकिएका उत्पादनका १ हजार ९२५ बक्स पनि नियन्त्रणमा लिइएको जनाएको छ।
घटनाबारे थप परीक्षणका लागि नमुना समेत संकलन गरिएको छ। एफएसएसएआईले कम्पनीविरुद्ध कडा कानुनी प्रक्रिया सुरु गरिएको जनाएको छ। यस विषयमा प्रतिक्रिया लिन गरिएको प्रयासमा सीजी फुड्स इन्डियाले तत्काल कुनै प्रतिक्रिया दिएको छैन।
भारतमा पछिल्लो समय खाद्य सुरक्षा, सरसफाइ र लेबलसम्बन्धी नियम उल्लंघन गर्ने कम्पनीमाथि कडाइ भइरहेको छ। यसअघि भारतीय अधिकारीहरूले मुम्बईमा पेप्सीको, नेस्ले लगायत कम्पनीका उत्पादनमा नक्कली म्याद र पोषणसम्बन्धी विवरण राख्ने गैरकानुनी गतिविधिमाथि पनि छापा मारेका थिए।
प्रकाशित: १९ भाद्र २०८३ ०८:१३ शुक्रबार



