अन्तर्राष्ट्रिय

अस्ट्रेलियामा पहिलो पटक स्तनधारी जनावरमा देखियो एच५एन१ वर्ड फ्लु

अस्ट्रेलियामा पहिलो पटक स्तनधारी जनावरमा एच५एन१ वर्ड फ्लुको संक्रमण पुष्टि भएको छ।

दक्षिण अस्ट्रेलिया राज्यको तटीय क्षेत्रमा फेला परेको लामो नाक भएको फर सिलमा यो घातक भाइरस भेटिएको अधिकारीहरूले बताएका छन्।

गएको जुन महिनामा देशमा भाइरस प्रवेश गरेपछि अस्ट्रेलियामा यसका घटनाहरू लगातार बढिरहेका छन्। दक्षिण अस्ट्रेलियाका अधिकारीहरूले राज्यको राजधानी एडिलेडबाट करिब ३१० किलोमिटर दक्षिणमा पर्ने बीचपोर्ट नामक तटीय सहरमा मृत फेला परेको सिलमा देशकै पहिलो स्तनधारी संक्रमण पुष्टि गरेका हुन्।

राज्यको पानीमा करिब एक लाखको संख्यामा रहेका सिलमध्ये उक्त मृत सिलमा कुनै पनि चोटपटकको संकेत नभएको अधिकारीहरूले बताए। यसको मृत्यु ‘अन्य बिरामी वा मृत समुद्री स्तनधारीहरूसँग सम्बन्धित देखिँदैन,’ संघीय कृषि मन्त्री जुली कोलिन्सले टेलिभिजनमा बोल्दै भनिन्। प्राकृतिक वातावरणमा एच५ वर्ड फ्लु फैलिएपछि ठुलो क्षतिबाट बच्न सम्भव नहुने कोलिन्सले बताइन्।

अस्ट्रेलियामा यसै महिना भाइरसका कारण समुद्री चराहरूको सामूहिक मृत्यु भएको थियो। प्रवासी समुद्री चराहरूमा पहिलो पटक देखिएको यो भाइरस पछि स्थानीय प्रजातिहरूमा फैलिएको हो। संघीय सरकारका अनुसार अस्ट्रेलियाको कुखुरापालन वा कृषि क्षेत्रमा यो भाइरस अहिलेसम्म देखा परेको छैन। शुक्रबार सार्वजनिक गरिएको विवरण अनुसार देशभर २९७ वटा संक्रमण पुष्टि भइसकेका छन्।

अस्ट्रेलिया वर्ड फ्लु रिपोर्ट गर्ने अन्तिम महादेश भए पनि यो भाइरस सन् २०२५ को अन्त्यमा हर्ड आइल्याण्डको उप-अन्टार्कटिक क्षेत्रमा पत्ता लागेको थियो। स्थानीय मिडियाका अनुसार उक्त टापुमा भाइरसका कारण १३ हजारभन्दा बढी शिशु सिलहरू मरेका थिए। एजेन्सी

प्रकाशित: ७ भाद्र २०८३ १२:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App