अन्तर्राष्ट्रिय

युरोपमा ‘अचाक्ली’ गर्मी : फ्रान्समा मदिरा प्रतिबन्ध, जनजीवन अस्तव्यस्त

तस्बिर : रोयटर्स

युरोपका अधिकांश भागहरू यतिबेला घातक गर्मीको चपेटामा परेका छन्। तापक्रमले रेकर्ड तोडिरहेको अवस्थामा फ्रान्सले मदिरा सेवनमा आंशिक प्रतिबन्ध लगाएको छ भने जर्मनीले राष्ट्रव्यापी चेतावनी जारी गरेको छ। त्यस्तै, स्पेनले फुटबल फ्यान जोनहरू बन्द गर्न बाध्य भएको छ।

फ्रान्सका ९६ मध्ये ३५ क्षेत्रमा आइतबार उच्च तापक्रमको 'रेड अलर्ट' घोषणा गरिएको छ। पेरिसदेखि बर्गन्डीसम्मको तापक्रम ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। संकटकालीन बैठकपछि प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले ती ३५ क्षेत्रमा आयोजना हुने 'फेटे डे ला म्युजिक' महोत्सवसहित अन्य सार्वजनिक कार्यक्रममा मदिरा सेवन गर्न पूर्णतः रोक लगाउने निर्णय गरेको जानकारी गराए। यद्यपि, राहतको कुरा के भने पेरिसका पार्कहरूलाई भने २४ घण्टा खुला राख्ने आदेश दिइएको छ।

जर्मनी र इटलीको हालत उस्तै
जर्मनीमा तापक्रम ३८ डिग्री सेल्सियस नजिक पुगेपछि त्यहाँको मौसम विभागले गर्मी र आर्द्रताको संयोजनबाट शक्तिशाली आँधीबेहरी आउन सक्ने चेतावनी दिएको छ। उता, इटलीको रोममा पर्यटकहरूका लागि गर्मी सहनशीलताको परीक्षा बनेको छ। कोलोसियम बाहिर लामबद्ध पर्यटकहरू चर्को घामबाट बच्न प्राचीन क्लाउडियस मन्दिरका भूमिगत भागहरूमा आश्रय लिइरहेका छन्। बोलोग्ना सहरमा मानिसहरू १६ औं शताब्दीको नेप्च्यून फाउन्टेनमा पानी छ्याप्दै शीतल खोजिरहेका देखिन्छन्।

स्पेनमा खेल-मैदान नै बन्द
स्पेनमा भने गर्मीको असर खेलकुदमा पनि परेको छ। म्याड्रिडको प्लाजा डे कोलोन स्क्वायरमा राखिएका विशाल स्क्रिनसहितको 'फ्यान जोन' बन्द गरिएको छ। जसका कारण समर्थकहरूले साउदी अरेबियाविरुद्धको विश्वकप खेल अन्यत्रै हेर्नुपर्ने बाध्यता छ। खेलाडीहरू भने एटलान्टाको वातानुकूलित रंगशालामा खेल्दैछन्। स्पेन र साउदी अरेबियाबिचको खेल आज राति हुँदैछ। 

आर्थिक तथा स्वास्थ्य जोखिम
जलवायु परिवर्तनका कारण युरोपमा यस्तो गर्मीको लहर बारम्बार र तीव्र बन्दै गएको वैज्ञानिकहरूको ठहर छ। यसले स्वास्थ्य आपतकाल र आर्थिक क्षेत्रमा समेत ठुलो चुनौती थपेको छ। बैंक अफ फ्रान्सका गभर्नर इमानुएल मौलिनले यस विषयमा चेतावनी दिँदै भनेका छन्, ‘यसको छोटो अवधिको प्रभाव केही हदसम्म अस्पष्ट रहे पनि यसले उत्पादकत्वमा कमी र ऊर्जाको खपत बढाउने हुनाले मध्यम अवधिमा आर्थिक गतिविधिमा गम्भीर असर पार्नेछ।’ एजेन्सी

प्रकाशित: ७ असार २०८३ ०७:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App