अमेरिकाको न्यूयोर्क र फिलाडेल्फिया क्षेत्रका विमानस्थलमा प्राविधिक समस्याका कारण सयौं उडान प्रभावित भएका छन्।
एपीका अनुसार फिलाडेल्फियास्थित प्रमुख हवाई ट्राफिक नियन्त्रण केन्द्रको सञ्चार प्रणालीमा समस्या आएपछि नेवार्क लिबर्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिने र बाहिरिने ६०० भन्दा बढी उडान रद्द भएका थिए। फिलाडेल्फिया अन्तर्राष्ट्रिय विमानस्थलका २०० भन्दा बढी उडान पनि रद्द भएका थिए।
अमेरिकी संघीय उड्डयन प्रशासनका अनुसार प्राथमिक सञ्चार लाइनमा समस्या आएपछि ब्याकअपका रूपमा रहेको फाइबर अप्टिक लाइन पनि निर्माणका क्रममा काटिएको थियो। त्यसपछि हवाई ट्राफिक नियन्त्रकहरूले केही समय राडार तथा सञ्चार सेवामा पहुँच गुमाएका थिए।
उडान ट्र्याकिङ साइट फ्लाइटराडार२४का अनुसार नेवार्क विमानस्थलमा स्थानीय समयअनुसार बिहान ९ः४० देखि साँझ ५ः२० बजेसम्म कुनै व्यावसायिक उडान अवतरण भएको थिएन। लागार्डिया र जेएफके विमानस्थलमा पनि उडान प्रभावित भएका थिए।
स्थानीय समयअनुसार सोमबार साँझ सञ्चार लाइन मर्मत गरिएपछि विमानस्थलमा उडान पुनः सञ्चालन भएको यातायात सचिव शन डफीले बताए। उनले भने, ‘सबै विद्यमान ढिलाइ हटाउन केही समय लाग्नेछ।’
अमेरिकी संघीय उड्डयन प्रशासनले यात्रुलाई विमानस्थल जानुअघि आफ्नो उडानको अवस्था जाँच गर्न आग्रह गरेको छ।
प्रकाशित: ६ आश्विन २०८३ ०९:३८ मंगलबार